महासंघलाई उछिन्दै परिसंघले बनायो ‘थिङ्क ट्याङ्क’, यस्ता छन् विज्ञहरु

Advertisement

काठमाडौंः निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघलाई उछिन्दै उद्योगीहरुको संगठन नेपाल उद्योग परिसंघले प्रबुद्ध परिषद ‘थिङ्क ट्याङ्क’ गठन गरेको छ । परिसंघले मंगलबार एक कार्यक्रम गरी यसको शुभारम्भ गरेको छ । 

परिसंघ अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्दै आर्थिक विकासको गतिलाई तीब्रता दिन उपयुक्त नीति निर्माण, पैरवी तथा सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माणमा यस परिषदबाट परिसंघलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

औद्योगिक एवं व्यावसायिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा, दक्ष व्यवस्थापन, लगानी सुरक्षा तथा रोजगारी अभिवृद्धिमा टेवा पुर्याउने लक्ष्यसहित परिसंघले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको भन्दै परिसंघले यसै सन्दर्भमा परिसंघले थप सशक्तिकरण गर्दै मुलुकको बदलिदो राजनीतिक, आर्थिक एवम् औद्योगिक यथार्थतामा औद्योगिक तथा व्यवसायिक वातावरणको भरपर्दो आधारशीला निर्माण गर्न समसामयिक एवम् नवीन सोच र दृष्टिकोणको केन्द्र विन्दु बनाउन सकियोस भन्ने उद्देश्यअनुरुप यो परिषद बनाइएको जनाएको छ । 

यसमा प्रशासनविद, अर्थविद, योजनाविद, आर्थिक कूटनीतिज्ञ, सुरक्षाविद र प्राज्ञिक क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरु छन् । संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि÷राजदूत प्राडा शम्भुराम सिम्खडाको संयोजकत्वमा गठन गरिएको परिषदको सदस्यहरुमा शंकर कोइराला, उमाकान्त झा, डा. शंकर शर्मा, प्राडा गोविन्द पोखरेल, डा. बिन्दु लोहनी, पुरुषोत्तम ओझा, कृष्ण ज्ञवाली, किशोर थापा, सुरेशमान श्रेष्ठ, प्राडा सुवास केसी, हिमालय थापा, डा. गोविन्द थापा, प्राडा मीना वैद्य मल्ल र डा. विश्व पौडेल छन् ।

प्रवुद्ध परिषद गठनको मुख्य उद्देश्य दशकौदेखि गैरआर्थिक कारणले गर्दा गरिवी, अभाव, न्यून लगानी, सुस्त आर्थिक वृद्धिदर, व्यापार घाटा र बेरोजगारीबाट आक्रान्त मुलुकमा अब राजनीतिले होइन कि आर्थिक एजेण्डा भन्ने अवधारणालाई स्थापित गर्नु रहेको परिसंघले जनाएको छ । 

त्यस्तै, सरकार निजी क्षेत्रबीच कतिपय नीतिगत विषयमा फरक–फरक मान्यता हुनसक्छन, जुन स्वभाविक पनि हो भन्दै परिसंघले यस्तो स्थितिमा सही नीतिको तर्जुमा गर्न सरकारसमक्ष प्रवुद्ध वर्गको तर्फबाट तटस्थ तर व्यवसायिक सुझाव उपलब्ध गराउने जनाएको छ । 

विभिन्न क्षेत्रगत नीति तर्जुमा गर्दा वा भइरहेका नीतिहरुको परिमार्जन गर्दा प्रवुद्ध वर्गको राय, सुझाव र दृष्टिकोण सरकारलाई उपलब्ध गराउनु र निरन्तर पैरबी गर्न, सरकार, परिसंघ, प्रवुद्ध वर्ग, कूटनीतिक क्षेत्र, निजी क्षेत्र, विकास साझेदार, लगानीकर्ता र मिडियाबीच समन्वय गरी आर्थिक विकासको साझा गन्तव्यमा अघि बढ्ने वातावरण सिर्जनाका लागि समन्वय र सहजिकरण गर्ने काम यसले गर्नेछ । 

आर्थिक विकास वा राष्ट्र निर्माणको विषय मुलुकका सबै तह, क्षेत्र र समुदायको साझा प्रयासबाट मात्र हासिल हुन सक्छ भन्दै परिसंघले यसका लागि एकातिर मुलुकमा ठूलो परिमाणमा लगानी वृद्धि गर्नु जरुरी छ भने अर्कातिर सही र यथार्थपरक नीतिहरु तर्जुमा गरी त्यसलाई व्यवहारिक रुपले कार्यान्वयन गर्दै जानु अहिलेको आवश्यकता हो भनेको छ । 

 यही यथार्थतामा लगानीमैत्री वातावरण सिर्जना गर्दै उच्च, फराकिलो तथा दीगो आर्थिक वृद्धिमार्फत अर्थतन्त्रलाई गतिशील पार्नका लागि परिसंघ प्रबुद्ध परिषदले आगामी दिनमा सरकारमा उपयुक्त दृष्टिकोण, नीतिगत विश्लेषण र पैरवी गर्ने उसले जनाएको छ । 

Advertisement

Advertisement