सतिशलाल र आजियटाबीच कम्बोडियाको स्मार्ट र एनसेलको शेयर ‘बार्टर’ भएको खुलासा

Advertisement

काठमाडौं । टेलिकम व्यवसायी सतिशलाल आचार्य र मलेसियन बहुर्राष्ट्रिय कम्पनी आजियटा लिमिटेडले कम्बोडियन दूरसञ्चार कम्पनी स्मार्ट आजियटा कम्पनी र नेपालको एनसेल आजियटा लिमिटेडको शेयर सट्टापट्टा (बार्टर) भएको खुलासा भएको छ । 
  
कम्बोडियाको स्मार्टमा सतिशको पनि लगानी थियो । उक्त लगानी आजियटालाई दिएर सतिशले एनसेलको शेयर लिएको स्रोतको भनाई छ । उनका अनुसार सतिशको कम्बोडियन कम्पनीमा लगानी थियो । आजियटाले नेपालको प्रतिकुल परिस्थितिको कारण एनसेलबाट लगानी फिर्ता लैजाने इच्छा प्रकट गरेपछि उनीहरुले शेयर सट्टापट्टा गरेर मिलाएका हुन् । 

स्रोतको भनाई छ, ‘आजियटाले छोड्ने क्रममा एनसेलको शेयर किन कम मूल्यमा बिक्री गरियो ? भन्ने तपाइँहरुको प्रश्न छ नि । खास कारण यही नै हो । कति मूल्यमा बार्टर भएको हो ? म पछि भनौला ।’ स्मार्ट र एनसेलको शेयर बार्टर गर्न उनीहरुबीच सहमति भए पनि औपचारिकरुपमा कारोबार भइसकेको कुराको भने अझै पुष्टि भएको छैन् । 

Advertisement

एनसेल र आजियटाद्धारा केही दिनअघि जारी संयुक्त विज्ञप्तिमा एनसेल आजियटा लिमिटेडमा रहेको आजियटाको ८० प्रतिशत शेयर बेलायतस्थित सतिशको स्पेक्ट्रलाइट यूके लिमिटेडले खरिद गरेको दावी गरिएको थियो । यसअघि सन् २०१५ मा १.०३ बिलियन डलरमा किनबेच भएको शेयर अहिले निकै सस्तोमा बिक्री भएपछि आमा मानिसहरुमा आशंका र चासो बढेर गएको छ । धेरै मानिसले कर छलीका लागि यस्तो कारोबार भएको भन्दै छानविन गरी कारवाही हुनुपर्ने माग गर्दै आएका छन् । 

आजियटाले भने नेपालमा लगानीको बातावरण नभएकाले आफूले लगानी फिर्ता लैजानुपरेको दावी गरेको छ । सतिशलाल एनसेलको स्थानीय साझेदार कम्पनी सुनिभेरा क्यापिटल भेन्चरकी लगानीकर्ता भावना सिंह श्रेष्ठको पति हुन् जो सिंगापुरमा रहेर गैरआवासीय नेपालीको रुपमा नेपालमा व्यवसाय गर्दै आएका छन् । 

Advertisement

Advertisement