गत बर्षको हिमपहिरोको असरः शरद ऋतुको लागि मनास्लु आरोहण गर्न चाहने घटे

Advertisement

काठमाडौं । शरद ऋतुका लागि हिमाल आरोहण अनुमति लिन सुरु भएको छ । आरोहण अनुमति सुरु भएसँगै मनास्लुसहित पाँच वटा हिमाल आरोहणको लागि २८४ जना आरोहीले अनुमति लिएका छन् । 

गत वर्ष मनास्लु हिमालमा गएको हिमपहिरोका कारण यस बर्ष अनुमति लिनेको संख्या घटेको अनुमान गरिएको छ । गत बर्ष हिमपहिरो जाँदा थोरैले मात्र आरोहीहरुले मनास्लुको आरोहण गरेका थिए भने आधा जतिले आरोहण रद्द गरेका थिए । गत बर्षको हिमपहिरोमा झण्डै एक दर्जनको ज्यान गएको थियो । घटनापछि अझै आधैले आरोहण रद्द गरेका थिए । 

Advertisement

गत वर्षको शरद ऋतुका लागि मनास्लु हिमालकै लागि मात्र ४०४ जना आरोहीहरुले आरोहण अनुमति लिएका थिए । यस बर्ष सोही सिजनमा आरोहीहरुको संख्यामा वृद्धि हुने आशा लिइए पनि आधै कमले अनुमति लिएका छन् ।  

यस शरद ऋतुका लागि मनास्लुमा मात्रै २६६ जना आरोहीले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ । मनास्लु (८,१६३ मिटर) क्षाउराई (६,५९३ मिटर) पुथा हिउँचुली (७,२४६ मिटर), कुम्भकर्ण (जानु) (७,७४६ मिटर), हिमलुङ हिमाल (७,१२६ मिटर) र नेमजुङ (७,१४० मिटर) हिमाल आरोहणको लागि २२४ पुरुष र ६० जना महिला गरी ४४ देशका आरोहीहरुले अनुमति लिएका छन् ।

उनीहरुबाट सरकारले तीन करोड ४६ लाख ६ हजार ९३० रुपियाँ रोयल्टी संकलन गरेको विभागले जनाएको छ । मनास्लु हिमालबाट मात्र दुई करोड ९८ लाख ६५ हजार ३ सय ७५ रुपियाँ रोयल्टी संकलन गरेको छ । 

इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुुटी शेर्पाले आफ्नो कम्पनीबाट भने गएको बर्षभन्दा धेरै आरोहीले मनास्लु चढ्न थागेको बताए । गत वर्ष १५ जना आरोहीहरुले आफनो कम्पनीबाट मनास्लु आरोहण गरेकोमा अहिले २४ जना रहेको उनले बताए । 

गत वर्षको भन्दा यस वर्ष थोरै संख्यामा आरोहीहरु मनास्लुको लागि नेपाल आएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले बताए । उनले आफ्नो कम्पनीबाट गत बर्ष एक सय जना आरोहीले अनुमति लिएकोमा अहिले ८४ जना मात्रै रहेको बताए । 

एलिट एक्स्पेड कम्पनीका सह–संस्थापक, विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा डेविड शेर्पाले आफ्नो कम्पनीबाट गत वर्षभन्दा यस वर्ष आरोहीको संख्या बढेको बताए । मनास्लु आरोहणमा एलिट एक्स्पेड कम्पनीको गाइड आफूले नै गर्न लागेको उनले जानकारी दिए ।

शेर्पाले भने, ‘तिब्बत खोल्यो नि त । त्यसैले पनि होला यस वर्ष मनास्लु हिमालमा आरोहीहरुको संख्या कम भएको । यस वर्ष मनास्लुमा धेरै जसो आरोहीहरु दोहोर्याएर आएका छन् । गत वर्ष मनास्लुमा हिमपहिरो गएकोले धेरै आरोहण रद्द भएको थियो ।’

‘एट–के’ एक्सपेडिसनका संचालक पेम्बा शेर्पाले यस यसमा भने आफ्ना ग्राहकहरु घटेको बताए । उनले गत बर्ष ५० जना आरोही आफ्नो कम्पनीबाट आरोहण गर्न अनुमति लिएकोमा अहिले ३९ जना मात्रै रहेको बताए । 

पायोनियर एडभेन्चर कम्पनीका अध्यक्ष पासाङ शेर्पाले यस सिजनमा मनास्लु हिमाल आरोहणको लागि आरोहीहरुको संख्या कम रहेको बताए । अरु हिमालमा चाहिँ संख्या राम्रै रहेको उनले बताए । 

मनास्लुमा ‘रोप फिक्सिङ’को जिम्मा इमाजिन नेपाल ट्रेक्सलाई दिइएको छ । सो कम्पनीका प्रबन्धक दावा फुुटी शेर्पाले यो काम आफूहरुले पाएको बताए । रोप फिक्सिङ टिममा पाँच जना शेर्पा रहेका छन् । टिमको नेतृत्व माउन्टेन गाइड दावा ग्याल्जे शेर्पाले गर्ने छन् । टिममा तामटिङ शेर्पा, पासाङ ङ्गिमा शेर्पा, जितबहादुर शेर्पा र पेम्बाछिरी शेर्पा छन् ।

‘रोप फिक्सिङ’ टिमले मनास्लु हिमालको क्याम्प–२ (६,४०० मिटर)सम्मको डोरी टाग्न सफल भएको इमाजिन नेपाल ट्रेक्सले जानकारी दिए । मौसमले साथ दिए यो हप्ताभित्र क्याम्प– ४ (७,४०० मिटर) सम्म ‘रोप फिक्सिङ’ गर्ने कम्पनीको भनाई छ । 

Advertisement

Advertisement