एनसेलको नयाँ ब्राण्ड लोगोको आधिकारीक घोषणा

Advertisement

काठमाडौं । एनसेलले मंगलबार एक कार्यक्रमबीच कम्पनीको नयाँ ब्राण्ड लोगोको आधिकारिक रुपमा अनावरण गरेको छ । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स तथा आजीयाटा ग्रुपका दक्षिण एसिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजयसुर्याले संयुक्तरुपमा लोगो सार्वजनीक गरेका हुन् ।

कार्यक्रममा ग्राहक, निजी क्षेत्र, सरकारी निकाय तथा विदेशी नियोगका प्रतिनिधि उपस्थित रहेको एनसेलले जनाएको छ । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिङ्गस्मा आजीयाटाको एकल लगानी रहेको छ ।

Advertisement

रिब्राण्डिसँगै कम्पनीको नयाँ अध्याय शुरु भएको जनाउँदै पर्किन्सले ग्राहकका लागि एनसेलले सुपथ मुल्यमा नविन सेवा प्रदान गर्ने बताए । “आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचारमार्फत जोड्दै नेपालको विकासमा योगदान
पुर्याउन प्रतिवद्ध छ,” उनले भने ।

एनसेलले वैशाखमा सन् २०१६ का लागि १२ अर्बको पुँजीगत लगानी गर्ने घोषणा गरेको थियो । यस बाहेक कम्पनीले आफ्ना ग्राहकका लागि उत्कृष्ट सेवा संचालन सुनिश्चित गर्न आगामी दुई वर्षमा थप ७० अर्ब रुपियाँ पुजीगत तथा संचालन लगानी गर्ने पर्किन्सले बताए । 

डा. विजयसुर्याले एनसेलको रिब्राण्डिङ्गसँगै कम्पनीमा आजीयाटाको अन्तर्राष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानीय धरोहरको बेजोड मेल भएको बताए । एसियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटाले दक्षिण एसियाली मुलुकहरु श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिति छ भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ । 

एनसेलले आफ्ना ग्राहक करिव एक करोड ४० लाख रहेको र नेपालमा सबैभन्दा ठूलो करदाताको रुपमा रहेको जनाएको छ । एनसेलले नेटबर्क विकासमा करिब ७४ अर्ब लगानी गरेको जनाएको छ । यसले नेपालमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सिर्जना गरेको जनाएको छ । 

Advertisement

Advertisement