‘...त्यसपछि नै राष्ट्र बैंकको स्वायत्तताको कुरा बढी उठ्न थालेको हो । वित्तीय क्षेत्र सम्हाल्नुपर्ने निकाय शक्तिशाली हुनुपर्छ भन्ने कुरा उठ्न थाल्यो । बैंक वित्तीय संस्थाको छाता ऐन ल्याउने, राष्ट्र बैंक ऐन ल्याउने काम मेरो कार्यकालमा भयो । त्यसपछि नै राष्ट्र बैंक शक्तिशाली भएको हो । त्यसअघि राष्ट्र बैंक अर्थ मन्त्रालयको शाखाजस्तो थियो ।’

त्यो घटना जसले राष्ट्र बैंकलाई शक्तिशाली बनायो

Advertisement

–डा. तिलक रावल
पूर्वगभर्नर, नेपाल राष्ट्र बैंक
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई दोस्रोपटक प्रधानमन्त्री हुँदा २०५६ माघ ४ गते नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त भएँ । त्यतिबेला राष्ट्र बैंकमा सुधारका धेरै काम थालनी गर्नुपर्ने थियो । त्यसको आरम्भ हामीले गरेका थियौं । त्यसका लागि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको समेत सहयोग उपलब्ध हुने प्रतिबद्धता थियो । देशी–विदेशी संस्थासँग मिलेर वित्तीय क्षेत्रको सुधार कार्यक्रम अघि बढाउनुपर्ने थियो । त्यतिबेला वित्तीय क्षेत्र सुधार कार्यक्रमको केन्द्र बिन्दुमा सरकारको पूर्ण र आंशिक स्वामित्वमा रहका दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र  नेपाल बैंक थिए । त्यतिबेला खासगरी राष्ट्रिय वाणिज्य बैंकको स्थिति कहालीलाग्दो थियो । मुनाफा आर्जन गर्न सकेको थिएन । खराब कर्जा २५÷३० प्रतिशत पुगिसकेको थियो । निक्षेप अर्बौंमा थियो । तर, कुनै ठूलो ग्राहकले २–३ करोडको चेक काट्यो भने भुक्तानी दिन सक्ने अवस्था थिएन । निक्षेपकर्ताबाट उठाएको अर्बौं रकम ऋण प्रवाह भयो, जुन फिर्ता आएन । न ब्याज आएको थियो न किस्ता आएको थियो । त्यो नभएपछि शंकास्पद कोषको व्यवस्था गर्नुप¥यो । त्यसले गर्दा दुईवटै बैंक ठूलो दबाबमा थिए । 

राष्ट्र बैंकको गभर्नर हुनुअघि म राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष भएर भूमिका निर्वाह गरेको थिए । विसं. २०४६ को राजनीतिक परिवर्तनपछि देशमा नयाँ वातावरण सिर्जना भएको थियो । कर्मचारीहरूले पनि आफ्नो हकहितको कुरा निकै जोडका साथ उठाइरहेका थिए । राष्ट्रिय वाणिज्य बैंक कुनै पार्टीको कार्यालय हो कि ? जस्तो भएको थियो । शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा नै वाणिज्य बैंकमा मेरो नियुक्ति चाँडै हुनुपर्छ भन्ने सदिक्षा कृष्णप्रसाद भट्टराईको थियो । देउवा र म एकअर्काका हितैसी र शुभचिन्तक पनि थियौं । यद्यपि अहिले फरक स्थिति छ । उहाँमा पनि मलाई चाँडै जिम्मेवारी दिनुपर्छ भन्ने मनस्थिति थियो । त्यसबखत विद्यार्थी कालदेखिका साथी रामशरण महत अर्थमन्त्री हुनुभयो । त्यो भएकाले सहजै मेरो अध्यक्षमा नियुक्ति भयो । 

