अर्थ मन्त्रालयले २६ हजार दरबन्दी थप्न स्वीकृति नदिए ठूला अस्पतालहरु बन्द हुन्छन्ः स्वास्थ्यसचिव

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताएका छन् । 

मंगलवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले अर्थ मन्त्रालयमा सो दरबन्दीका लागि आफूहरुले गरेको प्रश्ताव स्वीकृत नभए पाँच सय शैय्यामा केन्द्रीय अस्पतालहरु बन्द हुने अवस्था रहेको समेत स्पष्ट पारे । 

Advertisement

हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि पठाइएको सो प्रश्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नैपर्ने सचिव पोखरेलको भनाई थियो । उनले सो दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन पनि समितिका सदस्यहरुसँग आग्रह गरे । 

पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विशेषज्ञसहित ५ जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको पनि बताए । त्यसैगरी, अस्पतालहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने नीतिमा भनिए पनि कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको उनले बताए । 

पोखरेलले भने, ‘अर्को एउटा नीतिमा आएको हामीले नसक्ने काम पनि छ । प्रत्येक स्थानीय तहमा विशेषज्ञ ५ जना डाक्टर पठाउनु भन्ने पनि नीतिमा आयो जुन सम्भव छैन् । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म अस्तापताल खोल्नु भन्ने पनि आयो । त्यो कसरी सम्भव होला ? यसमा चाहिँ माननीय ज्युहरुसँग छलफल भएर आए हामीलाई पनि काम गर्न सजिलो होला । मुख्य अर्थ मन्त्रालयबाट यो दरबन्दी र ओएनएमलाई पास गर्नका लागि सहयोग पुर्याई दिनुहुन्छ भनेर मैले अन्तिम अनुरोध गरेँ ।’ 

बैठकमा सांसदहरुले रोग लाग्नै नदिने गरी जनचेतनामुलक कार्यक्रम सञ्चालनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद तथा पूर्वमन्त्री विमला पौडेल (राई) ले जनचेतनामुलक कार्यक्रममा ध्यान दिएर निरोगी नेपाल बनाउने अभियानमा जोड दिनुपर्ने बताइन् । 

उनले भनिन्, ‘अब यो नसर्ने रोगको विषयमा खानपान, जीवनशैलीसँग गाँसिएको विषय भएको हुनाले नमा बढी ध्यान दिनुपर्ने भएकाले यसमा जनचेतनामा नै जोड दिनुपर्छ भन्ने मलाई लागेको छ । हामीले रोग नै लाग्न नदिने कुरामा बढी ध्यान दिनुपर्ने हुन्छ जस्तो लाग्छ मलाई । यसका लागि स्कुल एजुकेशन इम्पोटेन्ट होला । यतातिर ध्यान पुगेको छैन कि जस्तो मलाई लागिरहेको छ ।’

सत्तासाझेदार एकीकृत समाजवादीकी मदनकुमारी साहले जिल्लामा रहेका सरकारी अस्पतालहरु बन्द हुने अवस्थामा पुग्दा पनि संवेदनशील नभएको भन्दै सरकारको आलोचना गरिन । उनले क्षेत्रीयस्तरमा रहेका आयुर्वेद अस्पतालहरुबाट जनताले सेवा लिन नपाएकोतर्फ पनि सरकारलाई सचेत गरायन् । 

Advertisement