सुन तस्करीको छानविन ‘एक्सरे व्वाई’ सरोज श्रेष्ठतर्फ सोझ्याइयो

Advertisement

काठमाडौं । सय किलोभन्दा बढी सुन तस्करी भएको पछिल्लो काण्डमा आफ्नो भूमिकामाथि गम्भीर प्रश्न उठेको बेला भन्सार विभागले तीन जना आफ्ना कर्मचारीलाई निलम्बन गरेर थप अनुसनधान अघि बढाएको छ । 

विभागले अनुसन्धान तीब्र पारेको दावी गरेको छ । निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा विभागले एक अध्ययन कमिटि बनाएको छ । कमिटिलाई प्रतिवेदन बुझाउन एक हप्ताको समय दिइएको छ । त्रिभुवन विमानस्थलबाट लगातार सुनको तस्करी हुँदै आएको आशंका पछिल्लो पटक ठूलो परिमाणमा सुन बरामद गरिएका तथ्यहरुले संकेत गरेको छ । 

Advertisement

अनुसन्धान अघि बढ्दै गर्दा एक्सरे मेसिनमा बस्ने (एक्सरे व्वाई) सरोज श्रेष्ठको भूमिकामाथि प्रश्न सोझ्याउन थालिएको छ । अनुसन्धानमा सहभागी एक कर्मचारीले भने, ‘एक्सरेमा बसेका सन्तोष श्रेष्ठको भूमिका शंकास्पद देखिएको छ । यसबारे थप अध्ययन हुँदैछ ।’ दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर ल्याइएको सुन चेकजाँच गर्ने कुरामा शंकास्पद देखिएको उनको भनाई छ । 

हङकङबाट रेडी ट्रेड प्रा.लि. नाम गरेको कम्पनीले आयात गरेको सामान त्रिभुवन भन्सार कार्यालयबाट जाँचपास गरेर बाहिर निकालिसकेपछि ट्याक्सीमा हालेर लैजाने क्रममा राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो । 

विमानस्थल भन्सारका सबै कर्मचारीहरुको बयानका क्रममा आफूहरु निर्दोष रहेको र फाइदाका लागि कुनै काम नगरेको जिकिर गरिरहेको बेला छानविन समितिको आँखा बढी सन्तोष श्रेष्ठमाथि परेको हो । यद्यपि उनलाई दोषी भनेर पुष्टि गर्ने आधार भने नभेटिएको स्रोतको भनाई छ । 

ब्रेक सु भनेर जसरी सुन ल्याइएको थियो, सोही ढंगले सुन भएको ब्रेक सुन त्रिभुवन विमानस्थल भन्सारको एक्सरे मेशिनमा स्क्यान गरेर परीक्षण गर्ने तयारी गरेको छ । साथै, सुन भएको ब्रेक सु स्क्यान गर्दा किन मेशिनले संकेत गरेन ? सो कुराको प्राविधिक परीक्षण पनि गरिने र मेशिनमै समस्या देखिए अत्याधुनिक एक्सरे मेशिन फेर्ने सोचमा विभाग रहेको स्रोतले जानकारी दियो । 

प्रारम्भिक अध्ययनमा भने श्रेष्ठले एक्सरे चेकजाँचमा ध्यान नदिएको देखिएको छ । विभागका ती कर्मचारीले थपे, ‘यसमा दुई वटा विषय छन् । एक श्रेष्ठले सेटिङमा काम गरेको हुनुपर्छ । अर्को सधैं यस्तै आउने हो भनि वास्ता नगरेको हुनुपर्छ । त्यस्तै, तस्करीहरुले सुन चेकजाँच गर्दा मेशिनले नदेखाउने प्रविधि अपनाएको पनि हुनसक्छ ।’ 

तस्करीको प्रकृति हेर्दा तस्करहरुले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सारको कमजोरीलाई जाँचेर सुन ल्याएको देखिन्छ । नियमितरुपमा सुन तस्करी गर्न पल्किएको गिरोहले नेपालको राजनीति, प्रशासन र सुरक्षाकर्मीसम्म पहुँच बनाएर सेटिङमा नै सुन तस्करी हुँदै आएको विभिन्न समयमा पक्राउ परेका ठूलो परिमाणका सुन र पछिल्लो पटक ब्रके सु भनेर सुन ल्याउने कम्पनीले लामो समयदेखि आयात गर्दै आएको सामानको विवरणबाट अनुमान गर्न सकिन्छ । 

सुन तस्करीको जालो पहिल्याउन तोड्न यसअघि प्रहरीले नै गरेको अनुसन्धान र कारवाही पनि सफल हुन नसकेको बेला भन्सार विभागले अहिले गरिरहेको अध्ययनले वास्तविकता आउने संभावना कमै छ । तर पनि विभागको छानविन समितिले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुसमेतको मिलेमतोमा नै सुन तस्करी हो कि होइन् ? भन्ने कुरा पनि खोविन भइरहेको स्रोतको दावी छ । यसै क्रममा एक्सरेमा बसेका श्रेष्ठसमेतलाई निलम्बन गरिएको उनको भनाई छ । 

अवैध सुनको भन्सार जाँचपास भएको दिन रेडी ट्रेड प्रा.लि.को सामान जाँचपास गर्ने प्रमुख भन्सार अधिकृत दुई दिनअघि विमानस्थलमा हाजिर भएका थिए । गत मंगलबार राजश्व अनुसन्धान विभागको टोलीले सुन पक्राउ गरेको थियो । 

सुन आयात भएको विशेष सुचनाको आधारमा विभागको टोलीले १६० पिस मोटरसाइकलको ब्रेक प्याड घोषणा गरिएको सामान जफत गरेको थियो । ब्रेक प्याडमा सुन लुकाइएको भेटिएपछि उक्त सुन नेपाल राष्ट्र बैंकलाई बुझाएर अनुसन्धान अघि बढाएको छ ।

Advertisement