फ्लोरा एक्स्पो चैत १८ बाट भृकुटीमण्डपमा, नयाँ प्रविधिको जानकारी दिन पाँच विदेशी स्टल पनि

Advertisement

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले विगतका वर्षहरुमा जस्तै यस वर्ष चैत्र १८ गतेबाट १९औं फ्लोरा एक्स्पो सञ्चालनको तयारी गरेको छ ।

पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आएको यस एशोसियशनले भृकुटीमण्डप प्रदर्शनी हलमा चार दिनसम्म सञ्चालन गर्न लागेको हो । “स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय” नारा तय गरिएको यस मेलामा ६४ वटा स्टल रहनेछन् । 

Advertisement

ती मध्ये प्रतियोगितात्मक प्रदर्शनीका लागि तीन, ल्याण्डस्केपिङका लागि चार वटा र व्यवसायीक स्टलका लागि ५१ वटा स्टल छुट्याइएको छ । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

साथै मेलामा सहभागी व्यवसायीका फूल बिरुवाबीच प्रतिस्पर्धा गराई फरक फरक १० विधामा उनीहरुलाई पुरस्कृत गरिने छ । ती विधामा १) उत्कृष्ट मौसमी फूल २) उत्कृष्ट आलंकारिक बिरुवा ३) उत्कृष्ट फूल्ने बिरुवा ४) उत्कृष्ट ल्याण्डस्केप ५) उत्कृष्ट पुष्प सजावट ६) उत्कृष्ट स्टल ७) उत्कृष्ट कट फ्लावर (रोज) ८) उत्कृष्ट कट फ्लावर (कार्नेशन) ९) उत्कृष्ट कट फ्लावर (जरबेरा) १०) उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस) छन ।

एशोसिएशनका कार्यबाहक अध्यक्ष तथा मेला संयोजक दिलिप बादेका अनुसार यस मेलाबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने बताए । 

उनले पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ प्रविधि र उपलब्धी सहितका जानकारी पनि मेलामा प्राप्त गर्न सकिने भन्दै यसका लागि आफूहरुले गत वर्ष भारतलगायत अन्य मुलुकबाट पनि पुष्प व्यवसायीलाई सहभागी गराएको जानकारी दिए । 

एशोसिशयनका महासचिव मिनबहादुर तामाङले यो वर्ष प्रविधिको विषयमा पाँचवटा विदेशी स्टलहरु राखिएको बताए । गत बर्षको फ्लोरा एक्स्पोमा ५० हजार अवलोकनकर्ता तथा ६० लाख रुपियाँभन्दा बढिको कारोबार भएको र यो वर्ष १० देखि १५ प्रतिशतले  बढने अनुमान रहेको उनले जानकारी दिए । 

नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आर्थिक वर्ष २०७०÷७१ सम्म आई पुग्दा ३८ जिल्लामा लगभग ६७५ पुष्प फर्म÷नर्सरीहरु बिस्तार भइसकेको छ । लगभग १४१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको र ४१ हजारले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको एशोसियशनको भनाई छ । आर्थिक बर्ष २०७१÷७२ मा १० करोड करोड रुपियाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयातसमेत भएको जनाइएको छ । 

Advertisement

Advertisement