‘सन् २०५० सम्म ४० हजार मेगावाट विद्युत उत्पादन गर्ने र त्यो आफै खपत गर्ने योजना चाहिएको छ’

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको क्लिन इनर्जी भारतलाई बेच्दा डर्टी इनर्जीको भन्दा फरक मूल्य पाउँदैनौं भने नेपालसँग बिजुली बेच्ने क्षमता नरहनसक्ने बताएका छन् । 

पुल्चोक इन्जिनियरिङ क्याम्पसको हाइड्रो इन्जिनियरिङ कार्यक्रमले बिहीबार आयोजना गरेको विद्युत खपत र व्यापारः संभावना र चुनौति विषयक छलफल कार्यक्रममा उनले वृहतरुपमा नेपालको उर्जा सुरक्षाको कुरा नगरी विद्युत व्यापारको मात्रै कुरा गर्न सक्दैनौ भन्दै उर्जा सुरक्षाको कुरा गर्दा राष्ट्रिय सुरक्षा, अर्थ–राजनीति, नाफा–घाटाको कुरा पनि आउने बताए । 

Advertisement

कार्यपत्र प्रस्तुतकर्ता नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेश शाक्यको कार्यपत्रमाथि टिप्पणी गर्दै थापाले सन् २०५० सम्म ४० हजार मेगावाट विद्युत उत्पादन गर्न अहिलेदेखि नै उत्पादन बढाउँदै खपत पनि बढाउन यो बीचको लागि योजना बनाउनुपर्ने बताए । उनले उत्पादित विजुलीमा नाफा पनि चाहिने भएकाले व्यापार गर्न रणनीतिक भएर लाग्नुपर्ने बताए । 

थापाले नेपालका निजी क्षेत्रका उर्जा उत्पादकहरु अहिलेको जसरी नै कन्टिन्जेन्सी प्लान (आकस्मिकताको योजना)मा चल्ने, कतिपयको आयोजनाको वित्तीय लगानी नहुने र डुब्दै जाने भनेको देशको लगानी डुब्ने हो भने । बैंकको वा निजी क्षेत्रको लगानी भनेको पनि जनताकै लगानी भएको उनको तर्क छ । 

जलवायु परिवर्तन आदि कारणले जलविद्युत आयोजनाहरुको विकासमा परेको असरका बारेमा विश्वविद्यालयहरुमा बहस हुनु जरुरी रहेको थापाले बताए । अहिले अध्ययन गर्नेहरु नै भोलि नीति निर्माण र निर्णय गर्ने तहमा पुग्ने भएकाले विश्वविद्यालय तहमा हुने अहिलेको बहसले सरकार र संसदलाई समेत तान्ने बताए । 

नेता थापाले विद्युत खपत बढाउन घरमा, यातायातमा, उद्योगमा ठूलो माग र संभावना रहेको बताए । उनले अहिलेको माग जम्मा एक हजार आठ सय मात्रै भन्ने कुरा मिलेको छैन् भने । जलविद्युतमा नेपाल विश्वको दोस्रो धनी भन्ने गलत तथ्यलाई सच्याउनु जरुरी रहेको थापाले बताए ।  

उनले विद्युत उत्पादन गर्ने प्राधिकरण र उर्जा मन्त्रालयलाई विद्युत खपत गर्ने जिम्मा पनि दिएको देखिन्छ भन्दै उनले यसरी छोडेर खपत नबढ्ने बताए । साथै, थापाले गुणस्तरीय विद्युतीय सामग्रीहरु बजारमा बिक्रीवितरण गर्न पूर्ण प्रतिवन्ध लगाउनुपर्ने बताउँदै त्योभन्दा अगाडि वितरण प्रणालीको स्तर बढाउनुपर्ने बताए । उनले भने, ‘त्यसपछि मात्रै एलपी ग्यासमा दिएको अनुदान कटौती गर्दा ठिक हुन्छ । त्यसको लागि त राम्रो योजना चाहियो नि । विद्युतीय सामग्रीको प्रयोग बढाउने कुरा पनि त्यही हो ।’

यातायातमन्त्री एकातिर कुँद्ने, आपूर्तिमन्त्री इन्धन भण्डारण र पाइपलाइन बनाइराख्ने, उर्जा मन्त्रालय खपत बढाउने कुरा मात्रै गर्ने कुराले खपत बढ्दैन भन्दै सबै सरोकारवाला निकायले एकीकृतरुपमा काम गर्नुपर्ने थापाले बताए । उनले त्यसका लागि आफूले संसदमा संकल्प प्रस्ताव समेत पटक पटक लगेको बताए । 

उत्पादनमूलक उद्योगहरुमा गुणस्तरीय र भरर्दो विद्युतको ठूलो अभाव रहेको र त्यो कुरामा सुधार नभएसम्म ठूला उद्योगमा लगानी पनि नआउने बताउँदै थापाले भरपर्दो विद्युत आपूर्तिको सुनिश्चितता नगरेसम्म नेपालले ठूला उद्योगमा विदेशी लगानीका लागि मार्केटिङ गर्न नसक्ने बताए । 

Advertisement

Advertisement