बीमा क्षेत्रमा मर्जर: २१ कम्पनी गाभिएर १० वटा कायम, कूल संख्या २८

Advertisement

काठमाडौं । केही महिना अघिसम्म बीमा क्षेत्रमा १९ जीवन बीमा तथा २० निर्जीवन बीमा कम्पनी गरी बीमा कम्पनीहरुको संख्या ३९ रहेको थियो । तर, पछिल्लो समय २१ बीमा कम्पनीहरु मर्जरमा गएसँगै बीमा कम्पनीहरुको सो संख्या २८ वटामा झरेको छ ।

बीमा क्षेत्रको नियमनकारी निकायले बीमा कम्पनीहरुको चुक्तापूँजी जीवन बीमातर्फ पाँच अर्ब र निर्जीवन बीमातर्फ साढे दुई अर्ब रुपियाँ पुर्याउने प्राबधान ल्याएसँगै मर्जरको लहर सुरु भएको हो । 

Advertisement

उक्त लहर आज प्रभु र महालक्ष्मी इन्स्योरेन्स कम्पनी मर्जमा गई एकीकृत कारोबार शुरु गरेसँगै टुंगिएको छ । गत वर्ष असार ३० गते प्रभु र महालक्ष्मीले मर्जरको प्रारम्भिक सम्झौता गरेका थिए । 

प्राधिकरणले स्वस्थ प्रतिस्पर्धा गराउन पछिल्लो समय बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउनेदेखि मर्जर गराउनेसम्मको भूमिका खेलेको बताउँदै आएको छ । 

नेपाल रि र हिमालयन रि गरी दुई पुनर्बीमा कम्पनी छन् । 

यी हुन् मर्जर गएका २१ कम्पनी 
प्राइम लाइफ, गुराँश लाइफ र युनियन लाइफ इन्स्योरेन्स मर्जरमा गएर हिमालयन लाइफ इन्स्योरेन्स बनेको छ । उक्त कम्पनीले  २०७९ साल वैशाख २९ गते मर्जरको प्रारम्भिक सम्झौता गरेको थियो । बिग मर्जरको रुपमा उक्त मर्जर जीवन बीमा क्षेत्रको पहिलो मर्जरको सुरुवात पनि रहेको थियो । २०८० बैशाख २६ गते हिमालयन लाइफको एकीकृत कारोबार सुरु भएको थियो ।​

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जरमा गएर सानिमा रिलायन्स इन्स्योरेन्स बनेको छ । उक्त कम्पनीले गत वर्ष फागुन २२ मा आफ्नो मर्जरको प्रारम्भिक सम्झौता सम्पन्न गरेको थियो । २०७९ चैत ९ गते सानिमा रिलायन्सको एकीकृत कारोबार सुरु भएको थियो ।

ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स मर्जरमा गएर सुर्यज्योति लाइफ इन्स्योरेन्स बनेको छ । उक्त कम्पनीले  गत वर्ष कात्तिक ४ मा मर्जरको प्रारम्भिक सम्झौता सम्पन्न गरेको थियो । २०७९ पुस ७ गते सुर्यज्योतिको एकीकृत कारोेबार सुरु भएको थियो ।

अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको मर्जरबाट युनाईटेड अजोड इस्योरेन्स बनेको छ । उक्त कम्पनीले गत वर्ष पुस २६ मा आफ्नो मर्जरको प्रारम्भिक सम्झौता सम्पन्न गरेको थियो । २०८० जेठ १४ गते युनाइटेड अजोडको एकीकृत कारोबार सुरु भएको थियो ।

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा गएर सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स ‘सालिको इन्स्योरेन्स’ बनेको छ । उक्त कम्पनीले गत वर्ष असार ३०  मा आफ्नो मर्जरको प्रारम्भिक सम्झौता सम्पन्न गरेको थियो । २०७९ फागुन २९ गते सगरमाथा लुम्बिनीको एकीकृत कारोबार सुरु भएको थियो ।

आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरमा गएर आईएमई प्रुडेन्सियल इन्स्योरेन्स बनेको छ । उक्त कम्पनीले  गत वर्ष माघ २७ मा आफ्नो मर्जरको प्रारम्भिक सम्झौता गरेको थियो । २०८० बैशाख २७ गते आइजीआई प्रुडेन्सियलको एकीकृत कारोबार सुरु भएको थियो ।

हिमालयन र एभरेष्ट इन्स्योरेन्स मिलेर हिमालयन एभरेष्ट इन्स्योरेन्स बनेको छ । उक्त कम्पनीले गत वर्ष वैशाख २२ मा मर्जरको प्रारम्भिक सम्झौता सम्पन्न गरेको थियो । २०७९ साउन एक गते हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको थियो ।

सानिमा जनरल र जनरल इन्स्योरेन्स मिलेर सानिमा जिआईसी इन्स्योरेन्स बनेको छ । उक्त कम्पनीले गत वर्ष असार ३०  मा आफ्नो मर्जरको प्रारम्भिक सम्झौता गरेको थियो । २०७९ कार्तिक ७ गते सानिमा जिआईसीको एकीकृत कारोबार सुरु भएको थियो ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मिलेर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको छ । उक्त कम्पनीले  गत वर्ष असार २७ गते मर्जर सम्झौता गरेको थियो । २०७९ फागुन १७ गते सिद्धार्थ प्रिमियरको एकीकृत कारोबार सुरु भएको थियो ।

अब जीवन बीमा कम्पनीहरुको संख्या १४ र निर्जीवन बीमा कम्पनीहरुको पनि संख्या १४ मा झरेको छ ।  

Advertisement

Advertisement