Advertisement

तर, मलाई वाणिज्य बैंकमा खासै जान मन थिएन । किनभने त्यसअघि नै कृषि विकास बैंकमा समेत कार्यकारी प्रमुख भएर काम गरिसकेको थिएँ । नियुक्ति भएपछि पनि म तीन दिन कार्यालय गइनँ । प्रधानमन्त्री देउवाले ‘वाणिज्य बैंक बनाए डा. रावलले बनाउँछ, नबनाए मृत्यु हुन्छ’ भनेर भन्नुभयो । अर्थमन्त्री महतले पनि मन्त्रालयमै बोलाएर जान सल्लाह दिनुभयो । किसुनजीको पनि त्यही मनसाय छ भन्ने थाहा पाएपछि गएँ । जाँदा कहालीलाग्दो अवस्था थियो । अनिवार्य नगद मौज्दात (सीआआर) मा राख्ने पैसा पनि थिएन । त्यो राख्न नसकेको भनेर राष्ट्र बैंकले जरिवाना गरिराख्थ्यो । तत्कालीन गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई भेट्न गएँ र ११ प्रतिशत ब्याजदर तिर्ने गरी ऋण मागें । त्यो पैसा सीआरआर कायम गर्न राष्ट्र बैंकमै जम्मा गरेर फर्किएँ । ठूलो निक्षेपकर्ताले भुक्तानी माग्दा दिन सक्ने अवस्था नभएकाले कर्जा प्रवाहमा रोक लगाएँ । विपन्न वर्ग र प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जा भने रोकिनँ । र, ऋण असुली वर्ष घोषणा गरें । 

असुली वर्ष घोषणा गरेर कडाइका साथ काम गर्न थालेपछि राष्ट्रिय वाणिज्य बैंकको तरलतामा सुधार आउन थाल्यो । त्यसपछि ऋण पनि प्रवाह गर्न थाल्यौं । एक वर्ष काम गरिसक्दा १६ करोड मुनाफा पनि गरेर देखाएँ, जुन ठूलो उपलब्धि थियो । यो कसरी सम्भव भयो ? भनेर राष्ट्र बैंकदेखि अर्थ मन्त्रालयसम्म चर्चा हुन थाल्यो । त्यतिबेला अर्थमन्त्रीमा महेश आचार्य आइसक्नुभएको थियो । उहाँले मुनाफालाई आशंकाका रूपमा हेर्नुभएछ । भेट हुँदा मैले भनें, ‘विगतका वर्षमा जुन तौरतरिका र नीति–नियम अवलम्बन गरेर खराब कर्जाका लागि शंकास्पद कोषको व्यवस्था गरिन्थ्यो, त्यही आधारमा मैले काम गरेको हो, मैले किन मुनाफा देखाउन नपाउने ?’ पछि के–के गरेर त्यो मुनाफा घटाउने काम गरियो । 

त्यही सफलतापछि वाणिज्य बैंक नयाँ ऊर्जाका साथ अघि बढ्न थाल्यो । यसबीचमा कर्मचारीसँग दुई÷दुईपटक युद्ध नै गर्नुप¥यो । त्यसविरुद्ध मैले कडा कदम चाल्नुप¥यो । अन्तिममा सबै विचारधाराका कर्मचारी संगठनसँग मेरो मिलाप भयो । ‘आन्दोलनले क्षति संस्थालाई नै हुने रहेछ’ भन्ने अनुभूति उहाँहरूमा पनि भयो । जहाँबाट आफू र आफ्नो परिवार पालिरहेका छौं, त्यही संस्था रहेन भने के होला ? भन्ने चेत कर्मचारीहरूमा पनि पलायो । राष्ट्रिय वाणिज्य बैंकमा सुधार आउन थालेसँगै सरकारसँग हामीले पुँजीको व्यवस्था गरिदिन आग्रह पनि ग¥यौं । किनभने पूँजीको स्थिति राम्रो थिएन् । खुद सम्पत्ति ऋणात्मक थियो । 

त्यसअघि कृषि विकास बैंकको जीएम (महाप्रबन्धक) भएर जाँदा पनि सो बैंकको अवस्था उस्तै थियो । किसुनजी अन्तरिम सरकारको प्रधानमन्त्री हुँदा मलाई नियुक्ति दिइएको थियो । बैंकको कागजमा पैसा पनि देखिन्छ । मुनाफा पनि गरेको देखिन्छ । तर सबै ‘एक्युरल बेसिस’मा देखिन्थ्यो । कसैले ऋण लग्यो भने ब्याज नतिर्दै ब्याज आएको भनेर ‘एक्युरल बेसिस’ मा आम्दानी देखाइएको हुन्थ्यो । कर्मचारीको सञ्चित बिदाको भुक्तानी दिने नगद थिएन । त्यो दिनका लागि अन्तरबैंक सापटी लिएँ । भर्खर बहुदल आएकाले कर्मचारीमा राजनीतिक माहौल थियो । आन्दोलन गरिरहेका थिए बैंकभित्र । त्यसमाथि साना किसान र साना व्यवसायी आएर बैंक घेर्थे । आन्दोलित सबैसँग जुध्दै कृषि विकास बैंकलाई सुधारको बाटोमा अघि बढाएँ । ऋणलाई सकेसम्म नियन्त्रणमा राखेर असुलीमा जोड दिएकाले धेरै सुधार भयो । त्यो अनुभव पनि मसँग थियो । 

