‘बिजनेस एक्सेलरेटर प्रोगाम’ समपन्न, छ उत्कृष्ट कम्पनी सहभागी

Advertisement

काठमाडौंः उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाल बिजनेस एक्सेलरेटर प्रोगामको दोस्रो संस्करण सम्पन्न भएको छ । बाह्र हप्तासम्म सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानबारे प्रस्तुतीकरण गरेर मंगलबार यसको समापन गरिएको हो ।   

इन्टरप्राइजले युवा पुस्तामा उद्यमशीलता प्रवद्र्धन गरी रोजगारी सिर्जनामार्फत मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउन सकून भन्ने उद्देश्यले ‘नेपाल बिजनेस एक्सेलरेटर प्रोगाम’ सञ्चालन गरेको हो । इन्टरप्राइज निजी क्षेत्रले सञ्चालन गरेको नयाँ अवधारण हो । 

Advertisement

यस कार्यक्रममार्फत नेपाली कम्पनीले नयाँ र सिर्जनात्मक तरिकाले वस्तु उत्पादन, सेवा प्रवाह तथा लगानीका लागि पुँजी संकलन गर्न सिकाइन्छ । कार्यक्रममा सहभागीले आफ्नो व्यापार व्यवसायलाई थप नयाँ उचाइमा पुर्याउन सक्ने विश्वास लिएको छ । 

बिजनेस एक्सेलरेटरको दोस्रो संस्करणमा देशभरका चार सयभन्दा बढी कम्पनी तथा तिनका प्रवद्र्धकले सहभागी हुने इच्छा राखेका थिए । यी मध्येबाट सबैभन्दा उपयुक्त छ कम्पनी छानिएका थिए । यिनले कसरी उद्यमशीलता प्रवद्र्धन गर्न सकिन्छ ? भन्नेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छन् । 

जसमा एक्ट ३६० प्रालि, एइडन इन्जिनियरिङ प्रालि, फुडमान्डू प्रालि, फङकी डिलाइट प्रालि, इनग्रेल्स प्रालि र भिमभक्स ल्याब प्रालि रहेका छन् । इन्टरप्राइजको दोस्रो संस्करणमा सहभागी भएकाले पाएका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका बारेमा राजधानीमा मंगलबार विभिन्न प्रदर्शनीमार्फत जानकारी गराइएको छ । 

छानिएका छ कम्पनीले प्रस्तुतीकरणमा सिकेका ज्ञान, प्राप्त गरेका लगानी तथा अवसरका बारेमा जानकारी गराए । यस अवसरमा १५० जना भन्दा बढी लगानीकर्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो । 

इन्टरप्राइज कार्यक्रमका निर्देशक अजय श्रेष्ठले यसपटक थप रचनात्मक तथा सिर्जनशीलता अभिवृद्धि गरी व्यावसायिक क्षमता बढाउने किसिमका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । ‘एक्सेलरेटर कार्यक्रममा सहभागी प्रत्येकलाई व्यवसायमा उत्पन्न हुने विविध समस्या समाधानका उपाय, नयाँ उद्यमशीलता प्रवद्र्धन गर्न स्रोत खोजी तथा परिचालन एवं कानुनी पक्षका बारेमा समेत गहन तरिकाले जानकारी गराइयो,’ उनले भने । 

नेपाल युवा उद्यमी मञ्चको अग्रसरतामा सञ्चालन गरिएको यस कार्यक्रममा सेन्टर फर क्रेसन अफ इकोनोमिक वेल्थ ओक्लोहामा विश्वविद्यालयको सहकार्य रहेको छ । कार्यक्रमलाई टु्र–नर्थ एसोसिएट्सले आर्थिक सहायता उपलब्ध गराएको हो । एनएमबी बैंक, आइ क्यापिटल प्रालि, एक्ट ३६० प्रालि, ओनियन फिल्मस् प्रालि तथा इमाजिङ प्रालिको सहयोग र सहकार्य रहेको छ । 

Advertisement

Advertisement