आफ्ना कीर्तिमानी आरोही तिब्बतमा बेपत्ता भएको एक महिना बित्दा पनि सरकार मौन

Advertisement

काठमाडौं । गत महिना (असोज २० गते) शिशापाङ हिमालको हिमपहिरोमा परी अमेरिकी महिला आरोही र शेर्पा गाइडको मृत्यु भयो भने अर्का एक महिला आरोही र शेर्पा गाइड अझै बेपत्ता छन् । 

आठ हजार २७ मिटर उचाइमा रहेको शिशापाङ हिमालको हिमपहिरोमा परी अमेरिकी महिला आरोही अन्ना गुटु र उनको शेर्पा गाइड मिङमार शेर्पाको मृत्यु भएको छ भने अमेरिकी महिला आरोही जिना मारिया र उनका गाइड तेन्जेन (लामा) शेर्पा अझै पनि बेपत्ता छन् । 

Advertisement

तर सरकारले बेपत्ता दुई जनाको खोजी गर्ने र मृत्यु भएका दुई जनाको शव नेपाल ल्याउन कुनै पहल गरेको छैन् । तेन्जेन (लामा) शेर्पा विश्व कीर्तिमानी पर्वतारोही पनि हुन् । शिशापाङ हिमाल तिब्बतमा पर्छ । बेपत्ता तथा मृतकहरुको खोजी गर्न र शव नेपाल ल्याउन सरकारले कुनै कुटनीतिक पहल नगरेको आरोहण व्यवसायीहरुको गुनासो छ । 

बेपत्ता रहेका तेन्जेन र नर्वेकी क्रिस्टिन हरिलाले ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी कीर्तिमान बनाएका थिए । 

नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार तथा पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाले सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता नदिएको कुरा शिशापाङ हिमालको घटनाबाट देखिन्छ भने । विश्व पर्वतारोहण महासंघको मानार्थ सदस्यसमेत रहेका उनले विश्व कीर्तिमान कायम गरेको आफ्नो नागरिक हिमालमा बेपत्ता भएको एक महिनासम्म बास्ता नगर्नु दुखद कुरा भएको बताए । 

शेर्पाले भने, ‘हाम्रो तेन्जेन, जो विश्व कीर्तिमान कायम गरेका व्यक्तिका लागि सरकारले केही गर्नुपथ्र्यो । तर बेपत्ता भएको एक महिना हुँदा पनि केही नगर्नु दुःखको कुरा हो । हामीले बेपत्ताहरुको खोजी गर्नुपर्छ, मृतकहरुको शब नेपाल ल्याउनुपर्छ भनेर विशेषगरी नेपाल पर्वतारोहण संघबाट सरकारलाई अनुरोध गरेका छौ । पहल गरिरहेको छौं । सरकारले कुटनीतिक पहल नगर्दासम्म यो कुरा गर्न गाह्रो छ । तर सरकारबाट पहल नै भएको छैन् ।

उनले थपे, ‘बेपत्ता हुने त भयो । तर उनको परिवारको लागि पनि केही नगर्नु अझ् दुःखको कुरा हो । शिशापाङ हिमालबाट फर्किएका आरोहीहरुसँग मैले कुरा गर्दा सबै मिलेर खोज्दा पनि बेपत्ता भएकाहरु नभेटेको सुनाए । सँगै गएका आरोहीहरुले सक्दो प्रयास गरे । अब सरकारको तर्फबाट पहल हुनुपर्ने थियो । हुन सकेको छैन् ।’

शेर्पाले हिमाल आरोहणका क्रममा ज्यान गुमाउने तथा अंगभंग हुने आरोहीहरुको परिवारका लागि सरकारले नै हेर्ने व्यवस्था गर्नुपर्ने बताए । हिमाल आरोहणबाट ठूलो रोयल्टी संकलन गर्ने सरकारले हिमाल आरोहणमा ज्यान गुमाउने आरोहीहरुको श्रीमती, आमाबाबुको जीवनयापन, बालबच्चाको पालन पोषण र शिक्षाका लागि छात्रवृत्ति दिने कुराको सुनिश्चितता गर्नुपर्ने उनले बताए । 