गभर्नर यात्राका उतार चढाव
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा मेरो समय सकिएपछि घरमा बसेको थिएँ । त्यसपछि म गभर्नर बन्ने विषय चल्यो । कृष्णप्रसाद भट्टराई दोस्रोपटक प्रधानमन्त्री बनेपछि ‘यो लायक मान्छे हो, बेइमान गर्दैन’ भन्ने लाग्यो क्यारे । यसकारण उहाँ मलाई गभर्नर बनाउन चाहनुहुन्थ्यो । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाउँदा नै ‘बरु गभर्नर बन्न पाए राम्रो हुन्थ्यो, धेरै कुरा गरेर देखाउन सकिन्थ्यो कि’ भन्ने मलाई लागेको थियो । किसुनजीले त्यसबेला नै ‘अहिले राष्ट्रिय वाणिज्य बैंकमा अनुभव हुन्छ, त्यसपछि....’ भन्नुभयो । किसुनजी पुनः प्रधानमन्त्री बन्नु मेरो भाग्य हो । महेश आचार्य अर्थमन्त्री बन्नुभयो । तर, आचार्यले चाहिँ मलाई गभर्नर बनाउन चाहनुभएन । त्यसका विभिन्न कारण थिए । किसुनजीले भने अडान लिई मलाई गभर्नर बनाएरै छोड्नुभयो । त्यसपछि सोही कुरामा उहाँले अर्थमन्त्रीबाट राजीनामा दिनुभयो । सो समयमा मलाई गभर्नर बन्न देउवाले पनि सहयोग नै गर्नुभएको हो । 

राष्ट्र बैंकमा पनि अवस्था तरल नै थियो । यद्यपि कर्मचारीलाई कसरी तलब खुवाउने ? भन्ने झन्झट भएन । युनियनहरू पनि त्यति उग्र रूपमा प्रस्तुत हुने र समस्या खडा गर्ने खालका थिएनन् । राष्ट्र बैंकमा मेरो मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकसँग मिलेर वित्तीय क्षेत्र सुधार कार्यक्रम आरम्भ गर्नु थियो । केन्द्रबिन्दुमा सरकारी दुई बैंक नै थिए । नेपाल बैंक र र राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापन सम्हाल्न हामीले प्रतिस्पर्धाबाट दुई अन्तर्राष्ट्रिय कम्पनी छान्यौं । नेपाल बैंकमा स्कटल्यान्डको समूह आएर काम गर्न सुरु ग¥यो ।  तर, राष्ट्रिय वाणिज्य बैंकका लागि छानिएको समूह भने काम गर्न आएन । माओवादीको हिंसात्मक द्वन्द्व बढ्दो थियो । क्राउन भन्ने सुरक्षा एजेन्सीले ‘अहिले नेपालमा जान उपयुक्त छैन भनेर अध्ययन प्रतिवेदन दिएको छ’ भनेर त्यो समूहले नआउने पत्र पठायो । मैले भने, ‘तपाईंहरूजस्तै अर्को कम्पनी आएर नेपाल बैंकमा काम गरिरहेको छ, तपाईं किन नआउने ?’ 

