माउण्ट मकालु दुग्ध परिकार उद्योगबाट कुकुरलाई खुवाउने छुर्पी उत्पादन

Advertisement

काठमाडौं । माउण्ट मकालु दुग्ध परिकार उद्योग सञ्चालन गर्दै आएका धनकुटाका काशीनाथ निरौलाले उद्योगबाट कुकुरलाई खुवाउने छुर्पी  उत्पादन गर्दै आएका छन् । 

यस्तो छुर्पी माउण्ट मकालु डगचेउ ब्राण्डमा बिक्री हुँदै आएको छ । भत्तmपुरको ठिमीबाट छुर्पी थोक बिक्री वितरण हुने गर्छ । उत्पादन गर्दै आएको छुर्पी शुद्ध गाईको दुधबाट उत्पादन हुने निरोलाको भनाई छ । उनले उद्योगमा १० जनाले प्रत्यक्ष रोजगारी पाएको बताए । 

Advertisement

निरौलाले भने, ‘चौरी गोठमा जाँदै, हेर्दै खोज अनुसन्धान गर्दै छुर्पी उत्पादन व्यवसाय सुरु गरेका हुन् । यस्तो छुर्पी प्रतिकिलो एक हजार पाँच सयदेखि दुई हजार चार सय रुपियाँमासम्ममा बिक्री गछौं ।’  कुकुरले रुचाउने गरी छुर्पीलाई विभिन्न आकार दिनेगरेको बताउँदै निरौलाले थपे, ‘छुर्पी जति चाम्रो भयो कुकुरले त्यति मन पराउाछ छुर्पीबाट कुकुरले प्रोटिन पनि प्राप्त गर्छ ।’ 

उनले कोरोना महामारीअघि मासिक ८५ लाख रुपियाँसम्मको छुर्पी बिक्री गर्ने गरेका थिए । तर अहिले त्यो व्यापार घटेर त्यसको १० प्रतिशत मात्रै व्यापार हुने गरेको निरौलाले सुनाए । विदेशमा समेत छुर्पी निर्यात गर्दै आएका उनले निर्यात घटेर १२ लाख रुपियाँमा सीमित भएको बताए ।  

छुर्पीको लागि ५० दिनदेखि चार महिनासम्म तयारीका लागि समय लाग्छ । छिटो सुकाउँदा चर्किने र आकारमा समस्या आउने गर्छ भने चिसोमा राख्दा ढुसी उम्रनी समस्या हुन्छ ।  छुर्पीको लागि १६ डिग्रीदेखि १८ डिग्री तापक्रम उपयोगी हुने माउन्ट मकालु उद्योगको भनाई छ । 

निर्यातमा भारी गिरावट हुनुमा राज्यका निकायहरु दोषी रहेको उनले बताए । सरकारले दुधको मूल्य मनलाग्दी वृद्धि गर्नाले व्यापारमा ह्रास आएको निरौलाले गुनासो पोखे । राम्रो ढंगले चलेको व्यापार सरकारको नीतिले गर्दा बिग्रिने अवस्थामा पुगेको भन्दै उनले सरकारले देशमा व्यवसाय गर्ने र निर्यात बढाउने वातावरण बनाउन कुनै पहल नगरेको बताए । 

निरौलाले भने, ‘स्थिर सरकार भइदिए, एउटै व्यक्तिले पाँच बर्ष टिकेर काम गरे केही हुन्थ्यो होला । तर टिक्दैन् । सरकार परिवर्तन हुनासाथ नीति पनि परिवर्तन हुन्छ । देशलाई कसरी फाइदा गर्ने ? कसरी रोजगारी बढाउने ? कसरी निर्यात बढाएर विदेशी मुद्रा आर्जन गर्ने ? भन्दा पनि आफू र आफ्नो पार्टीलाई कहाँबाट कसरी फाइदा हुन्छ ? भन्नेतिर मात्रै ध्याज जान्छ ।’

उद्योगीहरुलाई जताबाट पनि गरिखान नदिने भए यिनीहरुले भन्दै उनले मूल्य अभिवृद्धि गर्ने उद्योगहरुलाई बढी संरक्षण र प्रोत्साहन गर्नुपर्छ भन्ने कुरामा सरकार र दलहरुको ध्यान जानै नसकेको गुनासो पोखे । दुधको मूल्य पनि बढाइदिने, तर त्यसमा आधारित उद्योगहरुलाई राहत र प्रोत्साहन पनि नदिने हो भने त्यस्ता उद्योगहरुले बढ्दो सञ्चालन खर्चमा कसरी सामान उत्पादन गरेर बिक्री र निर्यात गर्न सक्छन् भन्ने निरौलाको प्रश्न छ । 

Advertisement

Advertisement