शेर्पाले भने, ‘परिवारको आम्दानीको स्रोत नै जो थियो, उसको मृत्यु भयो । बेपत्ता भयो । अंगभंग भयो भने त परिवारको आम्दानी नै नहुने भयो । आम्दानी नभएपछि बाँकी रहेको परिवार कसरी बाँच्ने ? बालबच्चा कसरी हेरचाह गर्ने ? कसरी पढाउने ? सरकारले तिनको छोराछोरीलाई कम्तिमा स्नातक तहसम्म पढ्न छात्रवृत्ति दिनुपर्छ भन्ने हाम्रो अनुरोध हो । अर्को कुरा परिवारको कमाउने मान्छे गुमाएपछि वा घाइते भयो भने त्यो परिवारको आर्थिक अवस्था कमजोर बन्दै जान्छ । उनीहरुको दैनिक जीवनयापन गर्न सरकारले खर्च दिर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ 

पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिन आफूहरुले धेरै अगाडीदेखि भन्दै आए पनि सरकारले सुनुवाई नगरेको शेर्पाले बताए । उनले पर्यटन उद्योग जलविद्युत र कृषिपछिको सबैभन्दा ठूलो उद्योग भएको दावी गर्दै यो कुरा सरकारले नबुझेको हो कि ? भने । 

सरकारले हिमालमा काम गर्ने आरोही, गाइड लगायतलाई केही गरेको अहिलेसम्म आफूले थाहा नपाएको शेर्पाले बताए । सरकारले सेवा सुविधा र आकर्षण दिन नसकेका कारण पनि शेर्पाहरु नेपालमा नबसेर विदेश पलायन हुने क्रम बढेको बताउँदै यो स्थिति कायम रहे केही बर्षमा हिमाल आरोहण र पदयात्रामा काम गर्ने शेर्पाहरु नपाउने अवस्था सिर्जना हुने चेतावनी दिए । 

शेर्पाले भने, ‘दुःख लाग्दो कुरा के हो भन्दाखेरी नेपालको एउटा क्रिकेट टिम गएर हाम्रो छिमेकी देशको क्लबसँग जितेर ट्रफी लिएर आउँदा मन्त्रीदेखि सचिव सबै विमानस्थलमा गएर भव्य स्वागत गर्छ । तर हाम्रो आरोहीहरुले विश्व कीर्तिमान कायम गरेर आउँदा सकेसम्म आउन खोज्दैन् । यो कुराले हामीलाई धेरै दुःख लाग्छ । मैले क्रिकेटलाई प्राथमिकता नदिने भनेको होइन्, ज्यान जोखिममा राखेर देशको इज्जत बढाउने हाम्रा आरोहीहरुलाई पनि साथ र हौसला दिनुपर्यो भन्न खोजेको ।’ 

आफू नेपाल पर्वतारोहण संघको अध्यक्ष हुँदा हरेक प्रधानमन्त्री, पर्यटनमन्त्री, अर्थमन्त्रीलाई यिनै विषय समेटेर २१ बुँदाको एउटा ज्ञापन पत्र बुझाएको स्मरण गर्दै शेर्पाले थपे, ‘यसमा विशेषगरी हाम्रो आरोहीहरु जति बेला स्कुल, कलेज जाने बेलामा हिमाल चढ्न जान्छ । हिमाल चढ्नु भनेको शारीरिक रूपमा गाह्रो काम हो । जोखिमको काम हो । उनीहरु ४५ वर्षपछि अवकाश हुन्छ । मैले हरेक ज्ञापनपत्रमा सरकारले संकलन गर्ने रोयाल्टीबाट १० प्रतिशत रकम आरोही कल्याण कोष भनेर हाल्नुपर्छ, त्यसबाट अवकाश पाउने आरोहीहरु, अंगभंग हुने आरोही, मृत्यु हुने तथा बेपत्ता हुनेको परिवारको जीवनयापन र पठनपाठनका लागि खर्च गर्नुपर्छ भनेर माग राखेको थियो । तर सुन्दैसुन्दैन् । अझै पनि यो कुरा कार्यान्वयन गर्न सकेको छैन् । यो कोष स्थापना हुन सके हिमालमा काम गर्ने आरोही, माउन्टेन गाइड र नयाँ आउने आरोहीहरुलाई आशा र उत्साह पैदा हुन्थ्यो ।  
अहिले तेन्जेन र जिना मारियाको खोजीका लागि क्रिस्टिन हरिलाले सहयोग संकलन गरिरहेकी छन् । 
 

Advertisement