छानिएको कम्पनीले धोका दिएको कुरा मैले विश्व बैंकका उच्च अधिकारीलाई सुनाए । तत्कालीन अमेरिकी राजदूतसँग पनि कुरा गरें । मैले उनीहरूलाई ‘धोका दिने कम्पनीबाट हर्जना असुल्ने छु’ भनेर भनेको पनि थिएँ । सोहीअनुसार १० लाख डलर तिराएँ । अमेरिकी राजदूतको एउटा आग्रह के थियो भने ‘यो चर्चित संस्था हो, जरिवाना गरेको कुरा प्रेसमा नआइदियोस् ।’ आज २० वर्षपछि मैले यो कुरा खुलासा गर्दैछु । मैले राष्ट्र बैंकलाई एक मिलियन डलर आम्दानी गराउनुको सट्टा दुई–चार लाख डलर लिएर चुप लागिदिएको भए उनीहरूले सहज रूपमा स्वीकार गर्थे । तर, मजस्तो मानिसलाई राष्ट्र बैंक छोडेको १७–१८ वर्षपछि पोलिमर नोटमा भ्रष्टाचार भएको नाममा बदनियतपूर्ण तरिकाले मुद्दा चलाइयो । कर्मचारीले एक–दुई हजार घुस लिएको नाममा मुद्दा हालेर आत्महत्या गर्न बाध्य बनाउने (नवीन घिमिरे) थिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख । नेताहरूको गुलामी गर्ने र साना मानिसहरूलाई दुःख दिने उनको प्रवृत्ति थियो । त्यही बेलामा मसँग काम गरेका डा. युवराज खतिवडा अर्थमन्त्री थिए । केपी ओली प्रधानमन्त्री । सायद कसैको अभीष्ट पूरा गर्न नै उनीहरूले यो गरेका हुन सक्छन् । यद्यपि, मैले अदालतबाट न्याय पाएँ । 

निलम्बन र पुनर्बहालीको कथा
जब म वित्तीय क्षेत्र सुधार कार्यक्रमसहित नीतिगत सुधारको काममा लागें, काम सुरु गरेको पाँच–छ महिनामै मलाई षड्यन्त्रपूर्वक भ्रष्टाचारको मुद्दा लगाइयो । गभर्नरबाट बर्खास्त गरियो । मेरो बर्खास्तीपछि दिपेन्द्रपुरुष ढकाललाई नियुक्त गरियो । किनभने त्यतिबेला राजनीति परिस्थिति फेरिएको थियो । किसुनजीलाई बलपूर्वक छोडाएर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री भएपछि नै उहाँले छोडिदिए हुन्थ्यो भन्ने संकेत पनि गरिसक्नुभएको थियो । त्यतिबेला पुनः महेश आचार्य अर्थमन्त्री भएर आउनुभएको थियो । उहाँलाई फोन गर्दा सम्पर्कमै आउन नचाहने, अर्थ मन्त्रालयमा फोन गर्दा ‘संसद्मा हुनुहुन्छ’ भन्ने । संसद्मा फोन गर्दा ‘मन्त्रालय हुनुहुन्छ’ भन्ने । मन्त्री क्वार्टरमा फोन गर्दा ‘बालुवाटार जानुभएको छ’ भने । 

बल्ल–बल्ल फोन सम्पर्कमा आएपछि मैले भनेँ, ‘अर्थतन्त्रको अवस्था यस्तो छ । तपाईंलाई भेटेर ब्रिफ गर्नुपर्ने । कहिले कहाँ भेटौं ?’ तर उहाँले ‘ठीक छ ठीक छ रावलजी’ भनेर स्पष्ट जवाफ दिनुभएन । मैले त्यसपछि गभर्नर भएको पाँच–छ महिनामा संस्था र राष्ट्रलाई के हानि गरें ? गर्नुपर्ने भूमिका के निर्वाह गरिन् ? तपाईं र प्रधानमन्त्रीसँगै बसेर एकपटक मलाई भन्दिनुप¥यो ।’ अर्को पटक उहाँले फोनमा ‘म छँदैछु, तपाईंलाई कतैै एडजस्ट गरौंला, सहयोग गरिदिनुप¥यो’ भनेर राजीनामा माग्दा मैले मानिनँ । त्यसपछि बर्खास्तीको निर्णय गरियो । रेडियोबाट सो कुरा मैले थाहा पाएँ । म त्यसविरुद्ध अदालत गएँ । जब मेरो मुद्दा न्यायाधीशहरू कृष्णजंग रायमाझी र टोपबहादुर सिंहको इजलासमा सुनुवाइ हुँदै थियो, त्यहाँ हल्ला चल्यो ‘अब रावलले न्याय पाउँछन् ।’ साँच्चिकै मैले न्याय पनि पाएँ । ती दुई जना न्यायाधीशले मेरो मुद्दा फैसला नगरेको भए मैले न्याय पाउँदिनँथें । पुनर्बहालीपछि मैले २०६१ साल माघ ४ गतेसम्म काम गरें । 

