नेपालमा स्कि खेलको प्रवर्द्धनका लागि ‘स्कि टि–बार’ जडानको तयारी, स्कि रिसोर्टको पनि योजना

Advertisement

काठमाडौं । स्कि एक साहसिक खेल हो । कालिञ्चोकमा स्कि खेल खेल्न सहजीकरणको लागि ‘‘स्कि टि–बार’ जडान गर्न लागेको हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) छिरिङ जाङबु शेर्पाले बताए । 

साथै, विशेषगरी हिउँदलाई स्किको महिनाको रुपमा प्रवर्द्धन गर्न सकिने बताए । अहिले दिनमा २० पटक मात्र स्कि खेल्छौं भने ‘स्कि टि–बार’ राखिसकेपछि दिनमा करिब पाँच सय पटकसम्म स्कि खेल्नसक्ने उनको भनाइ छ ।

Advertisement

स्कि खेल नेपालमा प्रवर्द्धन गर्न सकिए पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने शेर्पाले बताए । उनले नेपालमा विन्टर टुरिजम (जोडो यामको पर्यटन)को सम्भावना धेरै रहेको बताउँदै सोही कारण आफू विन्टर टुरिजम प्रवर्द्धन गर्न लागिपरेको बताए । 

शेर्पाले भने, ‘हामीकहाँ दुई सिजन (वसन्त र शरद ऋतु)मा राम्रो संख्यामा पर्यटकहरु आगमन हुन्छ । तर वर्खा र विन्टरमा त्यति हुँदैन् । नेपालमा विन्टर टुरिजम प्रवर्द्धन गर्न सके पर्यटकको आगमन अझ बढाउन सकिन्छ ।’ 

नेपाल स्कि कसरी प्रवर्द्धन गर्न सकिन्छ ?
शेर्पाका अनुसार नेपालमा स्कि प्रवर्द्धन गर्न पहिला ‘भिजिविलिटि’ अध्ययन गर्नुपर्छ । कुन ठाउँमा बढी हिउँ बस्छ ? कुन स्तरसम्म हिउँ पर्छ ? त्यहाँसम्म पुग्ने पहुँच कस्तो छ ? पुग्न कति समय लाग्छ ? त्यो कुराहरुलाई हेर्न जरुरी छ । 

नेपालमा समस्या भनेको स्कि खेल्दा लगाउने ‘गियर’ (सरसामान) पाउन अल्ली गाह्रो छ । हिउँ पर्ने ठाउँमा जहाँ पनि स्कि खेल्न मिल्छ । लगभग चार सेन्टिमिटरभन्दा धेरै हिउँ परिसकेपछि जहाँ पनि स्कि खेल्न सकिन्छ । नेपालमा भने हिमाली क्षेत्रमा जोखिमपूर्ण स्कि खेल्न सुरक्षा सामग्री बढी आवश्यक पर्ने उनको भनाई छ । 

शेर्पाले अहिले स्कि खेल्न चाहनेहरुलाई सिकाउनुपर्ने हुन्छ भन्दै दुई–तीन सय जनालाई स्कि खेल्न सिकाइसकेपछि विस्तारै यसको प्रवर्द्धन हुने बताए । अहिलेलाई काठमाडौं नजिक कालिञ्चोकमा ‘स्कि टि–बार’को व्यवस्था गरेको उनले बताए ।  

‘स्कि टि–बार’
शेर्पाका अनुसार माथिबाट स्कि खेल्दै तल आएपछि तलबाट टि बारमा झुन्डिएर माथि जाने गरिन्छ । ‘स्कि टि–बार’ले छिटो तलबाट मानिसलाई माथि जान सहयोग पुग्छ । यसले दिनमा धेरै पटक स्कि खेल्न सहयोग गर्छ । ‘स्कि टि–बार’ नहुँदा स्कि खेल्नेहरु दिनमा चार–पाँच पटक खेल्दा नै थाक्दछ । तर टि बारले त्योभन्दा धेरै पटक खेल्न सहज गर्ने उनले बताए । 

कालिञ्चोकमा जडानको तयारी गरिएको स्कि टि–बार एक प्रकारको स्कुल जस्तै हो । विदेशमा स्कि टि–बारको प्रयोग गर्दै स्कि खेल्ने गरिन्छ । स्कि टि–बारमा एक पटकमा सात जना सम्मालाई तानेर दुई सय मिटर माथि पुर्याउँछ । 

उनले भने, ‘अहिले हामीले दुई सय मिटरको टि बारको सोच राखेका छौं । ठाउँ पनि हेरेर आइसक्यौं । स्विस मेसिन आएपछि फिट गरेर सुरु गछौं । मैले अर्डर गरिसकेको छु । अहिले एउटा मात्रै ल्याउन लागेको हो । नेपालको भन्सार र ढुवानीमा निकै झन्झट छ ।’

‘स्कि टि–बार’को मेसिन आए पनि गियरको समस्या हुने भएकाले ३०–४० वटा गियरको व्यवस्था गर्ने सोचमा आफूहरु रहेको शेर्पाले बताए । उनले त्यति संख्यामा गियर भयो भने स्कुल सञ्चालन गर्न सकिने बताए । शेर्पाले यो बर्खाभित्रै ‘स्कि टि–बार’ जडान गरेर आउँदा हिउँदबाट टि बार सञ्चालन गर्ने योजना रहेको बताए । 

स्कि रिसोर्ट
छिरिङ जाङबु शेर्पाका अनुसार नेपालको होटलहरुमा इन्सुलेशन भएको रुम त्यति देखिँदैन् । हिउँदमा कालिञ्चोक गयो भने होटलको कोठाभित्र पूरै बाफले हिउँ सिलिङमा टाँसिरहेको हुन्छ । तर विन्टरको लागि फोकस गर्ने हो भने स्कि रिसोर्टको निर्माण गर्नुपर्ने उनको तर्क छ । 

स्कि रिसोर्ट हिउँदका लागि उपयुक्त हुनेगरी इन्सुलेशन हालेर भित्र तातो आउने गरी बनाए शेर्पाले यस्तो स्कि रिसोर्ट बन्यो भने स्कि पर्यटन विकासमा सहयोग पुग्ने आशा व्यक्त गरे । 

Advertisement

Advertisement