एनसेल प्रकरणमा नखुलेको पाटो, ठूला घरानियाबीच नै खुट्टा तानातान

Advertisement

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको स्वामित्व खरिद बिक्रीमा नेपालका ठूलो औद्योगिक घरानाहरुको समेत संलग्नता रहेको पुष्टी भएको छ । नेपालबाट अन्तर्राष्ट्रियस्तरमा विलिनियर्सको रुपमा चिनिएका विनोद चौधरीदेखि हुण्डीको कारोबार एकाएक उदाएका व्यापारी चन्द्र ढकालसम्म एनसेल हात पार्ने दौडमा रहेको एक उच्च सरकारी अधिकारीले पुष्टी गरेका हुन । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले एनसेल हात पार्ने दौडमा चौधरी र ढकालबाहेक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एकाउन्टेन्टको रुपमा चर्चा हुँदै आएका अजय सुमार्गी, पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाईं राजबहादुर सिंह, सोल्टी होटलका मालिक प्रभाकरशम्शेर राणा रहेको बताए । यसमा महत्वपूर्ण खेलाडीको रुपमा थिए गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतो । एनसेलको स्थानीय स्वामित्व कस्लाई दिने नदिनेदेखि अन्तर्राष्ट्रिय खरिद बिक्रीसम्म उनको हात रहेको प्रारम्भिक अध्ययनहरुबाट देखिएको स्रोतको भनाई छ ।  

Advertisement

ती अधिकारीले भने– यहाँ (ऐनसेलमा) पनि त माफिया छन् नि । जस्तो विद्युत माफिया हुन्छन । नेपालका पैसावाल धनाड्यहरु सबै यहाँ छन् । त्यही भएर पनि म शतर्क छु । धेरै जोगिएर काम गर्नुपर्ने छ । प्रतिष्ठा जोगाउन गाह्रो छ ।

एनसेलमा उपेन्द्र महतो प्रत्यक्ष संलग्नता अहिले नदेखिए पनि अप्रत्यक्षरुपमा उनी कुनै न कुनै रुपमा रहेको उनले बताए । एनसेलको स्थानीय संलग्नताबाट मुक्त भएको देखाए पनि महतो टेलियासोनेरालाई ल्याउनेदेखि छुटाउने कार्यसम्म संलग्न रहँदै आएका छन् । हालैमात्रै धनाड्यहरुले गोप्यरुपमा लगानी गर्ने विभिन्न मुलुकहरुमा लगानी रहेको कुरा पानामा पेपर्सबाट खुलासा भएका महतोले नै विनोद चौधरी, चन्द्र ढकाललगायतका मानिसलाई एनसेलमा प्रवेश गर्नबाट रोकेका थिए । 

एनसेलमा लगानी गर्ने विदेशी कम्पनीहरुमा उनको कस्तो किसिमको संलग्नता हो भन्ने कुरा अध्ययन र छानविनको विषय भएकोले आफूले अहिले केही भन्न नसक्ने ती सरकारी अधिकारीको भनाई छ । 

खर्बपतिहरुको दौडमा अगाडि बढने क्रममा रहेका विनोद चौधरीलाई आफ्नो प्रोफाइल बढाउने सशक्त माध्यम टेलिकम हुनेसक्ने भएकाले उनी एनसेलको पछि लागेको हुनसक्ने अनुमान गरिएको छ । टेलिकम हजारौं गुणा नाफा हुने व्यवसाय भएकाले खर्बपतिहरुको सूचीमा चाँडै अगाडि बढाउन यसले सहयोग पुग्नेछ । 

विनोद चौधरीले सीजी टेलिकममार्फत यस क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्न प्रयास गरे पनि सफल नभइरहेको बेला एनसेललाई रोक्न सकियो र यसको स्वामित्व हात पार्न सकियो भने ठूलो उपलब्धी हुने विश्वासमा थिए । पछिल्लो समयमा आफ्नो व्यवसाय विस्तारका लागि भारतका कट्टरपन्थी हिन्दु संगठनदेखि भारतीय संस्थापनसँग पहुँच बढाउन सफल भएका चौधरी विगतमा अबौं रुपियाँको नक्कली भ्याट बिल प्रकरणमा मुछिएका थिए । 

