उद्योगी व्यापारीको घरमा सबैभन्दा बढी बालश्रमिकः अध्ययन

Advertisement

काठमाडौँ । पछिल्लो समयमा घरेलु बालश्रमिकको सङ्ख्या घटेको एक अध्ययनले देखाएको छ । काठमाडौँका कुल चार हजार ८६ घरधुरीमा गरिएको अध्ययनानुसार ५२० घरेलु श्रमिकमध्ये ३४ प्रतिशत १८ वर्षमुनिका बालश्रमिक रहेको पाइएको छ । 

समाजसेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)ले शक्रबार यहाँ सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सन् २०१६ मा काठमाडौँमा १२ हजार २६५ घरेलु बालश्रमिक हुन सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सन् २००१ मा गरेको अध्ययननुसार काठमाडौँमा २१ हजार १९१ घरेलु बालश्रमिक रहेको अनुमान गरेकाले अहिले काठमाडौँमा बालश्रमिक घटेको देखिएको हो । 

Advertisement

अध्ययनले प्रति २० घरधुरीमा एक घरेलु बालश्रमिक रहेको र तीमध्ये बालिका ६२ प्रतिशत र बालक ३८ प्रतिशत रहेको देखाएको सिविसका अध्यक्ष विमला ज्ञवालीले जानकारी दिए । उनका अनुसार अध्ययनमा संलग्न बालश्रमिकमध्ये ६९ प्रतिशतले आमाबाबुको पेसा कृषि रहेको तथा १३ प्रतिशतले दैनिक ज्यालादारी भएको बताएका थिए । 

त्यसैगरी ५० प्रतिशत घरेलु बालश्रमिक जनजाति, ३५ प्रतिशत बाहुन÷क्षत्री र तीन प्रतिशत दलित समुदायका भएको पाइएको छ । काठमाडौँमा भेटिएका बालश्रमिकमध्ये २३ प्रतिशत सिन्धुपाल्चोकबाट आएको पाइएको प्रतिवेदन तयार पार्ने सिविसका कार्यक्रम व्यवस्थापक सरोज केसीले बताए । 

चौंसठ्ठी प्रतिशत घरेलु बालश्रमिकले राम्रो शिक्षाका लागि, ३४ प्रतिशतले परिवारका लागि कमाउन, ३० प्रतिशतले सुखसुविधाका लागि, पाँच प्रतिशतले घरेलु हिंसा, चार प्रतिशतले सहरमा पाइने रमझम र दुई प्रतिशतले भूकम्पका कारण घरेलु श्रममा लागेको बताएका थिए । बत्तीस प्रतिशत नातेदार, २८ प्रतिशत आफ्नै आमाबाबु, १७ प्रतिशत परिवारका सदस्य, १५ प्रतिशतले गाउँले मार्फत काठमाडौँ आएका  थिए । बालश्रमिक राख्नेमध्ये २९ प्रतिशत उद्योगी व्यापारी तथा २१ प्रतिशत चिकित्सक, इन्जिनियर, बैंकका प्रमुख, शिक्षक र विकासे कार्यकर्ता रहेको पाइएको छ । 

पचपन्न प्रतिशत घरेलु बालश्रमिक राति १० बजे र ४६ प्रतिशत घरेलु बालश्रमिकले राति १० बजेपछि सुत्ने गरेको बताइएको छ । घरेलु बालश्रमिकले गर्ने काममध्ये ८९ प्रतिशत भान्साको काम गर्ने पाइएको बताइएको छ । 

सिविसले सन् २००४ देखि हरेक वर्षको जुन १० तारिख(जेठ २८तिर)का दिन वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको संस्थाका कार्यक्रम संयोजक युवराज घिमिरेले जानकारी दिनुभयो । हरेक वर्ष जुन १२ तारिखका दिन मनाइने बालश्रमविरुद्धको विश्व दिवसको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने गरिएको हो । रासस

Advertisement

Advertisement