उद्दार गर्न इजरायल पुगेको नेपाल वायुसेवाको जहाजले २५० जना लिएर आउँदै

Advertisement

काठमाडौं । इजरायलमा रहेका नेपाली लिन गएको नेपाल वायुसेवाको जहाज तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 

आज बिहीबार बिहान दुबई हुँदै तेल अभिभमा पुगेको जहाजले २५० जनालाई लिएर फर्किने तयारी गरेको छ । प्यालेस्टायनी विद्रोही समूह हमासले इजरायली क्षेत्रमा आक्रमणपछि स्वेदश फिर्ता हुन चाहनेका लागि सरकारले जहाज पठाएको हो । 

Advertisement

हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् । तेलअभिभस्थित नेपाली दूतावासले २५० जना नेपालीलाई नेपाल फर्काउने तयारी गरिएको बताएको छ । जहाजमा परराष्ट्रमन्त्री एनपी साउद पनि गएका छन् । युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरुलाई नेपाल ल्याउन लागिएको हो । 

पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि छन् । यीमध्ये धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका व्यक्ति हुन् । उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरूले बताएपछि उनी स्वदेश नै आउन लागेको जनाइएको छ । आक्रमणमा परी घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । 

उद्दार गरिएकाहरुलाई लिएर आउने जहाज आजै राति आइपुग्ने जनाइएको छ । 

Advertisement

Advertisement