वनमन्त्रीको गुनासो– संघीयतामा काम गर्न गाह्रो रैछ, प्रदेशका कर्मचारीले हामीलाई टेर्दैनन्

Advertisement

काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले वनको जग्गामा नेताहरुको आँखा लाग्ने गरेको बताएका छन् । 

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले वनको जग्गामा नेताहरुको ठूलो आँखा लाग्ने गरेको बताए । महतोले नेताहरुले वनको जग्गा किन्नका लागि राजनीतिक दबाब दिने गरेका बताए । 

Advertisement

उनले जलविद्युतका अड्किएका काम गर्न फाइल ल्याउनका लागि आफूले निर्देशन दिएको भएपनि आफ्नो टेबलमा हालसम्म फाइल नआइपुगेको बताए । महतोले डिएफओले समेत मन्त्रीको कुरा नसुन्ने बताए । 

डिएफओलाई रुख र जग्गा कति छन् छुट्याएर पठाउने निर्देशन दिए पनि निर्देशन सुन्दै नसुन्ने उनको भनाई छ । तर व्यापारी गएर लेनदेनको कुरा गरेमा भने डिएफओले काम गर्ने गरेको महतोले बताए । उनले भने, ‘जंगललाई उत्पादनतर्फ कसरी लाने ? जंगल र पर्यटनलाई कसरी जोड्ने ? जंगलको भू–भागलाई उत्पादनमुलक र रोजगार सिर्जना गर्ने कुराको कार्यहरु हामीले ल्याउन सक्यौँ भने झन वनको उपयोगिता बढ्ने थियो । वन्यजन्तु बढाउन हामी खर्च गरिरहेका छौँ ।’ 

महतोले थपे, ‘अर्कोतर्फ उसको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा हामीसँग दिगो योजना नभएको कारणले अपm्ठ्यारो भइरहेको छ । मन्त्रालयभित्र यति विभागहरु छन् । सबै विभागले वातावरण प्रदुषणको बारेमा केही न केही काम गरिरहेको हुन्छ । तर त्यसको ठोस परिणाम आउन सकेको छैन । वनको जग्गामा पब्लिक भन्दापनि नेताहरुको आँखा ठूलो लाग्ने । अनि राजनीतिक दबाब । अनि के–के छुटेजस्तो ठूल्ठूला नेताहरु खाली जंगलको जग्गा किन्नुपर्यो, त्यहाँ यो गर्दिनुपर्यो । त्यहाँ त्यो गर्दिनुपर्यो । सबैको आँखा जंगलमा जान्छ ।’

आफू मन्त्री भएर आएपछि जलविद्युतको कतिवटा फाइल छ? ल्याइदिनुस् भन्दा एउटा पनि आफ्नो टेबुलमा नआएको गुनासो गर्दै उनले भने, ‘प्रक्रिया यति झन्झटिलो छ, कागज एक ठाउँबाट अर्को ठाउँमा पुग्दै महिना, दुई महिना त त्यसैमा लाग्छ । अहिले सबभन्दा समस्या भएको सबै प्रदेशमा छ । डिएफओलाई यहाँबाट फोन गर्यो, त्यहाँ कति वटा रुख छ ? कति जग्गा छ ? छुट्टयाएर पठाइदेउ भन्दाखेरी मरिगए डिएफओले सुन्दैन । सुन्दै सुन्दैन उसले । व्यापारीहरुले त्यहाँ गएर आफ्नो लेनदेनको कुरा गर्यो भने उसले तुरुन्त पठाउने । अब त्यो छैन भने छ–सात महिना कुर्ने भनेजस्तो छ । यो काम गर्न अपm्ठ्यारो छ । हरेक प्रदेशले आफ्नो किसिमको वन नीति बनाएको छ । न हामीसँग कुनै समन्वय गरेको छ । हामीसँग एउटा कुरा छ, उहाँहरुले अर्को कुरा बनाइसकेपछि न उहाँले कार्यान्वयन गर्न सकिरहेको छ । न हामीले गर्न सकिरहेका छौँ । जबसम्म स्पष्ट रुपमा कानून निर्माण हुँदैनन्, तबसम्म हामी एकअर्कालाई दोष लगाउँदै काम केही पनि गर्ने स्थितिमा हामी छैनौँ ।’

उनले काठ तौलिने सूत्रका कारण नेपालको काठ बिक्री वितरण हुन नसकेको बताए । महतोले सूत्रका कारण काठको मूल्य बढी भएको र त्यसकारण बिक्री हुन नसकेको बताए । यद्यपी यस सम्बन्धमा निर्णय गर्नका लागि मन्त्रालयले एउटा समिति निर्माण गरिसकेको उनले जानकारी दिए ।

Advertisement