दशैंमा विदेशबाट फर्किनेले सुन ल्याउने हो कि ? भन्ने विमानस्थल भन्सार कार्यालयको चिन्ता

Advertisement

काठमाडौं । दशैंमा विदेशबाट नेपाल फर्किनेले सुन ल्याउने हो कि ? भन्ने चिन्ता त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई परेको छ । कार्यालयले नेपाल आउँदा ल्याउने तथा पठाउने सामानहरुमा सावधानी अपनाउन आग्रह गरेको छ । 

यसरी ल्याउने सामानमा सुन पनि लुकाएर ल्याउनसक्ने संभावना औंल्याउँदै कार्यालयले विदेशबाट आउने यात्रु तथा विदेशमा बस्‍नेले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत परिवारलाई पठाउँदा विशेष ध्यान दिन आग्रह गरेको छ ।  

Advertisement

कार्यालयले इमर्जेन्सी लाइट, पावर ब्याङ्क, आइरन, हेयर ड्रायर, मिक्सर, पानी तान्‍ने मेशिन नल्याउन भनेको हो । यस्ता सामान एक्सरे मेसिनमा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर , फुटाएर चेकजाँच गर्नुपर्ने भएकोले नल्याउन आग्रह गरिएको छ । 

गत साउन २ गते त्रिभुवन विमानस्थलको कडा सुरक्षा तथा भन्सार जाँचपास छल्दै ब्रेक सु भित्र ठूलो परिमाणमा सुन ल्याइएपछि भन्सार प्रशासनमाथि गम्भीर प्रश्न र अविश्वास खडा भएको थियो । त्यसपछि कार्यालयले भन्सार जाँचपासमा निकै कडाई गरेको देखिएको छ । यद्यपि सुन तस्करहरुले विकल्प खोज्दै सुन तस्करी भने जारी राखेको पछिल्लो तथ्यहरुले देखाएको छ । 

Advertisement

Advertisement