सुन तस्करीमा संलग्न रेडी ट्रेड प्रा.लि.ले तीन महिनामा १८४५ किलो सामान भित्राएको खुलासा

Advertisement

काठमाडौं । हालसम्मकै सबैभन्दा ठूलो अवैध सुन भित्राउने कार्यमा संलग्न देखिएको रेडी ट्रेड प्रा.लि.ले तीन महिनामा एक हजार ८४५ किलो सामान भित्राएको खुलासा भएको छ । 

भन्सार विभागको विवरण हेर्दा उक्त कम्पनीले सवारी साधनको पार्टपुर्जाको रुपमा लगाताररुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सामानहरु जाँचपास गराएर भित्राएको देखिन्छ । पछिल्लो पटक बरामद भएको अवैध सुनमा संलग्न मुख्य व्यक्तिहरुको पहिचान अहिलेसम्म नभए पनि रेडी ट्रेडले लगाताररुपमा सामानहरु भित्राउँदै आएको देखिएको हो । उक्त कम्पनीले यसअघि त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास गराएको सामानमा सुन थियो वा सही वस्तु थियो ? सरकारका निकायले निर्क्योल गर्न सकेको छैन् ।  

Advertisement

भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार कम्पनीले एक हजार ८४५ किलो ब्रेक–सु, ब्रेक प्याड, इलेक्ट्रिक सामान हङकङबाट नेपाल भित्राएको खुलेको छ । रोचक विषय के छ भने यी सामानहरुमध्ये राजश्व अनुसन्धान विभागले पक्राउ गरेको ‘ब्रेक–सु’को तौल १६० पिस मात्रै छ । उक्त कम्पनीले यस्तै प्रकृतिका अरु सामान एक हजार २० पिस भित्राएको छ । यस्ता ब्रेक प्याडहरुको तौल ९३३ किलो छ । 

यसैगरी, रेडी ट्रेडले तीन महिनामा ९१२ किलो बराबरको दुई हजार ७०१ पिस विविध सामग्री भित्राएको छ । यी सबै सामान जाँचपासमा भन्सारका २० जना कर्मचारी संलग्न देखिन्छन् । धेरै भन्सार अधिकृतले सामान जाँचपासका लागि हस्ताक्षर गरेका छन् । यी सबै अधिकृतहरु यतिबेला अनुसन्धानमा तानिएका छन् । 

रेडी ट्रेडलाई सामान निर्यात गर्ने चीनको कम्पनी जियाङजेन फेङटङ ट्रान्सपोर्ट सर्भिस रहेको छ । उसले निर्यात गरेको अधिकांश सामान दाह्री काट्ने मेसिन छन् । यो कम्पनीको  सामान भन्सार एजेन्ट नम्बर १०३१, ७८२, ४४६ ले जाँचपासको जिम्मा लिएका छन् । आफूहरुले जाँचपास गराएका सामान सुन भएको आफूहरुलाई पनि जानकारी नभएको उनीहरुको दावी छ । एक सय ६० पिस ब्रेक सु समातिने बित्तिकै भन्सार एजेन्ट राजेन्द्र राई तीन लाख रुपियाँ गोजीमा राखेर आफै राजश्व अनुसन्धान विभाग पुगेका थिए । उनलाई लागेको थियो– विभागले राजश्व कम भएकाले सामान पक्राउ गरेको हो । दुई लाख ५० हजार जति राजश्व थप्नुपर्ने होला भन्ने अनुमानका साथ विभाग पुगेका राई सुन बरामद भएको खबरपछि आश्चर्यमा परेका थिए । 

उनीनिकट एक सहकर्मीले भने, ‘यदि सामान सुन भएको थाहा पाएको भए उनी आफै आगोको भुङ्ग्रोमा पर्न किन जान्थे र ?’ राईलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । सुन तस्करीमा हरेक पल्ट तल्लो तहका र निर्दोष व्यक्तिलाई प्रयोग गरेर मुख्य तस्कर तथा त्यसका संरक्षकहरु जोगिने संस्कृति रहँदै आएको छ । पछिल्लो प्रकरणमा एक चिनियाँ र एक भारतीय पनि पक्राउ परेका छन् । 

Advertisement

Advertisement