‘यो सत्ता गठवन्धन जनताका दुःख पार लगाउन होइन्, शक्ति सन्तुलनका लागि मात्रै बनाएको हो’

Advertisement

काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न पनि नसकिने बताएका छन् । सोमवार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको बताउँदै यसले जनताका दुःख पार नलगाउने बताएका हुन् । 

माधव नेपालले शक्ति सन्तुलनका लागि मात्रै अहिलेका गठबन्धनमा राजनीतिक दलहरुको एकतालाई बलियो बनाइएको बताउँदै सोही सन्तुलनका कारण यो गठबन्धनलाई कसैले ढाल्न नसक्ने दाबीसमेत गरे । ​संघीयता, संविधानका पक्षपोषकहरु एक ठाउँमा उभिएर अघि बढ्न आवश्यक रहेको माधव नेपालको तर्क छ ।

Advertisement

उनले भने, ‘गठबन्धनलाई कसैले ढाल्न सक्दैन । अहिले कुनै विकल्प छैन । संविधानका पक्षपोषकहरु को हुन् ? संघीयताका पक्षपोषक को हुन् ? ती मित्र नभएर शत्रु हुन्छन् ? त्यसैले अहिले हामी सहकार्य गर्दै अघि बढिरहेका छौँ । तर एउटा कुरा पक्का छ । यो गठबन्धनले नै जनताका पीडा पार लगाउँछ भन्ने सोच्ने होइन । यो गठबन्धन भनेको अहिलेको शक्ति सन्तुलनको आवश्यकता हो । यो शक्ति सन्तुलनको आवश्यकतामा हामीसँग विचार मिल्नेहरु अहिलेको राजनीतिक यथार्थतामा सँगै जान सक्नेहरुलाई साथमा लिएर जाने हो । यस अर्थमा हामी अहिलेका जति पनि राजनीतिक दलहरु छन् । तिनीहरुमध्ये अहिले सामेल भएका दलहरुबीचमा एकतालाई बलियो बनाउन चाहिरहेका छौँ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले नेकपा एमालेलाई शत्रु नठानेको भन्दै आफूलाई नोक्सान पुर्याउन खोजेमा प्रतिवाद मात्रै गर्ने गरेको बताए । 

Advertisement

Advertisement