काठमाडौं । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । यसअघिका सिइओ लक्ष्मण रिसालले राजीनामा दिएपछि उनले कामु सिइओको रुपमा काम गर्दै आएका थिए ।
सो बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उनलाई सिइओ नियुक्त गरेको छ । न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम संजाल लगायतका परिसुचकमा नेपालकै सबै भन्दा ठूलो बैंकको पहिचान बनाएको बैंकको दावी छ ।
आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशियाबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै अहिले सिइओ भएका हुन् । उनी चार्टड एकाउन्टेन्ट पनि हुन् ।
नवनियुक्त सिइओ न्यौपानेलाई आजै बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराए । सिइओ न्यौपानेले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने बैंकको नारालाई मुर्तरुप दिन बैंक परिवार प्रतिबद्ध रहने बताए ।