ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छुः मन्त्री भण्डारी

Advertisement

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् ।   

ढुवानी व्यवसायी महासंघ नेपालको मागपत्र बुझ्दै ढुवानी व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । उनले ढुवानी व्यवसायी महासङ्घका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गरे । 

Advertisement

मन्त्री भण्डारीले ढुवानी व्यवसायीले बजारमा एकाधिकार जमाएर अरु व्यवसायीलाई आउन नदिएको गुनासो आएको उल्लेख गर्दै ढुवानीमा रहेको एकाधिकार हटाएर सहज वातावरण निर्माण गर्न आग्रह गरे ।  

त्यसअवसरमा व्यवसायीहरुले आर्थिक वर्ष २०७६/७७ मा आफूहरुले मूल्य अभिवृद्धि कर नलिए पनि सरकारले तिर्नुपर्ने देखाएको भन्दै मिनाहाका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको महासंघका अध्यक्ष माधव नेपालले बताए ।  

चालु आवमा सरकारले सो १३ प्रतिशत मूल्य अभिवृद्धि करलाई ‘स्किम’ का रुपमा पाँच प्रतिशत तिर्न भने पनि आफूहरुले सो अनुसारले कारोबार नगरेकाले मिनाहाका लागि सरकार समक्ष माग गरेको उनले बताए ।  

ढुवानीमा सरकारले मूल्य अभिवृद्धि कर लगाउने निर्णयले समग्र ढुवानी व्यवसायी प्रत्यक्ष मारमा परेको अवस्था रहेको भन्दै ढुवानी व्यवसायी महासंघले त्यसको खारेजीको माग गरेको छ । सो करले समग्र व्यापार व्यवसाय तथा आम उपभोक्तामा महङ्गी सिर्जना गरेको महासंघको भनाइ छ । 

महासंघले देशका ठूला सहरमा ढुवानी ग्राम बनाउन पनि माग गरेको छ । नमूनाका रुपमा बुटबलमा सरकार र ढुवानी व्यवसायीको लगानीमा रु ३० करोड लागतमा ढुवानी ग्राम निर्माणधीन रहेको अध्यक्ष नेपालले बताए । यस्तै उनले मन्त्री भण्डारी समक्ष सबै ढुवानी व्यवसायीलाई एकै बनाइएकामा यसले साना व्यवसायीलाई मर्का परेको भन्दै महासंघले ढुवानी व्यवसायीको वर्गीकरणको माग गरे ।  

साथै महासंघका महासचिव पुष्पराज श्रेष्ठद्वारा हस्ताक्षरित मागपत्रमा करयोग्य आय गणना गर्दा खर्च कटौती पाउने व्यवस्था मिलाउन आग्रह गर्दै ढुवानी क्षेत्रका समस्यालाई दीर्घकालीन रुपमा समाधान गरिदिन माग गरिएको छ । 

Advertisement

Advertisement