‘यदि इच्छाशक्ति भए नेपालले पनि १० अर्ब खर्चिएर १५–२० बर्षमा चन्द्रमामा यान उतार्न सक्छ’

Advertisement

काठमाडौं । प्रविधि क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका व्यवसायी विप्लवमान सिंहले नेपालको पनि इच्छाशक्ति भए १५–२० बर्षमा चन्द्रमामा यान पठाउनसक्ने बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भारतले छ अर्ब भारतीय रुपियाँ (नेपाली १० अर्ब रुपियाँभन्दा कम) खर्च गरेर नै बुधबार सफलरुपमा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान– ३ को सफल अवतरण गराउन सफल भएको उदाहरण दिँदै नेपालले पनि यो कुरा सफल गर्नसक्ने, तर पहिला राजनीतिक इच्छाशक्ति भएको नेतृत्वको खाँचो पर्ने बताए । 

Advertisement

सिंहले भने, ‘भारु छ अर्ब भनेको त नेपाली १० अर्बभन्दा कम हो । यति बजेटमा भारतले सफलतापूर्वक आफ्नो ल्याण्डर चन्द्रमामा उतार्नसक्छ भने नेपालले पनि त्यति बजेट खर्च गर्र्ननसक्ने भन्ने होइन् । एकै बर्ष सबै बजेट खर्च गर्ने पनि होइन् । हामीसँग वैज्ञानिकहरु नभएका पनि होइन् । धेरै देशमा रहेर काम गरिरहेका छन् । उनीहरुलाई बोलाएर अहिलेदेखि नै सुरुवात गर्ने हो भने १५–२० बर्षमा मिसन सफल नहुने भन्ने हुँदैन् । तर सुरुवात गर्नुपर्यो नि ।’ 

नेपालमा आशा र संभावना नदेखेर नै धेरै एरोनोटिक इन्जिनियर र वैज्ञानिकहरु पलायन भएको र अर्काको देशका लागि काम गरिरहेको उनले बताए । व्यवसायी सिंहले अहिले नै मिसन सुरु गर्ने हो भने त्यस्ता वैज्ञानिकहरुले आफ्नो मुलुकका लागि उत्साह र जोशका साथ काम गर्नेथिए भन्दै परियोजना सुरु भएपछि पाँच–सात सय मानिसले पनि रोजगारी पाउने, अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा पनि रहने, खगोल विज्ञानका क्षेत्रमा अरु नयाँ खोज र अनुसन्धान गर्न पनि आधार तयार हुने थियो भने । 

उनले छिमेकी भारतको इसरो नामक अन्तरिक्ष अन्वेषण संस्था जस्तै नेपालले पनि भएकै संस्थालाई विकास गरेर वा नयाँ संस्था बनाएर यो काम गर्नसक्ने बताए । चन्द्रमामा चन्द्रयान उतार्न सफल भएकोमा वधाई दिने हाम्रा नेताहरूले नेपालमा नै रकेट बनाउने अनुसन्धान गरिरहेका विद्यार्थीहरूलाई प्रोत्साहन दिन पनि यो काम गर्न ढिलाई गर्न नहुने सिंहले बताए । महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रले पनि यस्तो रकेट बनाएर परीक्षण उडान गरेको उदाहरण दिँदै नेपालले चन्द्रमामा यान पुर्याउन नसक्ने भन्ने हुँदैन् भने । 

सिंहले भने, ‘अर्बौं रुपियाँ फचुल खर्च गर्नसक्छ सरकार । यस्तै इनोभेटिभ कामका लागि बजेट माग्यो भने १०–१५ लाख पनि खर्च गर्न डराउँछ । नेपालमा पनि विज्ञापन र प्रविधिको क्षेत्रमा धेरै काम गर्न सकिन्थ्यो । यस क्षेत्रमा धेरै युवाहरु आइसकेको पनि छ । चन्द्रमामा यान पुर्याउने भनेको जेट इन्जिनको कन्सेप्ट न हो । बढी खर्च लाग्ने पृथ्वीको ओजन तह पार गर्ने बेलासम्म हो । त्यहाँबाट माथि गइसकेकपछि खर्च लाग्ने होइन् । प्रविधिले कन्ट्रोल गर्ने कुरा हो । त्यसका लागि प्रविधि र प्राविधिक जुटाउन नसक्ने भन्ने हुँदैन् । भारतले जुटाउनसक्छ भने हामीले नसक्ने भन्ने हुँदैन् । मुल कुरा इच्छाशक्ति नै हो । त्यस्तो इच्छाशक्ति भएको राजनीति नेतृत्व आउनुपर्यो ।’ 

Advertisement

Advertisement