अर्का व्यवसायी चन्द्र ढकाले हुण्डीको कारोबारबाट तीब्र गतिमा धनाड्य बन्न सफल भएका एक सफल व्यवसायी हुन । सन् २००१ मा आइएमई समूह भनेर खोलेका उनले आफ्नो लगानी रेमिटान्सदेखि बैकिङ, बिमा, अटोमोवाइल, इनर्जी, ट्राभल एण्ड टुर्स, लजिष्टिक, औषधि, सुचना प्रविधि, घर जग्गा जस्ता क्षेत्रमा गरिसकेका छन् । अब उनको चाहना भनेको दूरसञ्चार क्षेत्र हो । राजनीतिक तहमा समेत राम्रो पहुँच बनाइसकेका ढकाल टेलिकम क्षेत्रमा लगानी गर्न लालयित रहँदै आएका छन् । 

अर्का पैसावाल अजय सुमार्गीको हेलो नेपाल नामक टेलिकम कम्पनी छ । बाहिर विभिन्न मुलुकमा लुकाइराखेको पैसा भित्राउन नेपाल राष्ट्र बैंकबाट स्वीकृतिका लागि उपयुक्त समय पर्खिएर बसेका सुमार्गी पनि एनसेलको प्रकरणमा देखा परेका थिए । 

पूर्व राजाका ज्वाईं राजबहादुर सिंह यसअघि पनि एनसेलमा संलग्न भइसकेका व्यक्ति हुन । सिंहसहित होल्टी होटलका साहु प्रभाकरशम्शेर राणा पनि एनसेल प्रकरणमा जोडिएर आएको स्रोतको भनाई छ । 

उनी भन्छन– सतिशलाल आचार्य छ नि आइएल आचार्यको छोरा, उसले सिंगापुरमा बसेर सबैलाई छक पार्दै एनसेलको २० प्रतिशत सेयर लिइदियो । यो कुरा सबैलाई सैह्य भएको छैन । त्यसैले अहिले यो तानातान भइरहेको छ ।

यही तानातानको क्रममा नेपालका धनाड्यहरुको योजना विफल भएपछि चन्द्र ढकाललगायतले आफू निकटका मिडियालाई एनसेलको विरुद्ध लेख्न लगाएका थिए । एनसेल प्रकरणमा विनोद चौधरीदेखि चन्द्र ढकालको संलग्नता र चासो नेपालका ठूला सबै मिडियाले बुझेर पनि बाहिर नल्याउनुका कारण उनीहरुले आफ्नो विजनेश गुमाउन नचाहनु हो, स्रोतको भनाई छ । 

एनसेलको खरिद बिक्रीसँगै पुँजीगत लाभकरको कुरा नागरिकस्तरबाट जबरजस्तरुपमा बाहिर आएपछि मिडियाहरुले पनि यो कुरालाई उठाउन बाध्य भएका हुन ।  पछि संसदीय समितिहरुको समेत चासो यसमा पुगेको थियो । 

ती सरकारी अधिकारीले एनसेल प्रकरणमा ठूला धनाड्यहरुको जुधाईलाई नेपाली भ्याकुताको कथाको रुपमा उदाहरण दिए । चौतर्फी दबाबपछि एनसेल करिव १० अर्ब रुपियाँ कर तिर्न बाध्य पनि अझै ४० अर्ब रुपियाँ भन्दा बढी रकम तिर्न बाँकी छ । 

नेपाली उपभोक्ताले तिरेको रकमबाट आर्जित नाफाबाट तिर्नुपर्ने बाँकी रकम छुट दिन पछिल्लो समयमा दलका केही नेतादेखि अर्थमन्त्रालय र आन्तरिक राजश्व विभागका कर्मचारी नै सक्रिय रहेको जनाइएको छ । 

Advertisement

Advertisement