सांसद विनोद चौधरीको पहलपछि नवलपरासीका उखु किसानले पाए अनुदानको रकम

Advertisement

नवलपरासी । सांसद एवं उद्योगपति विनोद चौधरीको पहलपछि नवलपरासीका उखु किसानले अनुदानको रकम पाएका छन् । नेपाली कांग्रेस लुम्बिनीका नेता देवकरणप्रसाद कलवारले चौधरीको पहलका कारण किसानले अनुदान वापतको रकम पाएको बताए । 

उनले भने, ‘हामी यहाँका जनप्रतिनिधि, उखु किसान गएर माननीय विनोद चौधरीसँग कुरा राख्यौं । उहाँले कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्नुभयो । अनुदान रकम भुक्तानी गर्न कृषि मन्त्री, सचिव, कोलेनिकाका प्रमुखसँग कुरा गर्नुभयो ।’

Advertisement

नेपालका उखु किसानले लामो समयदेखि भुक्तानीको समस्या झेल्दै आएका छन् । न उद्योगले उखुको पैसा समयमा दिन्छन् भने न त सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै दिने गर्छ । चिनी मिलहरुले समयमै भुक्तानी नगरिदिँदा पछिल्लो समय उखु किसानहरु बैकल्पिक कृषि पेशातर्फ जान थालेका छन् । 

सरकारी तहबाट पनि उखु किसानका समस्या सम्बोधन गर्ने गरी पहल नहुने गरेको गुनासो किसानहरुले गर्दै आएको बेला यसपटक नवलपरासीका किसानहरु भने समस्याबाट मुक्त भएका छन् । सरकारले दिने अनुदान वापतको रकम यसपटक किसानले समयमै पाएका छन् । चौधरी नवलपरासी पश्चिम–१ बाट साँसदमा निर्वाचित भएका हुन् । 

उनले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयलाई ताकेता गर्दै आएको कलवारको भनाई छ । उनले भने, ‘हामी यहाँका जनप्रतिनिधि, उखु किसान गएर माननीय विनोद चौधरीसँग कुरा राख्यौं । उहाँले कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्नुभयो । अनुदान रकम भुक्तानी गर्न कृषि मन्त्री, सचिव, कोलेनिकाका प्रमुखसँग कुरा गर्नुभयो ।’

कृषि मन्त्रालयले कृषि विभागमार्फत नवलपरासी पश्चिममा १५ करोड १२ लाख १५ हजार ५५८ रुपियाँ अनुदान रकम वितरण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासीले जनाएको छ । 

‘दशैं अगाडि नै कृषि विभागबाट १५ करोड रुपियाँको अख्तियारी आएको हो । त्यसपछि हामीले उद्योगबाट किसानको विवरण मागेर डकुमेण्ट रुजु गरेर वितरण सुरु गरिसकेका छौं,’ जिल्ला कोलेनिका प्रमुख परशुराम नेपालले भने । उनका अनुसार पश्चिम नवलपरासीमा ६ हजार १९४ किसानका लागि अनुदान रकम आएको हो । 

कृषि मन्त्रालयले आर्थिक बर्ष ०७९–८० का लागि अनुदान रकम प्रतिक्विन्टर ७० रुपियाँ तोकेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुदान रकम वितरण गरिएको हो । चिनी उद्योगबाट प्राप्त विवरणका आधारमा किसानको बैंक खातामा अनुदान रकम पठाउने काम भइरहेको समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले उल्लेख गरे । 

उनले भने, ‘उखु किसानलाई दिने रकम निकासा भइसकेको छ । उनीहरुको बैकिङ खातामा रकम निकासा गरेका छौं ।’ 

Advertisement

Advertisement