युवा मन्त्रालयले युवालाई स्वदेशमै राख्ने नयाँ उपाय खोज्नुपर्छः बद्री पाण्डे

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले युवाहरुलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेको बताएका छन् । 

बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले खेलकुद मन्त्रालयको बजेट घटेर आएको तर युवाहरुलाई सिर्जन्शील बनाउने कुरा देशमा डरलाग्दो स्थिति रहेको बताए । पाण्डेले आर्थिक उपार्जन गर्न खेलकुद क्षेत्र महत्वपूर्ण हुने भन्दै यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । 

Advertisement

उनले । खेलकुद र युवा क्षेत्रमा निजी र सहकारी लगायतका अन्य क्षेत्रहरुले पनि युवा उद्यमशीलताको क्षेत्रमा र खेलकुद क्षेत्रलाई माथि उठाउन कुनै साझेदारीको कार्यक्रम गर्न जरुरी रहेको बताए । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये कम्तिमा एउटा कार्यक्रम युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत लगाउन नयाँ विकल्प सोच्नुपर्ने पाण्डेको भनाई छ । 

उनले भने, ‘अहिले बजेट घटेर आएको छ, यसै पनि मन्त्रालयको आकारमा त बजेट निकै घटेर आएको छ । अहिले पनि हामीलाई डरलाग्दो अवस्था छ । अझै पनि हामी माथि उठ्नुपर्ने र फोकस हुनुपर्ने, जुन मन्त्रालय हो, एउटा रणनीतिक क्षेत्र हुनसक्थ्यो, खेलकुद क्षेत्र, युवालाई उपयोग गर्ने, युवाको श्रमबाट देश सिञ्चित हुने जुन अवस्था हुनसक्थ्यो, यो दुवैबाट देश अघि बढ्नसक्थ्यो, तर यसमा डरलाग्दो अवस्था देखिएको छ ।’

पाण्डेले थपे, ‘मन्त्रालयले प्रोएक्टिभ भएर, सिर्जनशील भएर नयाँ कुरा सोच्नुपर्छ, वैकल्पिक माध्यम सोच्नुपर्छ, तत्काल बजेट बढाउन नसकेपनि । १६५ निर्वाचन क्षेत्रमध्ये कम्तिमा एउटा कार्यक्रम युवा तथा खेलकुद मन्त्रालयमा लगाउन सक्नुपर्छ । खेलकुद र युवा क्षेत्रमा निजी र अन्य सहकारी लगायतका क्षेत्रहरुले पनि युवा उद्यमशीलताको क्षेत्रमा र खेलकुद क्षेत्रलाई माथि उठाउन कुनै साझेदारीको कार्यक्रम गर्न सकिन्छ की, त्यसमा पनि सोच्नुपर्छ ।’

उनले खेलकुद क्षेत्रमा चलखेल हुँदा खेलाडीहरु बद्नाम हुनुपरेको बताए । 

Advertisement

Advertisement