नेपालमा पर्यटकहरुको बसाई बढाउन जरुरी छः सीईओ रेग्मी

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले नेपालमा पर्यटकहरुको बसाइ बढाउन जरुरी रहेको बताएका छन् । नेपाल आएर लामो समयसम्म बस्न चाहाने पर्यटकहरुलाई लक्षित गर्दै रिटायरमेन्ट (अवकाश) भिसा दिन पर्ने उनको भनाइ छ । 

बोर्डले ट्रेकर्स इन्फोर्मेशन म्यानिज्मन्ट सिस्टमस (टिम्स कार्ड) मा अनलाइन प्रणाली ल्याए पनि अध्यागमन विभाग, पर्यटन विभाग, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लगायतले अझै पनि अनलाइन प्रणालीमा नल्याएका कारण पर्यटकहरुको दुःख अझ कम नभएको उनले सुनाए । 

Advertisement

उनले नेपालमा पर्यटकको आगमन कति भयो भन्दा पनि पर्यटकहरुको नेपालमा बसाइ कसरी लम्ब्याउन सकिन्छ भने कुरा ध्यान दिन जरुरी रहेको बताए । त्यसको लागि रिटाइर भएका पर्यटकहरुलाई रिटाइर्मन्ट भिसा दिंदा यसले पर्यटकहरुलाई नेपाल लामो समय बस्ने मिल्ने र नेपालको रोजगारीमा पनि सहयोग पुग्ने बताए । 

उनले थपे, ‘लामो समयसम्म नेपाल आएर बस्ने चाहने पर्यटकहरुको लागि त्यही अनुसारको वातावरण बनाउन रिटाइर्मन्ट भिसा लागु गर्दा राम्रो हुन्छ । अहिले पर्यटकहरुलाई एक सय ५० दिनको मात्र भिसा दिइन्छ । एकै पटकमा एक वर्षको भिसा लिन सक्ने नीति ल्यायो भने नेपालमा पर्यटकहरु संख्या बढ्छ ।’ 

‘रिटाइर्मन्ट भिसा भए पर्यटकहरुलाई कहाँ जाने भन्दा मसँग नेपालको भिसा छ, म नेपाल जान्छु भन्ने खालको वातावरण सिर्जना हुन्छ’, रेग्मीले भने । अन्य देशले १० वर्षको भिसा दिन्छ । त्यस्तै अमेरिकाले ५ वर्षको भिसा दिइरहेको छ, क्यान्डाले १० वर्षको भिसा दिइरहेको छ । पर्यटकहरुलाई रिटाइर्मन्ट भिसा अथवा रेसिडेन्शल भिसाको व्यवस्था गरिदिए यसले नेपालको पर्यटन क्षेत्र र अर्थतन्त्रतमा पनि सहयोग पुग्ने उनको भनाइ छ । 

‘अहिले नेपालको जनसंख्या पनि घद्दै गएको छ, हाम्रा युवा जति विदेश गए, बुढाबुढी जति नेपालमा भए । यस्तोमा रिटाइर्मन्ट भिसामा पर्यटकहरु नेपाल आए नेपालीहरु धेरैले रोजगार पाउँछन् ।’, उनले भने ।  

Advertisement