साना व्यवसायीले भेटे अर्थदेखि बाणिज्यमन्त्री, पुँजी, प्रविधि र बजार मुख्य समस्या

Advertisement

काठमाडौंः अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योग सुदृढ नभएसम्म मुलुक आर्थिकरूपमा समृद्घ हुन नसक्ने भन्दै यस्ता उद्योगको विकासको लागि सरकार सक्दो सहयोग गर्न तयार रहेको बताएका छन् । 

घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग सोमबार कुरा गर्दै उनले साना तथा घरेलु उद्योगहरू अर्थतन्त्रको मेरूदण्ड भएको बताए । महराले अबको बजेटले यस्ता घरेलु तथा साना उद्योगको समस्या सम्बोधन गर्ने आश्वासन दिए । 

Advertisement

लघु, घरेलु तथा साना उद्योगको विकासका लागि ठोस कार्यक्रम ल्याइने भन्दै उनले नेपालको आर्थिक रूपान्तरण, परम्परागत कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण नगरेसम्म मुलुकको आर्थिक समृद्घि सम्भव नभएको बताए ।

महासंघका उपाध्यक्ष विष्णु लुइटेलले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै लघु, घरेलु तथा साना उद्योगबाट घरघरमा रोजगार र आत्मसम्मान सहितको समृद्घ अर्थतन्त्र निर्माणको आधार भन्ने नाराका साथ महासंघ अगाडि बढिरहेको बताए।

स्वदेशी श्रम, पुँजी र कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगले स्वरोजगारी, रोजगारीका साथै मुलुकको आर्थिक विकास महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए । लुइटेलले पुँजी, प्रविधि र बजार समस्याका कारण यो क्षेत्रले अपेक्षाअनुसार गति लिन नसकेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

यसैगरी, महासंघको प्रतिनिधिमण्डलले वाणिज्यमन्त्री रोमी गौचन थकाली, विज्ञानमन्त्री प्रेमबहादुर सिंहसँग पनि छुट्टाछुट्टै भेट गरी आगामी दिनमा नेपालका लघु, घरेलु तथा साना उद्योगको उत्पादन विविधीकरण गर्न चाल्नुपर्ने कदम र कार्यक्रम बारेमा ध्यानाकर्षण गराएका थिए । 

लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन तथा आगामी २०७४ बैशाख ७ देखि ११ गतेसम्म आयोजना हुने नेपाल १३ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीका बारेमा समेत छलफल गरेको थियो ।

व्यवसायीहरूले पुँजी र प्रविधिको अभावमा नेपाली उत्पादनले मूल्य र गुणस्तरमा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा बजार विस्तार हुन नसकेको भन्दै उनीहरूले नेपाली उत्पादनलाई गुणस्तरीय प्रतिस्पर्धी बनाउन सहज वित्तीय पहुँच, प्रविधिको विस्तार र तालिममा विशेष दिनुपर्ने बताएको महासंघले जनाएको छ । 

Advertisement

Advertisement