साढे दुई बर्षको बच्चा छोडेर सगरमाथा चढ्न जाने ‘निर्दयी’ भनेर समेत आलोचना गरेः महर्जन

Advertisement

काठमाडौं । कल्पना महर्जन, सगरमाथा आरोहण गरी वल्र्ड रेकर्ड कायम गरेकी एक टिभी पत्रकार हुन् । नेपाल र चीनतर्फको दुवै मोहोडाबाट सगरमाथा आरोहण गर्ने विश्वको प्रथम महिला पत्रकार महर्जन सगरमाथामा बढ्दो प्रदुषणप्रति चिन्तित छन् । 

उनले सन् २०१८ मा नेपालबाट र २०१९ मा चीन तर्फबाट सगरमाथा आरोहण गरेकी थिइन् । सन् २०१९ मा नेपाल तर्फबाट चढ्दा महर्जनसँग विदेशी टिम थियो । त्यस क्रममा उनले लगाएको टिसर्टमा ‘शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान’ नारा राखिएको थियो । सोही नारालाई सार्थक बनाउन महर्जन अहिले बालविवाह रोक्ने अभियानमा छिन् । 

Advertisement

उनी भन्छिन्, ‘अहिले म महिला सेक्टरमै काम गरिराखेको छु । मैले हिमाल आरोहण गरिसकेपछि समाजको लागि के गर्न सक्छु ? भन्ने लागेर महिलाको सेक्टरमा काम गर्ने सोच बनाएको हुँ । शिक्षाको माध्यमबाट बालविवाह रोकिन्छ । त्यसैले बालबालिकालाई शिक्षित बनाइदियो भने उनीहरुलाई यस्तो गर्न हुन्छ या हुँदैन भनेर सिकाइराख्नु पर्दैन् । छोरा होस या छोरी, शिक्षा दिइसकेपछि उनीहरु आफैले बुझ्छन् ।’ 

अबको पाँच वर्षभित्र ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाउने र त्यसपछि तराईका विभिन्न ठाउँहरुमा काम गर्ने योजना बनाएकी महर्जनले आफ्नो सगरमाथा आरोहण अनुभव निकै चुनौतिपूर्ण रहेको सुनाइन् ।  

उनी भन्छिन्, ‘काठमाडौं उपत्यकाको नेवार समुदायको महिला भएकाले सगरमाथा चढ्नु आफैमा ठूलो इसु थियो । समाज र परिवार अर्को सगरमाथा थियो । म सगरमाथा चढ्न साढे दुई वर्षको छोरालाई छोडेर गएको थिएँ । त्यसबेला कति जनाले त यस्तो सानो बच्चालाई छोडेर हिड्ने ? निर्दयी आमा समेत भने । यस्ता कुरा छोरा मान्छेलाई कहिले पनि सोधिदैन् । केटा मान्छेले पनि आफ्नो गर्भवती श्रीमतीलाई छोडेर हिडिराखेको हुन्छ ।’ 

सगरमाथा आरोहरणको क्षेत्रमा समेत काम गर्दै आएकी महर्जन पछिल्लो समयमा सगरमाथामा वातावरण परिवर्तनको असर धेरै परेको बताउछिन् । उनले थपिन्, ‘अहिले हिमालमा हामी मान्छेले मात्रै ट्रेकिङ, हाइकिङ गरिराखेका छैनौं, हिमालतिर बोटविरुवाहरुले पनि हाइकिङ गर्दैछन् । पहिला पहिला दुई तीन सय मिटरको उचाईमा कुनै पनि बोटबिरुवा बाच्दैन भन्थे । तर अहिले बेसक्याम्प पुग्नुभन्दा अलिकति तल लसुनहरु मज्जाले उब्जाउन सक्नुहुन्छ, जुन ग्लोबल वार्मिङको असर नै भन्नु पर्छ ।’ 

वातावरण परिवर्तनको असरका साथै सगरमाथालगायत हिमाल, वन जंगलतिर मान्छेहरुले प्लाष्टिक आदि फोहोर धेरै गर्न थालेको बताउँदै महर्जनले सगरमाथामा मान्छेले छोडेर आउने स्टिलका भाँडा कुँडा, सिलिण्डर जस्ता फोहोरहरु धेरै रहेको बताइन् । 

नेपाल माउन्टेरिङ एशोसिएनका तत्कालिन अध्यक्ष आङछिरिङ शेर्पाको भनाई उदृत गर्दै महर्जनले हिमालमा फालेको एउटा सिलिण्डरले एक किलोमिटर क्षेत्रलाई असर गर्ने बताइन् । मौसम परीवर्तनले गर्दा हिमालमा हिउँ पग्लिने एउटा समस्या छ भने अर्को हिमालमा फालिने वस्तुले पनि पानीलाई असर परेको बताइन् । 

हिमालमा गरिएको फोहोर सेना र अरु संघ संस्थाले सरसफाइ गर्ने गरे पनि प्रत्येक आरोहण समूह वा प्रत्येक कम्पनीका एक जना व्यक्तिलाई तलब दिएर सरसफाईको काममा लगाउनु उपयुक्त हुने बताइन् । 

Advertisement

Advertisement