अबको बजेटमा मधेसलाई विशेष व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन

Advertisement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेसलाई विशेष व्यवस्था गर्ने आश्वासन दिएका छन् । धनुषाको सबैला र सिरहाको कल्याणपुर जोड्ने पक्की पुलको शिलान्यास गर्दै शनिबार उनले सो आश्वासन दिएका हुन् । 

आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीररुपमा लिएको उल्लेख गर्दै दाहालले तराईमा सिँचाइ, मलबीउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने बताए । 
     
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न बृहत् आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै बूढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता ‘गेम चेन्जर’ आयोजना निर्माणका काम यथासक्य चाँडो अगाडि बढाइने बताए । 

Advertisement

दाहालले भने, ‘मधेसको विकासबिना देशको विकास सम्भव छैन् । मधेसको मुक्तिबिना देशको मुक्ति सम्भव छैन् । मसेधी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन् ।’ सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै उनले मधेसी जनताको मत लिएर गणतन्त्रको संविधान निर्माण गर्न पाएकामा गर्व लागेको बताए । 

चालीस वर्षअगाडि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै दाहालले सबैला, वस्तीपुरलगायत क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको बताए । सिरहा र धनुषाका लागि पुल निर्माण महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताए । 
 

Advertisement

Advertisement