बङ्गालको खाडीको मौसमी अवस्था बुझ्न पानी भित्रै सात रोबोट परिचालन

Advertisement

नयाँ दिल्ली । बङ्गालको खाडीमा मौसमको अवस्था बुझ्ने प्रयोजनका लागि पानी भित्रै रोबोट परिचालन गरेर बुझिने भएको छ ।

भारत र बेलायतका मौसमविद्हरुले सो रोबोट पानीमा परिचालन गर्ने भएका हुन् । भारतीय समुद्रको पानीभित्रबाट बङ्गालको खाडीको मौसम मापन गरिने भएको बताइएको छ ।

Advertisement

मौसमको भविश्यबाणी प्रक्रिया थप विश्वसनीय बनाउन र यकिन रुपमा मौसमको मापन गर्न सजिलो होस भनेर यो प्रविधिको प्रयोग लाग्न लागिएको हो ।

साथै मौसमको अवस्था पत्ता लगाउनका लागि उक्त खाडीको माथिपट्टिबाट अत्याधुनिक यन्त्रजडित उडान पनि गरिने भएको बताइएको हो ।

दक्षिण एसियाको मौसममा नै बङ्गालको खाडीको प्रभाव पर्ने गर्दछ । त्यसैगरी यसबाट भारत र बङ्गलादेश सबैभन्दा बढी प्रभावित हुने गर्दछन् ।

भारतीय किसानहरुमा मौसमको सही जानकारी समयमै हुने हो भने यसबाट खेतीका लागि पनि ठूलो सहयोग पुग्ने बताइन्छ ।

त्यसै कारणले पनि पहिलो पटक यसरी रोबोर्टबाट यो मौसमको अनुमानको प्रविधि थालिएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

मौसमको यकिन जानकारी प्रदान गर्न सकिएमा भारतका कम्तीमा पनि २० करोड किसानलाई फाइदा पुग्ने छ । विशेषत भारतको पश्चिमी क्षेत्रको खेती प्रणाली पनि मौसममा आधारित रही आएको छ ।

भारतमा पछिल्लो समयमा खडेरीको प्रकोप निकै नै बढ्न थालेको छ । सोही कारण पनि भारतीय सरकारले यो मौसमको भविश्यवाणीका लागि नयाँ एवम् अत्याधुनिक प्रविधिको प्रयोग सुरु गर्न लागेको हो ।

बेलायतको युनिभर्सीटी अफ इस्ट एन्जिलाका बैज्ञानिकहरुले पत्ता लगाएका सात वटा रोबोर्ट भारतीय समुद्रको पानी भित्र पठाइने छ । यसरी ती रोबोर्टले मौसमले समुद्रमा पारिरहेको प्रभावको बारेमा पनि मापन गर्नसक्ने जनाइएको छ ।

कम्प्युटर जडित ती रोबोर्टहरु बङ्गालको खाडीको दक्षिणी भागमा पठाइने छ । रोबोर्टले त्यस भागमा एक महिना बिताउने छन् र त्यस समयमा मौसमका बारेको सबै सूचना संकलन गरी ती रोबोर्ट फर्किने छन्– भारतीय वैज्ञानिकहरुले जनाएका छन् ।

भारतीय मौसममा अनुमान गर्न निकै गाह्रो हुने गरेको अनुसन्धानदाताहरुको भनाई छ । मौसमको भविश्यवाणी भारतको लागि गर्न निकै कठिन भएकोले पछिल्लो समयमा यसरी रोबोर्टमार्फत गर्ने प्रक्रियाको थालनी गरिएको बताइएको छ । रासस/एएफपी

Advertisement

Advertisement