सगरमाथा क्षेत्रमा हराइरहेका जर्मन नागरिकको खोजी कार्य जारी

Advertisement

काठमाडौंं । सगरमाथा क्षेत्रमा हराइरहेका जर्मन नागरिकको खोजी कार्य जारी छ । 

जर्मन नागरिक डा. गर्ट स्काचर–गम्स अक्टोबर ६ तारिखदेखि बेपत्ता भएको र उनको खोजी कार्य भइरहेको खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले जानकारी दिए । 

Advertisement

डा. गर्ट गाइड बिना नै कालापत्थर गएका थिए ।पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आवद्ध मजदुरको संयुक्त सङ्गठनको मागअनुरुप नेपाल पर्यटन बोर्डले पदयात्रामा जाने पर्यटकले अनिवार्य रुपमा गाइड लाने व्यवस्था गरेको छ । उक्त निर्णय १ अप्रिल २०२३ देखि लागु भइसकेको छ । 

उक्त निर्णयलाई नमान्दा उनी बेपत्ता भएको नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले बताएका छन् । 

पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताए । ‘यसरी नै विदेशी पर्यटकहरु एक्लै पदयात्रामा जाँदा बेपत्ता भएकोले नै हामीले पदयात्रामा जाँदा अनिवार्य गाइड लैजानु पर्ने निर्णय गरेका थियौं । तर खुम्बु पासाङल्हामु गाउँपालिकाले त्यो निर्णयलाई मानेको छैन’, उनले भने । 

यसरी नेपाल आएका विदेशी पर्यटकहरु बेपत्ता भइराख्दा अहिले आइरहेका पर्यटकहरुको संख्या पनि घट्न सक्छ । उनले भने, ‘यसरी पर्यटकहरु बेपत्ता भएकोले नै यसको समाधानको लागि नै यो निर्णय लिएका हौं ।’
 
टानका अध्यक्ष निलहरी बाँस्तोलाले पनि बेपत्ता भएका विदेशी पर्यटकको खोजिको लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले नै जिम्मा लिएर खोजी गर्नु पर्नेमा जोड दिए । 

यता, खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले आजदेखि बेपत्ता भएको जर्मन नागरिकको खोजी कार्य शुरु गरिएको बताए ।  तीन जना स्थानीयहरुलाई खोजी कार्यका लागि खटाएको उनले बताए । 

बेपत्ता भएका विदेशी पर्यटकले खुम्बु पासाङल्हामु गाउँपालिकाबाट ट्रेक कार्ड पनि लिएर गएका थिए । ट्रेक कार्डको ट्यापिङ डिभाइज खुम्बु पासाङल्हामु गाउँपालिकाभित्र रहेका सबै होटल, लजहरुमा जडान भइसकेको छैन । 

डा. गर्ट स्काचर–गम्सले लुक्ला र नाम्चेमा ट्रेक कार्डको ट्यापिङ गरेको रेकर्ड भेटाएको शेर्पाले बताए । 


 

Advertisement