नेपाल क्लियरिङ हाउसको साधारणसभा सम्पन्न, चुक्ता पूँजी ३८ प्रतिशतले बृद्धि गरिने

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)ले सोमबार आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी रु. २ अर्ब ९८ करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ ।

कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आ.व. २०७५.०७६ मा कम्पनीले खुद नाफा २३ करोड ७७ लाख ३५ हजार ७८६ रुपियाँ पुगेको छ ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।

आव २०७५।०७६मा एनसीएचएल–ईसीसी मार्फत कुल ११,७५५,०७२ चेक राफसाफ भएको थियो भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस)बाट ४९ लाख ३१,९५० तथा कनेक्टआईपीएस ई–पे प्रणाली मार्फत १८६,०४१ भुक्तानी कारोबारहरु भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आव २०७५।०७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७,४७९ रहेको थियो जुन औसत दैनिक रकम रु.३६.८५ अर्ब रहेको थियो । हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,००३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु इन्डारेक्टरटेक्निकल मेम्बरको रुपमा आवद्ध छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड नेपाल राष्ट्र बैंक (१० प्रतिशत), बैंक तथावित्तीय संस्थाहरु (८० प्रतिशत) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालि (१० प्रतिशत) द्वारा प्रवद्र्धित कम्पनी हो । यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पिएसओ, पिएसपि, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement