नेपालमा एआई प्रविधिको आधुनिक शिक्षा प्रदान गर्न किङ्ग्स कलेज र नामीबीच समझदारी

Advertisement

काठमाडौं । एआई (आर्टिफियल इन्टेलिजेन्स) प्रविधिको शिक्षा प्रदान गर्न किङ्ग्स कलेज र नामीबीच बिहीबार सम्झौता भएको छ । पत्रकार सम्मेलन गरी दुवै संस्थाले ‘एआई शैक्षिक कार्यक्रम’सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । 

समझदारीपत्रमा किङ्ग्स कलेजका प्रेसिडेन्ट  नरोत्तम अर्याल र नामीका संस्थापक निर्देशक डा. विशेष खनालल हस्ताक्षर गरे । कार्यक्रममा अर्यालले पछिल्लो समय विश्वमै मूलधार प्रवृत्तिको रुपमा विकास भईरहेको एआई क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उद्देश्यका साथ यस शैक्षिक कार्यक्रम सञ्चालन गर्न नामीसँग सम्झौता गरेको बताए । 

Advertisement

उनले नेपालमा आजसम्म पढाई, किताब, शिक्षक, परीक्षा, विद्यार्थी, कलेज, डिग्री सम्पूर्ण रहेको र यसले मानिसलाई विद्धान मात्रै बनाएको, तर यसको उपयोग हुन नसकेको बताए ।  शिक्षा, क्याम्पसको चार दिवारभित्र मात्र सिमित हुन नहुने अर्यालको भनाई छ । उनले यस्तो शिक्षाले समाजमा भएका समस्याको समाधान गर्न नसिकाउने बताए । 

अर्यालले भने, ‘हाम्रो पढाई त केबल कागजको खोस्टोमा मात्र सिमित भयो ।’ उनले किङ्ग्स कलेजले नामी जस्ता संस्थासँगको सहकार्यमा भविष्यमा एआईसम्बन्धी पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताए । 

नामीका संस्थापक निर्देशक खनालले एआई प्रयोग गर्ने मात्र नभई विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने सफ्टवेयरहरू बनाउन सक्ने जनशक्ति नेपालभित्र तयार गर्न शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । नामी संस्थाले विभिन्न कुराहरुको खोज, अध्ययन, अनुसन्धान गर्दै आएको उनले जानकारी दिए । 

एआईले शिक्षा, स्वास्थ, कृषिलाई विज्ञान विषयमा जोड्न र विज्ञानलाई नै अगाडी बढाउन समेत प्रमुख भूमिका खेल्दै आएको बताउँदै खनालले 
विज्ञानले विश्वका जस्तोसुकै जटिल समस्याको समाधानका लागि अबको दुई दशकभित्र गुगलभन्दा पनि विश्वासिलो र छिटो प्रवाह हुने प्रविधिको विकासको तयारीमा आफूहरु रहेको बताए । उनले आफ्नो संस्थाले विज्ञान विषय पढ्न आएका वैज्ञानिक विद्यार्थीहरुलाई पनि परामर्श दिने गरेको जानकारी दिए । 

किङ्ग्स कलेजका विद्याथीहरुलाई अहिले ११ दिनको एआई कोर्ष पढाई हुँदै आएकोमा अब छ महिनाको कक्षा सञ्चालन हुनेछ । नेपालमा संभवतः पहिलो पटक सञ्चालन हुन लागेको एआई शैक्षिक कार्यक्रमबाट नेपालको शिक्षा क्षेत्रमा नवीनतम् प्रविधिद्वारा प्रयोगात्मक र गुणात्मक शिक्षाको विकास हुने र विश्वबजारमा नेपाल र नेपाली विद्यार्थीहरुलाई प्रतिस्पर्धा गर्न सहज हुने आशा लिइएको छ । 

Advertisement

Advertisement