विश्वासको मत पाएपछि प्रफुल्ल प्रधानमन्त्रीको प्रतिक्रियाः मेरो जिम्मेवारी बढ्यो

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिए । 

बुधवार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिए । दाहालले राष्ट्र र जनताको पक्षमा राम्रो काम तीब्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताए । 

Advertisement

उनले काँधमा जिम्मेवारी थपिएको बताए । दाहालले संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको पनि बताए । उनले भने, ‘आजको संसदमा जिवन्त रुपले लोकतान्त्रिक अभ्यास भयो । बडो राम्रो संयमित वातावरणमा । यसले हाम्रो लोकतन्त्र अझ सजिव बनेको छ । अझ सुदृढ बनेको छ भन्ने मैले महशुस गरेको छु । मलाई प्रधानमन्त्रीको रुपमा जसरी विश्वासको मत प्राप्त भएको छ । तीन पटक, तीनवटा अलग अलग अनुभुति र अलग अलग अनुभव पनि भए ।’ 

दाहालले थपे, ‘पहिलो पटकको अनुभव मैले पुरानै गठबन्धन बाट नै प्रधानमन्त्री बन्ने अन्तिम तयारी गरेको बेलामा नै अन्तिम घडीमा बालकोटमा गएर केपी ओलीजी लगायतको समर्थनमा म प्रधानमन्त्री बने । दोस्रो पटक पुरानै गठबन्धनमा फर्किएपछि झन्डैझन्डै शतप्रतिशत समर्थन मलाई प्राप्त भयो । विश्वासको मत यो रुपमा सदनबाट दुईजना छोडेर बाँकी सबैको समर्थन प्राप्त हुनेकुरा पनि नेपालको इतिहासमा एउटा असाधारण र अभुतपूर्व परिघटना थियो । मैले त्यो अनुभुति पनि गरेँ । सम्पूर्ण सदनको नै समर्थन हुँदा कस्तो हुँदोरहेछ नेतृत्वलाई भन्ने कुराको सकारात्मक, सुखद अनुभुति पनि गरेँ । आज फेरी नयाँ राजनीतिक समिकरणसहित विश्वासको मत लिदाँखेरीको अनुभव अझ बढी लोकतान्त्रिक ढंगले सजिव रह्यो । मेरो जिम्मेवारी अझ बढेको छ । राष्ट्र र जनताको पक्षमा राम्रा काम तिव्र गतिमा पुरा गर्ने, अगाडी बढाउने जिम्मेवारी हो यो । मेरो काँधमा जिम्मेवारी थपिएको छ । म सदनप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

Advertisement