आर्थिक सर्वेक्षणः प्रतिव्यक्ति आय थोरै बढने अनुमान, संस्थानहरु राज्यलाई बोझ

Advertisement

काठमाडौंः नेपालीको प्रतिव्यक्ति आय बढेर ८६२ अमेरिकी डलर पुगेको सरकारको प्रारम्भिक अनुमान छ । अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा एक नेपालीको बार्षिक आम्दानी १० हजार ८१५ रुपियाँले बढेको उल्लेख छ । जसअनुसार नेपालीको औसत बार्षिक आम्दानी ८८ हजार ७८५ रुपियाँ छ । गत बर्ष यस्तो प्रतिव्यक्ति आय ७५७ डलर रहेको थियो ।

आर्थिक वृद्धि ६.९४ प्रतिशत पुग्ने अनुमान
चालु आवमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९.३७ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७०.६३ प्रतिशत रहेको अनुमान गरिएको छ । कुल गार्हस्थमा राजस्वको योग्दान पनि २२.३ प्रतिशत पुग्ने अनुमान गरिएको हो ।

सरकारले पुँजीगत खर्च वृद्धि भएको कृषि क्षेत्रमा वृद्धि भएको कारण आर्थिक वृद्धि ६.९४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । भूकम्प र नाकाबन्दीका कारण गत बर्ष आर्थिक वृद्धि ०.०१ प्रतिशत मात्र रहेको थियो ।

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक बर्षको पहिलो आठ महिनामा कुल सडक बिस्तार २९ हजार १५३ किलोमिटर पुगेको पर्यटक आगमन ४० प्रतिशतले बढेर सात लाख ५३ हजार पुगेको छ । यो समयमा विद्युत् आपूर्ती १०५.६१ मेगावाटले बढेर ९६१ मेगावाट पुगेको छ ।

सरकारी संस्थानहरु बोझ नै
सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरु सरकारले बोझ बनेका छन् । गएको आर्थिक बर्षको वित्तीय विवरणका आधार सरकारले प्रस्तुत गरेको विवरणमा यस्ता संस्थानहरुलाई सरकारले २१ अर्ब ७३ लाख रकम ऋणरुपमा थप गरेको छ । थपिएको रकमसँगै संस्थानहरुमा सरकारको कुल ऋण लगानी एक खर्ब ३० अर्ब पुगेको छ । त्यसबाहेक सरकारले एक खर्ब ४३ अर्ब लगानी गरेको छ । यद्यपि त्यसको प्रतिफल अन्तन्त न्यून रहेको छ ।

कमजोर व्यवस्थापन, भ्रष्टाचार, धेरै कर्मचारीका कारण सञ्चालन खर्च उच्च, प्रतिस्पर्धात्मक क्षमताको कमी जस्ता कारणले अधिकांश संस्थानहरुले राज्यलाई उचित प्रतिफल दिन सकेका छैनन ।

कुल संस्थानहरुमध्ये २३ नाफामा देखिए पनि १२ नोक्सानमै रहेका छन् । यति ठूलो लगानीमा सरकारले लाभांश वापत सात अर्ब ८१ करोड रुपियाँ मात्रै पाएको छ । जुन अधिकांश नेपाल टेलिकमबाट प्राप्त भएको हो । कुल लगानीको तुलनामा लाभांशको अनुपात ५.४ प्रतिशत मात्रै हो हो ।

सरकारी संस्थानहरुमा औद्योगिक क्षेत्र, व्यापारिक र जनोपयोगी क्षेत्रको आम्दानी भने घटेको छ । औद्योगिक क्षेत्रका दुग्ध बिकास संस्थान, जडबुटी उत्पादन, हेटौंडा सिमेन्ट, नेपाल औषधि, उदयपुर सिमेन्ट र नेपाल ओरिण्ड म्याग्नेसाइडको सञ्चालन आम्दानी घटेर छ अर्ब ४३ करोडमा सीमित भएको छ ।

कृषि सामग्री कम्पनी, राष्ट्रिय बीउ बिजन कम्पनी, नेशनल ट्रेडिङ, नेपाल खाद्य संस्थान, नेपाल आयल निगम, टिम्बर कर्पोशन रहेको व्यापारिक क्षेत्रका कम्पनीको सञ्चालन आय २९ प्रतिशतले घटेर १ खर्ब ७ अर्बमा सीमित भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल बायुसेवा निगम, औद्योगिक क्षेत्र व्यवस्थापन, नेपाल पारवहन तथा गोदाम व्यवस्था, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक बिकास केन्द्र, नेपाल इञ्जिनियरिङ कन्सल्ट्यान्सी रहेको सेवा क्षेत्रका कम्पनीहरुको कुल सञ्चालन आर्जन १४ प्रतिशतले बढेर १४ अर्ब ५५ करोड पुगेको छ ।

साँस्कृतिक संस्थान, गोरखा पत्र संस्थान, जनक शिक्षा सामग्री, नेपाल टेलिभिजन र राष्ट्रिय आवास कम्पनी रहेको सामाजिक क्षेत्रका संस्थानहरुको सञ्चालन आम्दानी १४ प्रतिशतले बढेर १ अर्ब ६२ करोड पुगेको छ ।

नेपाल दुर सञ्चार कम्पनी, नेपाल विद्युत् प्राधिकरण, नेपाल खानेपानी संस्थान रहेको जनोपयोगी क्षेत्रको कुल सञ्चालन आम्दानी ४ प्रतिशत बढेर ७३ अर्ब ५ करोड छ । यो क्षेत्रका कम्पनीको खुद नाफा ४ अर्ब ३२ करोड पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको नोक्सान ७९ प्रतिशत र खानेपानी संस्थानको ९९ प्रतिशतले नोक्सान बढेपछि यो क्षेत्रको नाफा घटेको हो ।

त्यस्तै, कृषि बिकास बैंक, राष्ट्रिय बिमा संस्थान, एनआइडीसी डेभलपमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल आवास फाइनान्स, नेपाल स्टक एक्सचेन्ज, नागरिक लगानी कोष, नेपाल बैंक, राष्ट्रिय बिमा कम्पनी र जलविद्युत् लगानी तथा बिकास कम्पनी रहेका वित्तीय क्षेत्रको सञ्चालन आम्दानी ९.५१ प्रतिशत बढेर ३७ अर्ब पुगेको छ ।

अर्थमन्त्रीले भने यो बर्षको आर्थिक वृद्धि उत्साहजनक रहेको भन्दै अनुकूल मौसम, सरकारको पुँजीगत खर्चमा गरेको वृद्धि, ऊर्जा व्यवस्थापन र लगानीको वातावरणमा सुधार भएकाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ६.९४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको बताए ।

Advertisement

Advertisement

Advertisement