'उन्नत तथ्याङ्क उन्नत जीवन' नारासहित नेपालमा पनि मनाइयो विश्व तथ्याङ्क दिवस

Advertisement

काठमाडौं । उन्नत तथ्याङ्क उन्नत जीवन भन्ने मूल नारा रहेको विश्व तथ्याङ्क दिवस बुधबार नेपालमा पनि मनाइयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले पानसमा बत्ति बालेर कार्यक्रम उदघाटन गरेका थिए । 

संयुक्त राष्ट्र संघ तथ्यांकीय आयोगको आह्वानमा सन् २०१० देखि विश्व तथ्यांक दिवस विश्वका धेरै देशमा मनाउने गरिएको छ । गएको तथ्याङ्क दिवसको दिन दसैंको बिदा परेकोले सन् २०१५ को दिवस बुधबार मनाइएको हो । 

Advertisement

उपाध्यक्ष खतिवडाले तथ्याङ्क उन्नत हुँदैमा स्वतः जीवनस्तर उन्नत हुँदैन र त्यसका लागि सोही अनुसारका निर्दिष्ट योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन हुनुपर्छ भने । उनले वर्तमान राष्ट्रिय तथ्याङ्क प्रणालीमा विभिन्न समस्या र कमजोरीहरू रहेका भएपनि उपलब्ध स्रोत र जनशक्तिको आधारमा हाल उपलब्ध तथ्याङ्कसँग सन्तुष्ट रहन सकिने स्थिति रहेको बताए । 

लिंग, क्षेत्र, भूगोलको आधारमा जति बढी खण्डीकृत तथ्याङ्क उपलब्ध हुन सक्यो योजना तर्जुमा र कार्यान्वयनको सिलसिलामा उति नै सहयोगसिद्ध हुन्छ भन्दै खतिवडाले यस्तो खाले विश्व तथ्याङ्क दिवसले तथ्याङ्कीय सचेतना अभिवृद्धि गर्न भूमिका खेल्छ भने ।

कार्यक्रममा अर्थविद् डिल्लीराज खनाल, तथ्याङ्क विभाग उपमहानिर्देशक हेमराज रेग्मी, तथ्याङ्कको महत्व विभागले तयार पारेको तथ्याङ्क विकाससम्वन्धी राष्ट्रिय रणनीतिबारे बोलेका थिए । विगतमा तथ्याङ्क विभाग र त्रिभूवन विश्वविद्यालयमा काम गरेका चारलाई र विभागमा दीर्घ सेवा गरेका १२ जना कर्मचारीलाई सम्मान गरिएको थियो । 

Advertisement

Advertisement