अर्थसमितिको सभापतित्व विनोद चौधरीद्धारा, ‘मल आयात निजी क्षेत्रले गर्न किन नमिल्ने ?’

Advertisement

काठमाडौं । प्रतिनिधि सभा अर्थ समितिका ज्येष्ठ सदस्य तथा सभापति विनोद चौधरीले मल खरिद र वितरणको विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताएका छन् । 

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्ने कुराले समस्या परेको बारेमा जानकारी दिन सरकारलाई आग्रह गरेको छ । 

Advertisement

समितिमा रहेका सदस्यहरुमध्ये उमेरका आधारमा ज्येष्ठ सांसद चौधरीले समितिको सभापतित्व गर्दै सरकारले पेट्रोल, डिजेलमा जस्तो सरकार–सरकारबीच सम्झौता गरेर आपूर्ति गर्ने, नेपालमा नै रासायनिक मल उत्पादन गर्ने  विषयमा सरकारले ध्यान दिनुपर्ने बताए । 

नेपालको धनाड्यको रुपमा समेत परिचित उनले सरकारले मात्र आपूर्ति गरिरहेको अवस्थामा निजी क्षेत्रलाई किन खुला गर्न नसकिने जस्ता विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए । किसानको विषय र नेपालको अर्थतन्त्रलाई असर गर्ने विषयमा प्रधानमन्त्रीसहित मातहतका निकाय कार्ययोजनासहित स्पष्ट हुनुपर्ने चौधरीको भनाई छ । 

समितिले अर्को बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई किसानलाई उपलब्ध गराउने मलको आपूर्तिको बारेमा भएको प्रगति र आगामी कार्ययोजना बारे जानकारी लिने तयारी गरेको छ ।

चौधरीले संसदीय समितिको सभापतित्व गर्दा स्वार्थ बाझिने भन्दै कतिपय सांसदहरुले प्रश्न उठाएका थिए । समितिको सभापति चयन नभएका कारण ज्येष्ठ सदस्यको रुपमा सभापतित्व गर्दा एमाले र राप्रपाका सांसदहरुले स्वार्थ बाझिने भन्दै प्रश्न उठाएका थिए । 

राप्रपाका ज्ञानेन्द्र शाहीले ‘हामीले व्यक्ति केन्द्रित गरेको होइन । यहाँ सभापति मात्रै होइन, सदस्य पनि बन्न पाइँदैन’ भने । उनले नियमावलीमै स्वार्थ बाझिने समितिमा सांसदहरु रहन नपाउने व्यवस्था रहेको भन्दै उनले समिति सदस्यहरुको ध्यानाकर्षण गराए । समितिमा बोलाइएका मन्त्रीहरु अनुपस्थित रहेकोमा पनि शाहीले आपत्ति जनाएका थिए । एमालेका साँसद सूर्य थापाले स्वार्थ बाझिने स्थितिमा स्वघोषणा गरेर जिम्मेवारीमा वा छलफलमा नरहनुपर्ने बताए ।

नियमावलीमा स्वार्थ बाझिने अवस्था कस्तो हो ? प्रष्ट नभए पनि उनीहरुले व्यवसायी चौधरीको उपस्थितिमा प्रश्न उठाएका हुन् । 

 

Advertisement