मङ्गल ग्रहमा देखियो अनौठा धरहरा, अनुसन्धानकर्ताहरुमा मच्चियो खुल्दुली (भिडियोसहित)

Advertisement

वासिङ्गटनः पृथ्वीको सबभन्दा निकट रहेको र “रक्त ग्रह (रेड प्लानेट)” को नामबाट पनि परिचित मङ्गल ग्रहमा एक बिशाल र अनौठो बनावट देखिएको छ । 

इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोस्ट गरिएको मङ्गल ग्रहको पछिल्लो तस्बीरमा तीन वटा निकै अग्ला धरहरा (टावर) देखिएका छन् । 

Advertisement

झट्ट हेर्दा ती तीनवटै टावर बिशाल भौतिक संरचनाभन्दा कम छैनन् र एउटा टावरको उचाई चार हजार आठसय मिटर (४.८ किलोमिटर) भन्दा कम नरहेको अड्कल गरिएको छ । 

ती तीनवटै टावर ठ्याक्कै सीधा रेखा (स्ट्रेट लाइन)मा निर्माण गरिएको देखिनाले कुनै सिपालु कारिगरले धेरै वर्ष लगाएर बनेका भौतिक संरचना हुन् जस्तो प्रतीत भएको छ । 

एकजना अज्ञात ब्यक्तिले मङ्गल ग्रहको केही पछिल्ला तस्बीरहरु पोस्ट गरेका हुन् । “थ्रि डि” भिजन र बिभिन्न कोणबाट खिचिएका तस्वीरहरु पोस्ट गर्ने ती ब्यक्तिको परिचय भने खुल्न सकेको छैन । 

यस अघि, मङ्गल ग्रहको तस्बीर खिँच्दै प्रसारण गर्ने संस्थाहरुः मार्स ग्लोबल सर्भेयर र मार्स ओडिस्सी मिसनले सम्प्रेषण गर्ने गरेका तस्वीरभन्दा अहिले पोस्ट गरिएका तस्वीरहरु उच्च गुणस्तरका र बढी प्रष्ट छन् । 

पृथ्वी बाहेकको अन्य ग्रहमा पनि अन् आइडेन्टिफाइड फ्लाइङ्ग अब्जेक्ट (युएफओ)को अस्तित्व छ भनी विश्वास राख्ने अनुसन्धानकर्ताहरु माझ भने उक्त तस्वीरले निकै खुल्दुली मच्चाएको छ । 

अन्य ग्रह ९बिशेषतः मङ्गल ग्रह)मा पनि मानवभन्दा पनि उच्च बौद्धिक क्षमतावान् अपरिचित प्राणीको अस्तित्व छ भनी विश्वास राख्ने अर्काथरी अभियन्ताहरु (अलाइन इन्थुजियाजिस्ट्स)ले पनि यस तस्वीरलाई देखेर आफ्नो विश्वासलाई झन् प्रमाण सहितको पुष्टि मिलेको दावी गरेका छन् । 

तस्बीर पोस्ट गर्ने सो अज्ञात ब्यक्तिले भने “टावरको संरचना तथा सीधा रेखामा निर्मित वनावट हेर्दा यो एक संयोग मात्र नभएर मङ्गल ग्रहमा साँच्चिकै अत्याधुनिक प्रबिधि छ भन्न कर लाग्ने” भनी टिप्पणी समेत गरेका छन् । 

मङ्गल ग्रहमा उपलब्ध रहने हावा तथा पानीको बलले मात्र तीन तीनवटा त्यत्रा टावर बन्न असम्भव रहेको भनी अनुसन्धानकर्ता र अलाइन इन्थुजियाजिस्ट्सहरु भन्छन् । 

यता, अमेरिकी राष्ट्रिय अन्तरिक्ष अध्ययन संस्था – नासाका बैज्ञानिकहरु भने सो तस्वीर देखेर त्यत्ति प्रभावित छैनन् र उनीहरु यसलाई कुनै नौलो कुरो पत्ता लागेको मान्न तयार छैनन् पनि । 

टावरहरु तस्वीरमा अग्ला र ठूला देखिन गए तापनि नजिकै गएर प्रत्यक्ष हेर्ने हो भने तस्वीरमा देखिए जत्तिकै अग्ला र ठूला नहुने उनीहरुको भनाइ छ । 

टावर भन्ना साथ आँखाले नदेखेमा पनि हामी पृथ्वीवासीहरुले पहिला देखिरहेका अग्ला र ठूला टावरपट्टि झट्ट हाम्रो दिमाग र कल्पना कुदेर जान्छ । यस्तो परिकल्पनाको स्थिति आउनुलाई “प्यारेडोलिया” भन्छन् । 

मङ्गल ग्रहमा देखिएको भनिएको टावर पनि एक किसिमको “प्यारेडोलिया” नै हो – नासाका बैज्ञानिकहरुको टिप्पणी छ । सिन्ह्वा 

Advertisement

Advertisement