‘नार्कमा भ्रष्टाचार र आर्थिक चलखेल निकै हुन्छ, सरुवा, बढुवा, नियुक्तिमा पनि पैसा खान्छन्’

Advertisement

काठमाडौं । कृषि विज्ञहरुले नेपालमा उच्चस्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् । उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताएका छन् । 

विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिमा क्रान्ति गर्न नसकेको उदाहरण दिँदै विज्ञहरुले जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ, त्यो देशले कृषिमा तीब्र रुपमा क्रान्ति गरेको दावी गरेका छन् । 

Advertisement

बुधवार ललितपुरमा भएको नेपाल कृषि अनुसन्धान परिषद् सेवानिवृत्त समाजको कार्यक्रममा समाजका पूर्वकार्यकारी निर्देशक ध्रुव जोशीले नेपालमा उत्कृष्ट कृषि अनुसन्धान केन्द्र आवश्यक रहेको बताए । कृषि अनुसन्धानका लागि उत्कृष्ट अनुसन्धान केन्द्र नभएसम्म र अनुसन्धान केन्द्रले आफ्ना काम गर्न नपाएसम्म देशमा कृषिको विकास हुन नसक्ने बताए । 

उनले भने, ‘कृषि इन्स्टिट्यसशन हरेक देशमा मैले देखेको छु  । सेन्टर अफ एक्सलेन्सको रुपमा इन्स्टिट्युशनहरु जहाँ छन्, त्यहाँ उनीहरुले कृषिमा कसरी प्रगति गरेको छ । त्यो कुरा मैले देखेको छु । नेपालमा एउटा कृषि अनुसन्धानको सेन्टर फर एक्सलेन्स जस्तै एउटा इन्स्टिट्युट हुनुपर्छ । त्यो नभएसम्म र त्यसले फङ्सन गर्न नपाएसम्म देशको कृषिको विकास हुन सक्दैन् । सेन्टर फर एक्सलेन्स इन एग्रिकल्चर रिसर्च भन्नेकुरा चाहिन्छ । त्यो हुँदैन भने त्यो देशको कृषिमा वाञ्छनीय प्रगति हुन सक्दैन । आत्मरतिको लागि मात्रै भन्नेकुरा हुन्छ ।’

जोशीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा भ्रष्टाचार व्याप्त भएको गुनासो गरे । उनले नार्कमा आर्थिक चलखेलका साथै सरुवा, बढुवा र नियुक्तिमा पनि भ्रष्टाचार मौलाएको बताए । जोशीले थपे, ‘नार्कको यो अवस्था किन भयो ? जुन अवस्थामा अहिले नार्क छ । यसको मुख्य कारण हो– भ्रष्टाचार । नार्कमा व्यापक भ्रष्टाचार छ । कसैलाई राम्रो लाग्ला वा नलाग्ला, भ्रष्टाचार व्यापक छ । नार्कको काममा आर्थिक चलखेल व्यापक छ । अर्कोथरी भनेको त्यहाँ सरुवा, बढुवा, नियुक्तिमा पनि भ्रष्टाचार हुने गरेको छ ।’

समाजका अध्यक्ष डा. आनन्दकुमार गौतमले नेपालमा कृषि अनुसन्धानको अवस्था चिन्ताजनक रहेको बताए । उनले यही अवस्था रहने हो भने नेपालको कृषि अनुसन्धान मर्नसक्ने स्थिति रहेको बताए । 

गौतमले भने, ‘रिसर्च कुन अवस्थामा गइरहेको छ ? डाइब्याकको कुरा आयो, डाइ ब्याक मात्रै भइरहेको छ । निकट भविष्यमा अनुसन्धान डाइ नै हुने हो ? यो गम्भीर कुरा छ । आजसम्म किन नार्क राम्रो भएन ? किन विवादमा आइरहन्छ ? अटोनोमस चाहिन्छ नार्कमा यो मान्छु म । कुनैबेला म मान्दिन थिएँ । अब आउने नीतिमा यसमा अझै संघर्ष ठूलो गर्नुपर्ने हुन्छ । नीति नियमले नार्क चल्नुपर्छ । नार्कमा जहाँ, जसले जे गरेपनि भएको छ ।’

अध्यक्ष गौतमले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) नीति, नियमबाट सञ्चालन हुन नसकेको बताए । 

Advertisement

Advertisement