त्यसपछि नै राष्ट्र बैंकको स्वायत्तताको कुरा बढी उठ्न थालेको हो । वित्तीय क्षेत्र सम्हाल्नुपर्ने निकाय शक्तिशाली हुनुपर्छ भन्ने कुरा उठ्न थाल्यो । बैंक वित्तीय संस्थाको छाता ऐन ल्याउने, राष्ट्र बैंक ऐन ल्याउने काम मेरो कार्यकालमा भयो । त्यसपछि नै राष्ट्र बैंक शक्तिशाली भएको हो । त्यसअघि राष्ट्र बैंक अर्थ मन्त्रालयको शाखाजस्तो थियो । मपछि विजयनाथ भट्टराईलाई दुःख दिने प्रयास भयो । केही दिन महाप्रसाद अधिकारीलाई दुःख दिन खोजियो । मैले पनि आवाज उठाएँ । तर, ती दुवै प्रयास सफल भएनन् । राष्ट्र बैंक ऐन नआइदिएको भए कुनै पनि गभर्नरले पूरा कार्यकाल काम गर्न पाउने थिएनन् । यो म ठोकुवाका साथ भन्छु । नयाँ गभर्नरहरूलाई धेरै राहत भएको छ । 
 
त्यतिबेला वाणिज्य बैंक र राष्ट्र बैंकमा ठूला–ठूला व्यापारीहरू सञ्चालक थिए । उनीहरू सञ्चालक समिति विघटन गर्न मान्दैनथे । मैले कडा साथ प्रस्तुत भएर ‘कि सञ्चालक समिति छोड्नु, होइन भने अरू प्रहार खेप्नु पर्ला’ भनें । नेपाल बैंकको सञ्चालक समिति खारेज गरें । अलिकति मूर्ख स्वभावको भएकाले नै ती कामहरू गर्न सकियो । यस निर्णयबाट मैले केही मूल्य चुकाउनुपरे पनि वित्तीय क्षेत्रको सुधारका क्षेत्रमा राम्रै काम आरम्भ भयो । राष्ट्र बैंकको अनुगमन र सुपरीवेक्षणलाई दुई भागमा विभाजन गर्ने कि भन्नेमा पनि थिएँ । विश्वका कैयौं केन्द्रीय बैंकले यसलाई अलग्गै निकायमा राखेका छन् । हामीले भइरहेका बैंक तथा वित्तीय संस्थालाई राम्रोसँग अनुगमन र सुपरीवेक्षण गर्न सकिरहेका थिएनौं । यसलाई बलियो बनाउन टुक्राउने कुरा गरे पनि एकथरी मानिसहरूले किन टुक्राउने ? भनेपछि छाडिदिएँ । राष्ट्र बैंकमा हुँदा जे गरे, सक्दो गरें, राम्रै गरें भन्ने लाग्छ । 

राष्ट्र बैंकलाई कसरी प्रभावकारी बनाउने ?
गभर्नर र अर्थमन्त्रालयको बीचमा खटपट अरु देशमा पनि हुन्छ । त्यो आर्थिक वृद्धि, वित्तीय स्थायित्वको मुद्दामा एउटा हदसम्म भएको विवादलाई अन्यथा लिन हुन्न । राजनीतिक र अन्य स्वार्थको विवाद हो भने त्यो अनावश्यक हो । अर्थ मन्त्रालय बजेटमार्फत आर्थिक वृद्धिदर बढोस् भन्ने चाहन्छ । राष्ट्र बैंक ऐनमा बजेटमा तारतम्य मिलाएर मौद्रिक नीति ल्याउने कुरा उल्लेख छ । सम्भव भएसम्म सरकारका क्रियाकलापलाई सहयोग र आर्थिक वृद्धि कायम हुने गरी राष्ट्र बैंकले काम गर्नुपर्छ । तर, राष्ट्र बैकको मुख्य दायित्य आर्थिक स्थायित्व कायम गर्नु हो । त्यसबाट बिचलित भने हुनुहुन्न ।  

