काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष तथा बीमाविज्ञ डा. रवीन्द्र घिमिरेले बीमा गरेर बीमितले लाभ पाउनुपर्नेमा उल्टै सरेण्डर (समर्पण) गरेर घाटा खाने प्रवृत्ति मौलाउनु चिन्ताको विषय भएको बताएका छन् ।
कर्पोरेट नेपालसँगको कुराकानीमा घिमिरेले सरेण्डर न्यूनीकरण गर्न बीमा बजारमा नियामक निकायले आफ्नो भूमिका बढाउनु पर्ने, बीमितले बीमालेखको महत्व बुझ्नुपर्ने र अभिकर्ताहरुले बुझेको कुरा मात्रै बीमितलाई बुझाउनुपर्ने प्रतिक्रिया दिए ।
उनले भने, ‘बीमा गर्नुभन्दा अगाडी बीमितले एकदमै विचार गर्नुपर्छ । त्यसमा पनि जीवन बीमा गर्नुभन्दा अगाडी धेरै विचार गर्नुपर्छ । जीवन बीमा पोलिसि किनिसकेपछि सकेसम्म त्यसलाई सरेण्डर गर्नुहुँदैन । बीमा गर्ने भनेको रक्षावरण गर्नको लागि हो, सरेण्डर गर्नको लागि होइन् । सरेण्डर गरेपछि त बीमाले केही पनि हेर्दैन बीमा गराएको केही काम पनि भएन् । पछिल्लो समय सरेण्डर बढिरहेको हामीले पाउँछौं ।’ पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा सुस्तता आउँदा, मानिसहरुको क्रयशक्ति कमजोर बन्दा त्यसको असर बीमा क्षेत्रमा पनि देखिएको प्राधिकरणका उच्चअधिकारीहरुले पनि स्वीकार गर्दैआएका छन् ।
विज्ञ घिमिरेले अभिकर्ताहरुले मान्छेको हैसियतभन्दा ठूलो बीमा गराउन नहुने बताए । कमिसनको लोभमा मान्छेको हैसियतभन्दा ठूलो बीमा गराउँदा प्रिमियम तिर्न नसकी सरेण्डर गर्नुपर्ने अवस्था सिर्जना हुने उनको भनाई छ ।
डा. घिमिरेले भने, ‘ठूलो बीमा गराउँदा बीमा नबुझेकाले राम्रो मान्न सक्छन् । बीमा नबुझेकालाई ठूलो बीमा भिडाउन खोज्नु भनेको चाहिँ गलत सल्लाह दिएसरह हो । बीमा उद्योेग प्रति वितृष्णा उब्जिने काम रोक्न अभिकर्ताहरुले व्यक्तिको योग्यता अनुसारको बीमालेख बेच्नुपर्छ । बीमालेख बेच्नुभन्दा अगाडी त्यसको बारेमा बीमा अभिकर्ताहरुले त्यो बीमालेखको बारेमा आफूले राम्रो जानकारी राखेको हुनुपर्छ ।’
बीमामा बोनसभन्दा आवश्यकता हेर्नुस्
डा. घिमिरेले जहिले पनि बीमितले आफ्नो आवश्यकता भन्दा पनि बीमाले दिने बोनस हेर्ने गरेको पाइन्छ भन्दै तर, वास्तवमा बीमा गराउँदा बीमितहरुले बोनसभन्दा पनि आफ्नो आवश्यकता हेर्नुपर्ने सल्लाह दिए ।
बीमितको आवश्यकता बीमाले पूरा गर्छ भने मात्र त्यस्ता किसिमका बीमा गर्नुपर्छ भन्दै उनले अहिले बीमितहरुले धेरै लाभ पाउने लोभमा बीमा गर्दा त्यस्ता बीमाले दिने प्रतिफल उसको लागि लाभदायी छ कि छैन् ? भन्ने गम्भीर प्रश्नहरु उब्जिन थालेको बताए ।
‘म एउटा सामान्य मान्छे हो भने मलाई एक करोड रुपियाँको बीमा आवश्यक हुँदैन् । मजस्तो सामान्य मान्छे कसैलाई पनि एक करोड रुपियाँ बराबरको बीमा गर्न हुँदैन्’ डा. घिमिरेले भने, ‘त्यस्तो आवश्यक नभएकालाई पनि करोड–करोड रुपियाँ बराबरको बीमा गराउने चलन हाम्रोमा छ । त्यसले त पछि ठूला दुर्घटना निम्त्याउने गर्छ ।’
बीमा गराउन खोलिएका बीमा कम्पनीहरुले समयमा नै दाबी भुक्तानी दिनुपर्ने पनि उनले बताए । घिमिरेले ‘पेण्डिङ क्लेम’ बढ्नु भनेको बीमकको ‘गुडविल’ माथि नै प्रश्न उठ्नु पनि हो भने ।
विज्ञ घिमिरेले नियामकले आफ्नो नियमनकारी क्षमता विकास गनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘उनीहरुले आफ्नो कामको गुणस्तर पनि सधैं बढाउँछु भनेर काम गर्नुपर्छ । यसको उदाहरणको लागि तपाइँहरुले हेर्नुभयो भने बीमा ऐन आयो भनिएको छ । त्यसको नियमावली अझै आएको छैन् । बीमा प्राधिकरण चार वर्ष पूरानो रिर्पोट देखाएर हिँडिरहेको छ । चुस्तदुरुस्त कार्य प्रणालीलाई बढ्वा दिन आवश्यक छ ।’
बीमा क्षेत्रमा सधैं तालिमको पनि अभाव हुने गरेको डा. घिमिरेले बताए । उनले बीमा उद्योगमा बीमा कलेजको अभाव छ भन्दै बीमा प्राधिकरणले बेलबेलामा विशेष खालको तालिम दिनुपर्ने, कर्मचारीहरुलाई देश विदेशमा प्रचलनमा रहेका कायैशैलीको पनि अवलोकन गर्ने मौका दिनुपर्ने बताए ।