किलोमै १४ लाखसम्म कमाई हुँदा सुन तस्करीमा आकर्षण बढ्यो, भारतीय बजार उर्वर भूमि

Advertisement

काठमाडौं । सुन तस्करी किन मौलाउँदै गयो ? यतिबेला सबैको जिज्ञासा र चासो बनेको छ । यसको कारण हो आकर्षक आर्थिक लाभ । 

एक किलो सुन तस्करी गर्न सक्दा नै १४ लाख रुपियाँसम्म फाइदा हुने प्रहरीको अनुसन्धानबाट देखिएको छ । सोही लाभका कारण तस्करीको सुन आक्कलझुक्कल पक्राउ पर्दा पनि तस्करहरुले विकल्प खोज्दै तस्करी गर्न छोडेका छैनन् । उनीहरुले नयाँ नयाँ उपाय अपनाएर सुन तस्करीको प्रयास गरिरहेका छन् । 

Advertisement

सुन तस्करीका लागि भारतीय बजार उर्वर भूमि बनेको छ 
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दी गर्नुका साथै नयाँ नोटहरु प्रचलन ल्याउन थालेसँगै त्यहाँका मानिसहरु सुन संचित गर्न थालेका छन् । नेपालमै पनि गैरकानुनी र भ्रष्टाचार गरेर अकुत कमाउनेहरुले पैसा बैंकमा राख्दा स्रोत खुलाउनुपर्ने र सहकारीहरु धरासायी भएपछि सुन किनेर थुपार्न थालेका छन् । 

अर्थमन्त्री प्रकाशशरण महतले सुनको आयातमा भन्सार महसुल वृद्धि गरी १५ प्रतिशत पुर्याउँदा पनि तस्करी गर्नेले आन्तरिक बजारमा बिक्री गर्दा पनि १५ प्रतिशत सिधै मुनाफा आर्जन गर्न सक्छन् । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा पाँच सय किलो सुन आयात भएको छ । यो सुनलाई सयुक्त अरब इमिरेट्समा नेपाली बैंकले चार अर्ब १२ करोड रुपियाँ खर्चिएका छन् । 

यस्तै, १५ प्रतिशत भन्सार मूल्य तिर्दा ६१ करोड ९२ लाख खर्चिएका छन् । यसरी हिसाब गर्दा प्रतिग्राम नै एक हजार २३८ रुपियाँ भन्सार महसुल तिर्नुपर्ने हुन्छ । यसरी हेर्दा एक किलो सुन तस्करीमा भन्सार छुटबाट मात्रै १२ देखि १४ लाख सोझै नाफा हुने भएपछि सुन तस्करीमा लाग्ने मानिसहरुको संख्या दिन दिनै बढिरहेको छ।

सुन तस्करीमा मनग्य मार्जिन भएपछि तस्करीमा लाग्नु स्वाभाविक भएको राजश्व अनुसन्धान विभागका एक पूर्वमहानिर्देशकले बताए । उनले भने, ‘मेरो अनुमानमा दिनको एक सय किलो सुन नेपाल हुँदै भारत पुग्ने गरेको छ । दिनभरी भारी बोकेर एक हजार रुपियाँ कमाउन कठिन रहेको बेला एक किलो सुन तस्करी गर्दा लखपति भइन्छ भन्दै तस्करी बढिरहेको छ।’

ती महानिर्देशकका अनुसार सुन तस्करको मुख्य बजार भारत हो । भारतमा मोदी सरकार आएपछि दुई पटक नोटबन्दी गरिसकेका छन्।  भारतमा धेरै नोट राख्नु असुरक्षित बन्न थालेको छ । विशेषगरी, अवैध धन लुकाएर राख्न असहज भएपछि सुनमा आकर्षण बढेको छ । यसरी भारतमा शुद्ध सुन पुर्याउँदा चलेको भन्दा धेरै मूल्यमा सुनको मूल्य पाइने गरेको छ । 

सुन नोटको तुलनामा राख्न र दीर्घकालिन महत्वको हिसाबले विश्वभर नै चल्ने भएपछि यसको तस्करी बढेको हो । भारतमा तस्करीको सुन नेपालबाट मात्रै नभएर अन्य छिमेकी मुलुकबाट समेत आउने गरेको भारतीय राजश्व अनुसन्धान विभागले उल्लेख गरेको छ ।  

नेपालबाट सुनको मात्रा अत्यधिक जाँदा सिमावर्ती क्षेत्रमा भारुको मूल्यलाई नेपाली नेरुले जितेको छ । भारतीय नोटको सप्लाई धेरै हुँदा सिमावर्ती नाकामा एक सय भारु १५० रुपियाँमै आउने गरेको छ । 
 
भन्सार महसुल बढेसँगै सुन तस्करीमा लाग्ने पनि वृद्धि भएको देखिएको छ । राजश्व अनुसन्धान विभागले गत साउन २ गते त्रिभुवन विभानस्थल भन्सार कार्यालयबाट जाँचपास भएको ब्रेक सुमा ६०.७१६ किलो सुन भेटिएपछि तस्करी भित्रभित्रै निकै मौलाएको भेटिएको हो । 

पछिल्लो समय चीनसँग सिमा जोडिएका नाकाहरुबाट समेत सुन तस्करी हुने गरेको देखिएको छ । सुन तस्करीको सुराकी दिनेले १० प्रतिशतसम्म कमिशन पाउने नयाँ कानुनी व्यवस्था र तस्करहरुबीच कमिसनको विवाद नमिल्दा मात्रै कहिलेकाहीं सुन पक्राउ परे पनि अधिकांश तस्करी निर्वाधरुपमा नै भइरहेको प्रहरी अनुसन्धानबाटै देखिएको छ । 

सुनको सुराकीमा भन्सार नियावलीलाई संशोधन गरी कुल बरामद सुनको १० प्रतिशत कमिशन पाइने भएपछि सुराकीको संख्या समेत बढ्न थालेको हो । अहिले प्रहरीले सुन पक्रेर राजश्व अनुसन्धान विभागलाई बुझाउन छाडेको छ । गत साउन २ गते समातिएको सुनको ५० लाख रुपियाँ मात्रै कमिशन पाउने भएपछि सुन समातिएको सुन भन्सार कार्यालयहरुलाई बुझाउन थालेका छन् । 

भन्सार नियामावली अनुसार सुनको कमिसन बढी आउने भएपछि सुन अनुसन्धानका लागि भन्सार कार्यालयहरुमा आउन थालेको विभागले जनाएको छ । यस्तै सुनको सुराकी दाबी गर्नेको संख्या पनि वृद्धि भएको छ ।

Advertisement

Advertisement