भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन

Advertisement

काठमाडौँ, ११ माघ । भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण कार्यक्रम सञ्चालनका लागि आवश्यक तथ्याङ्कीय आधार तयार गर्ने उद्देश्यले दोलखाबाट भूकम्पप्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रम सुरु भएको छ । 

ती कार्यक्रमअन्तर्गत भूकम्पबाट अति प्रभावित १४ जिल्लामा रहेका सबै आवासीय घरको तालिमप्राप्त इन्जिनियरबाट विस्तृत जाँच गर्ने र ती घरमा बस्ने परिवारको आर्थिक, सामाजिक र जनसाङ्ख्यिक विवरण लिइनेछ ।

Advertisement

लगत सङ्कलन कार्यक्रम अर्थ मन्त्रालय र विश्व बैंकबीच भएको सम्झौता बमोजिम सङ्घीय मामिला तथा स्थानीय विकास, सहरी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको सहकार्यमा समन्वयात्मक रुपमा सञ्चालन भइरहेको छ । 

कार्यक्रमको पूर्वतयारीदेखि नतिजा प्रकाशनसम्मका हरेक क्रियाकलापलाई उच्च तहबाट आवश्यक मार्गदर्शन, समन्वय तथा अनुगमन गर्न योजना आयोगका सदस्य सचिवको अध्यक्षतामा निर्देशक समिति गठन भएको र केन्द्रीय तथ्याङ्क विभागले सर्भेक्षणको स्थलगत कार्य सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।
    
सो कार्यक्रमका लागि अन्तर्राष्ट्रिय दातृ निकायका तर्फबाट विश्व बैंकले संयुक्त राष्ट्र सङ्घीय परियोजना सेवामार्फत जनशक्ति र अन्य आवश्यक सामग्रीको व्यवस्था मिलाएको छ ।

यस कार्यमा परियोजना सेवामार्फत राष्ट्रिय गैरसरकारी संस्था स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्च र काठमाडौँ लिभिङ ल्याब पनि संलग्न रहेको विभागका उप महानिर्देशक डा रूद्र सुवालले जानकारी दिए । 

यसरी तयार गरिएको तथ्याङ्कीय आधारबाट प्रत्येक आवासीय घरको क्षति विस्तृत आँकलन भई वास्तविक पीडितको पहिचान हुने र यसले पुनःनिर्माण कार्यक्रम यथाशीघ्र सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
    
साथै, सङ्कलित तथ्याङ्कका आधारमा आवासीय घर निर्माणका लागि मापदण्ड कायम गर्न भरपर्दो आधार खडा हुनेछ । त्यसैगरी सबै घरपरिवार तथा व्यक्तिको प्राप्त विवरणबाट सामाजिक सुरक्षा कार्यक्रमलगायत अन्य कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि समेत मद्दत पुग्नेछ ।

Advertisement

Advertisement