राजमार्गहरुमा पहिरो खस्ने समस्याले नेपाल आउन लागेका भारतीय पर्यटकहरु प्रभावित

Advertisement

काठमाडौं । मनसुन सुरु भएसँगै सडकहरुमा पहिलो खस्ने क्रम बढेसँगै विशेषगरी भारतीय पर्यटकहरुको आगमन प्रभावित भएको छ । 

बर्षाका कारण राजमार्गहरुमा पहिलो खसेर घण्टौंसम्म यातायात रोक्किएका समाचार आउन थालेपछि सर्वसाधारण यात्रुमात्रै नभएर अन्तरिक तथा विदेशी पर्यटकहरुलाई समेत यात्रा गर्न समस्या परेको हो । पहिरोले सडक अवरुद्ध हुँदा सडकबाट दृश्यावलोकन गर्दै जानेआउने योजना बनाएका पर्यटकहरु हवाई यात्रा गर्न बाध्य भएका छन् । 

Advertisement

बर्खा लागेपछि बढी मानिस आउजाउ हुने पृथ्वी राजमार्ग धेरै अवरूद्ध हुन पुगेको छ । पर्यटकहरु काठमाडौंबाट विभिन्न गन्तव्य तिर जान समस्या भएको क्षेत्रीय होटल एसोसिएशन चितवनका पूर्वअध्यक्ष दीपक भट्टराईले बताए । 

त्यस्तै, पहिरोको समस्याका कारण लुम्बिनीबाट पोखरा पर्यटक आउजाउ गर्न समस्या भइरहेको बताउँदै उनले भने, ‘यो बेला पर्यटकहरुको आगमन राम्रो हुने बेला हो । तर बाटोको कारणले चितवन आउन खोजिरहेका आन्तरिक पर्यटक समेत आउन सकेका छैनन् । उडानमार्फत आइरहेका छन् । सडकमाग अनिश्चित जस्तो हुने गरेको छ । कहाँ कतिखेर पहिरो जो हो ? कहाँ पर्यटक अलपत्र पर्ने हो ? टुंगो हुँदैन् ।’  

पहिला जस्ता अहिले पर्यटन आउनका लागि अफ सिजन भन्ने हुँदैन भन्दै भट्टराईले यो बेला भनेको पर्यटकहरु हुने बेला नै हो भने । उनले भने, ‘अहिले कमै छन पर्यटकहरु चितवनमा । भारतीय पर्यटकहरु पनि आउन सकेका छैनन् । अब जुलाई–अगस्टबाट पर्यटकहरु आउने कुराहरु आइरहेको छ । त्यतिबेलाका लागि राम्रै बुकिङ आइरहेको छ । तर यतिबेला बाढी पहिरोका समाचारहरुले होला, भारतीय पर्यटकहरु सोचेभन्दा कमै छन् ।’ 

यस पटक चिनियाँ पर्यटकहरुको बुकिङ विगतको भन्दा राम्रो रहेकाले चिनियाँ पर्यटकहरुको आगमन सौराहामा राम्रो हुने आफूहरुको आशा रहेको बताउँदै उनले ट्राभल कम्पनीहरुका अनुसार करिब ५० प्रतिशत नै चिनियाँ पर्यटकहरुको बुकिङ आइरहेको बताए । 
 
भट्टराईले थपे, ‘चीनको लागि नेपाल सस्तो र नजिकको गन्तव्य पनि हो । जबसम्म चिनियाँ मार्केट खुल्दैन, नेपालमा त्यस्तो पहिलाको जस्तो पर्यटकहरुको फ्लो बढर्दैन् । हामीले होटल व्यवसाय सञ्चालन गर्नलाई लिएका ऋणहरु तीर्नलाई भारतीय पर्यटकहरु मात्र आएर पुग्दैन् ।’

उनले जब चिनियाँ र अन्य देशका पर्यटक नेपाल आउन थाल्छन्, तब मात्र नेपालको पर्यटन व्यवसाय दिगो हुने बताउँदै अहिले करिब १० प्रतिशत मात्रै चिनियाँ पर्यटक नेपाल आउने गरेको बताए । 

Advertisement

Advertisement