'क्रस दी बोर्डर'मा कुशकुमार– सफल उद्यमी जोशीको यस्तो छ उद्यमशीलताको परिभाषा

Advertisement

पोखराः नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले उद्यमी बन्नलाई नेपालकै स्रोत परिचालन गर्नुपर्ने बाध्यता नरहेको बताएका छन् । 

विदेशबाट कच्चा पदार्थ ल्याएर गुणस्तरीय सामान उत्पादन गरी विदेशलाई नै बेच्नुपनि उद्यमशीलता हो, लेकसाइडको होटल स्नोल्यान्डले गरेको उद्यमशीलता प्रवद्र्धन कार्यक्रम ‘क्रस दी बोर्डर’ औद्योगिकीकरणको लागि आन्तरिक स्रोत मात्रै होइन बाह्य स्रोत पनि परिचालन गर्ने क्षमता विकास हुनुपर्छ । 

Advertisement

विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्ने आफ्नोको कम्पनी नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)ले विदेशबाट कच्चा सामान ल्याएर गुणस्तरीय उत्पादन विदेशसमेत बेचेको जोशीले उदाहरण दिए । 

उनले भने, ‘स्वेदशमै उत्पादन गर्दा आयात प्रतिस्थापन भयो । त्यो हो औद्योगिकीकरण हो, उद्यमशीलता हो ।’ जापानीहरुले दोस्रो विश्वयुद्धमा अमेरिकी सेनाले खाएको मिठाइको खोल संकलन गरेर गुडिया बनाइ अमेरिकीलाई नै बेचेको उदाहरणबाट पाठ सिक्ने सकिने जोशीले बताए । 

नेपालमा औद्योगिकीरणका लागि आयात प्रतिस्थापनमा मुख्य जोड दिनुपर्ने उनको भनाई थियो । सफल उद्यमीको परिचय बनाएका जोशीको कम्पनीले निक ब्राण्डको ट्रान्सफर्मर भारत, बंगलादेश, भुटानसम्म निर्यात हुन्छ । गएको १२ वर्षमा भुटानमा मात्रै छ हजार निक ट्रान्सफर्मर निर्यात गरिएको उनले जानकारी दिए । 

ट्रान्सफर्मरको बजार नेपालमा पाँच अर्ब रुपियाँको भएपनि नेपाल विद्युत प्राधिकरणले २० करोड रुपियाँको मात्रै स्वदेशी उत्पादन खरिद गरिरहेको जोशीको भनाई छ ।  निकले एक केभिएदेखि १० हजार केभिएसम्मको ट्रान्सफर्मर उत्पादन गर्छ ।

व्यवसायी जोशीले सरकारको नीति उद्यमीमैत्री नभएको भन्दै जोशीले नेपालको स्रोत परिचालन गर्न नियम कानुन झन्झिटिलो रहेको बताए । उनले व्यापार गरेर मात्रै सरकारको नीति नबदलिने भएकोले उद्यमी नै बन्नुपर्ने राय व्यक्त गरे । 

‘कुनै शुन्य बस्तुलाई मुल्य दिलाउनु नै उद्यमशीलता हो,’ जोशीले भने, ‘उद्यमी बन्न सके मात्रै राज्यको दिगोविकास हुन्छ ।’ उनले आजकल युवाको सोच कसरी तुरुन्त धनी बन्ने भन्नेतर्फ मात्रै केन्द्रित भएको बताउँदै दिगो आर्थिक उपार्जनमा ध्यान दिनुपर्ने बताए । 

अहिलेका उद्यमी सामाजिक उद्यमी बन्नुपर्ने जोशीको जोड थियो । ‘आफ्नो उत्पादनले अर्कोलाई हानी गर्नुहुँदैन,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व सहितको व्यवसाय गर्नु नै सामाजिक उद्यमी बन्नु हो ।’ उनले आफ्नो व्यवसायको निश्चित हिस्सा समाजसेवामा खर्चनुपर्ने धारणा राखे ।

क्रस दी बोर्डरमा उद्यमशील बन्न चाहने युवाहरुलाई जमघट गराई रोलमोडल बनेका उद्यमीले आफ्नो सफलताको कथा र उत्प्रेरणादायी मन्तव्य राख्ने चलन छ । 

विसं २०६४ मा महासंघको अध्यक्ष भएका जोशी इलेक्ट्रिकल इन्जिनियर हुन् । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष जोशी हाल हिमालयन बेम्बो प्रालि, मेडिटेरियन लिंक होल्डिङ प्रालि, लिबर्टी इनर्जी हाइड्रो पावर प्रालि र इनर्जी इन्जिनियरिङ प्रालिका अध्यक्ष छन् । 

लिबर्टीले २५ मेगावाटको उपल्लो दोर्दी परियोजना र ६ दशमलव ५ मेगावाटको उपल्लो मैलुङ परियोजना निर्माण गरेको छ । इनर्जी इन्जिनियरिङले रसुवामा ७ दशमलव ४ मेगावाटको उपल्लो मैलुङ ‘ए’ चलाएको छ । 

जोशी नेपाल सडक सुरक्षा समाजको अध्यक्ष पनि हुन् । संखुवासभाको चैनपुरस्थित सरस्वती हाइ स्कुलबाट एसएलसी उत्तीर्ण गरेका जोशीले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङमा प्रमाणपत्र तह र बेलायतको सोसाइटी अफ इन्जिनियर्सबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका छन् ।

 

Advertisement

Advertisement