को हुन् अशोक चौधरी जसलाई प्रहरीले पक्राउ गर्नै सक्दैन् ?

Advertisement

काठमाडौं । दुई हप्ताअघि एक प्रहरी निरीक्षक दलबलसहित नवलपरासीको एक घरमा छापा मार्न जान्छन् । ती प्रहरी निरीक्षकले मान्छे फेला नपारेपछि सो घरबाट बाहिर निस्किन्छन् ।

गेटबाट निस्कन नपाउँदै ती प्रहरीको मोबाइलको घण्टी बज्छ । अपरिचित व्यक्तिको एनसेलको नम्बरबाट फोन आउँछ । प्रहरी निरीक्षकले फोन उठाउने बित्तिकै ‘तपाईं (निरीक्षकको नाम लिएर) कता हुनुहुन्छ ? भनेर एक अर्को व्यक्तिले सोध्छ । त्यो  व्यक्तिले छापा मार्नु आउने प्रहरी निरीक्षक नै बोलिरहेको ठम्याएपछि ‘दाईसँग कुरा गर्नुस्’ भनेर फोन अर्कोलाई दिन्छ । फोन दिइएपछि कुरा गर्ने व्यक्ति हुन्छन् पक्राउ पुर्जी जारी गरिएका– अशोक चौधरी ।

Advertisement

प्रहरी निरीक्षकलाई चौधरीले सोधे, ‘तपाईं मेरो घरमा किन पसेको ?’ ‘तपाईंलाई लिन आएको’, प्रहरी निरीक्षकले जवाफ फर्काउँछन् । ‘किन लिन आएको ’, प्रतिप्रश्न गर्दै चौधरी थकाउँदै भन्छन्, –‘अर्काको घरमा बिना अनुमति पस्न पाइन्छ ? प्रहरी निरीक्षकले भन्छन्, ‘ थानामा जाऔं, अनि थाहा हुन्छ ।’

कुराकानीकै क्रममा चौधरीले ‘मैले तिम्रो भागको घुस समेत बुझाइसकेको छु । चुप लागेर बस्नुस् । कि भाग आइपुगेको छैन् ? भन्दै प्रश्न गर्छन् । प्रहरी निरीक्षक रुष्ट हुँदै कडारुपमा भन्छन्, ‘मलाई अरु प्रहरी जस्तो नसोच् । खुरुक्क थानामा आइज, त्यसपछि कुरा हुन्छ ।’ यति कुरा भइसकेपछि ती प्रहरी निरीक्षकले अशोक चौधरीको फोन ट्रेसिङ गरी सम्वन्धित लोकेशनमा पक्राउ गर्न प्रहरी परिचालन गर्छन् । तर सो ठाउँमा चौधरी भेटिन सकेनन् ।

आफ्नो प्रहरी कार्यालय पुगेपछि ती प्रहरी निरीक्षकले सोच्न थाले– ‘म गोप्य सूचनाको आधारमा पक्राउ गर्न जान्छु । चौधरीलाई मेरो नाम र निजी फोन नम्बर कस्ले दिन्छ ? पक्राउ गर्न गयो, मान्छे भागिसक्छ ।’ आफनो अनुभव कर्पोरेट नेपाललाई सुनाउँदै ती प्रहरी निरीक्षकले भने, ‘ल हेर्नुस् देशको अवस्था ! म तस्कर पक्राउ गर्न जाने, उसलाई मेरो सबै डिटेल गइसकेको हुन्छ । कल ट्र्याकिङ गरेर पक्राउ गर्न खोज्यो, उसले पहिले नै सूचना पाएर भागिसक्छ ।’

फरार चौधरीले मदिरा सेवन गरी आफूलाई फोन गर्ने गरेको ती प्रहरी निरीक्षकले बताए । ‘कति पैसा चाहिने हो ? भन्नु, म दिन्छु । मेरो पछि लाग्न छाडदिनु’ भनेर उसले धम्क्याउने गरेको उनले सुनाए । 

को हुन् अशोक चौधरी ?
चौधरी नवलपरासीका बासिन्दा हुन् । उनका गतिविधिबारे प्रधानमन्त्री कार्यालयसम्म रिपोर्ट पुगिसकेको छ । विभिन्न तस्करीमा संलग्न संलग्न रहँदै आएका चौधरी विशेषगरी रासायनिक मल, सुन, लागू औषध तस्करीमा संलग्न रहेको प्रहरीको भनाई छ । 

उनलाई पक्राउ गरी कारवाही गर्न प्रधानमन्त्री कार्यालयले नै सम्बन्धित निकायलाई निर्देशन दिएको छ । तर चौधरीले प्रहरी, सरकारी कर्मचारी र नेता सबैलाई मिलाएर आफ्नो तस्करीको नेटवर्कलाई कायम राख्दै आएका छन् । सबैतिर घुस दिएरै सेटिङ मिलाउँदै आएका उनले इमान्दार प्रहरी अधिकृतहरुलाई विभिन्न ढंगले हतोत्साहित गर्ने प्रयास गर्दै आएका छन् । 

विषेशगरी नेपालबाट भारतमा सुन तस्करीमा संलग्न चौधरी भारतबाट नेपालमा रासायनिक मल तस्कर गरी भित्राउने कार्यमा संलग्न छन् । उनले तस्करी गरी ल्याएको पाँच सय बोराभन्दा बढी मल अहिले राजश्व अनुसन्धान विभागले अनुसन्धान पनि गरिरहेको छ । सुन तस्करीको ठूलो र्याकेट चलाउँदै आएकाले पनि उनलाई पक्राउ गर्न प्रहरीलाई गाह्रो भएको हो । 

अहिले प्रहरीले चौधरीको मोबाइल ट्रायाकिङ गर्दा भारतीय सिमा नजिक देखाउँछ । तर उनलाई पक्राउ गर्न प्रहरीले ठूलै शक्ति प्रयोग गर्नुपर्ने देखिएको छ । 

Advertisement