राष्ट्र बैंकलाई सबल र सफल बनाउन हामीले काम गर्नुपर्ने स्थिति छ । हुन त अहिलेका गभर्नर राष्ट्र बैंकमै काम गरेका अनुभवी हुनुहुन्छ । कोरोना महामारीका बेला विश्व अर्थतन्त्र नै प्रभावित भयो । धेरै देशले ठूला–ठूला राहत प्याकेजका नयाँ योजना ल्याए । चीन र भारतले पनि ठूलो रकम खर्च ग¥यो । तर, हाम्रो देशमा बजेटबाट सो क्षेत्रमा केही पनि भएन । त्यतिखेर राष्ट्र बैंकको मौद्रिक नीतिबाट केही भरथेग गर्न खोजियो, जुन त्यतिबेला स्वागतयोग्य भनिए पनि अहिले टीकाटिप्पणी भइरहेको छ । मलाई लाग्छ, राष्ट्र बैंकले खुद्रे नीति लिनु हँुदैन । अब कोही गएर आन्दोलन गर्छ वा दबाब दिन्छ भन्दैमा खुकुलो बन्नु हुँदैन । बजारको स्थिति विश्लेषण गरेर आफ्ना नीतिलाई परिवर्तन गर्ने हो । अहिलेको वित्तीय स्थिति हेर्ने हो भने केही गाँठो परेका छन् । यी गाँठालाई केन्द्रीय बैंकले खोलिदिनुपर्छ । मौद्रिक नीतिमा परिवर्तन गरी केही सहज गर्न आवश्यक छ । वित्तीय क्षेत्र बिग्रियो भने सरकारलाई ठूलो धक्का लाग्छ । 

बैंक वित्तीय संस्थाहरूको स्थिति पनि सबल बनाउनुपर्ने अवस्था देखिइसकेको छ । यसका लागि वित्तीय क्षेत्रमा पनि व्यापारको मार्ग खोलिदिनुपर्छ । त्यसपछि विश्वस्तरका ख्यातिप्राप्त बैंकहरू यहाँ आएर काम गर्न सक्छन् । अहिलेको जस्तो नेपाल एसबीआई बैंक, स्ट्यान्र्डर्ड चार्टर्ड बैंकजस्तो होइन, शाखा नै खोलेर काम गर्न सक्ने हुन्छन् । अन्य देशका बैंकले पालना गर्ने नियम हाम्रो देशका बैंकले पनि पालना गर्नुपर्छ भनेर नियम बनेको छ । चुक्ता पुँजीलाई पनि बढाउनुपर्छ भनेर प्रक्रिया अघि बढायौं । मर्जरको नीति ल्यायौं । यसको कार्यान्वयन पनि हुँदै गयो ।

जहाँसम्म विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले हाम्रा लागि राम्रा सर्तहरू राख्छन् भने मान्ने हो । तर, नचाहिँदा सर्त मान्नु जरुरी छैन । म पदमा बहाल रहँदा कहिल्यै पनि मानिनँ । त्यो बेलामा ऋण लिएर दर्जनौं परामर्शदाता राख्ने सर्त उनीहरूले राखेका थिए । तर, मैले मानिनँ । सरकारलाई भारी बोकाउन चाहिनँ । चाहे अमेरिकी अनुदानको एमसीसी होस्, चाहे चिनियाँ बीआरआई योजना होस्, भारतीय पैसाको कुनै योजना नै किन नहोस्, जबसम्म राष्ट्रहितलाई असर गर्दैन, पैसा लिन डराउनु पर्दैन । राष्ट्र हितविपरीत हुने रकमलाई स्वीकार गर्नुहुन्न । 

कर्पोरेट नेपालको दसौं वार्षिकोत्सवमा प्रकाशित जर्नल बुक ‘कर्पोरेट कल्चर’बाट

यो पनि पढ्नुहोस्ः

असल कर्पोरेट संस्कृति विकासमा कानुन पेसाकर्मीको भूमिका

आन्तरिक बजार खुम्चिँदा निर्याततर्फ सिमेन्ट उद्योग

नेपालमा कर्पोरेट कल्चर र हाम्रो लेखापरीक्षणको स्तर

कम्पनीसचिव संस्थागत सुशासनको ‘वाचडग’

नेपालमा सहि ढंगले जलविद्युत विकास किन भएन ?

नेपालमा बन्न नसकेको विकासको ‘ब्ल्यू प्रिन्ट’

‘कर्पोरेट अभ्यास’ गर्न नपाई खेर गएका तीन दशक

नेपालमा व्यावसायिक संस्कारको मार्गचित्र

सम्पादकीयः मिडियामा व्यावसायिक संस्कार र ‘कर्पोरेट नेपाल’

Advertisement

Advertisement