नेपाल वायुसेवा निगम पछिल्लो समयमा कमजोर हुँदै गएकोमा चिन्ता लागेको छः पर्यटनमन्त्री

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० भव्य रुपमा सफल हुने दावी गरेका छन् । सोहीअनुसार आफूहरुले तयारी गरेको उनले शुक्रबार रिपोर्टर्स क्लवमा बताए ।

भट्टराईले सरकारले भ्रमण वर्ष सफल बनाउनेगरि कार्यक्रम सञ्चालन गरिरहेको सुनाए । उनले विगतमा पाँच–छ महिना मन्त्रालय राजनीतिक नेतृत्वविहीन भएकोले भ्रमण वर्षको तयारीमा केही ढिलाई भए पनि अहिले काम द्रुत गतिमा अघि बढिरहेको दावी गरे । भट्टराईले भने, ‘म आएपछि भ्रमण वर्ष सफल तुल्याउनको लगातार छलफल गरेको छु, यससँग सरोकारवालाहरुसँग पनि धेरै पटक छलफल तथा अन्तरक्रिया गरेको छु ।’

उनले भ्रमण वर्षको लागि आवश्यक बजेटको पनि प्रवन्ध गरिएको बताए । अघिल्लो आर्थिक वर्षमा भ्रमण वर्षको लागि १० करोड बजेटमात्रै छुट्याईएकोमा यो वर्ष १५ करोड बजेट छुट्याईएको भट्टराईले सुनाए । उनले भने, ‘भ्रमण वर्षको लागि २५ करोड रुपियाँ बजेट भनेको न्यून हो, अहिले हामीले ६५ करोडको बजेट पास गरेका छौं ।’

मन्त्री भट्टराईले पर्यटन वर्षको प्रचारको लागि पनि सरकारले विशेष ध्यान दिएको सुनाए । सन् २०२० को जनवरी १ तारिखमा भ्रमण वर्षको भव्य शुभारम्भ हुने उनको भनाई छ । भट्टराईले भने, ‘यो कार्यक्रम देशभरि नै एकसाथ सुरु हुनेछ । काठमाडौंमा हामीले केही दिनभित्रै ठाउँ घोषणा गर्छौं । दशरथ रंगशाला, सैनिक मञ्चलगायत कहाँ हुन्छ, हामी तोक्छौं ।’ भ्रमण वर्षको शुभारम्भमा पचासौं हजार जनसहभागिता रहने पनि भट्टराईले बताए ।

त्यस्तै, उनले भ्रमण वर्षलाई लक्षित गरेर आफूले ४० भन्दा बढि देशका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिईसकेको पनि जनाए । भट्टराईले भने, ‘हामीले नेपाल घुम्न आउने पर्यटकहरुको आधारमा मैले ४० देशका पर्यटकमन्त्रीहरुलाई निम्तो पठाएको छु ।’ भट्टराईले सोही सन्दर्भ पारेर नेपालमा टुरिज्म मिनिष्ट्री कन्क्लेभ पनि आयोजना गरिने जानकारी दिए । ‘यो कन्क्लेभ ऐतिहाँसिक हुनेछ ।’

भ्रमण वर्ष सफल तुल्याउनको लागि पर्यटन प्रर्वद्धन गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघ, संस्था, विभिन्न चर्चित अन्तर्राष्ट्रिय व्यक्तित्वहरु (कलाकार, खेलाडी)लाई पनि नेपाल भ्रमणको लागि आमन्त्रण गरिएको उनले सुनाए । भट्टराईले भने, ‘हामीले विश्वमै चर्चित व्यक्तित्वहरुलाई प्रचासप्रसारको लागि पनि सद्भावना दुत बनाएका छौं । उहाँहरुबाट सहयोग लिने क्रम जारी छ ।’

मन्त्री भट्टराईले विश्वका प्रमुख शहरहरुमा यतिवेला नेपाल भ्रमण वर्षको प्रचारप्रसार तीव्र भइरहेको पनि बताए । उनले भने, ‘विदेशमा रहेका गैरआवासीय नेपालीहरुले पनि यसको प्रचारप्रसारको लागि विशेष भूमिका निर्वाह गरिरहेको बताए । नेपाल भ्रमणमा सबैभन्दा बढि आउने विश्वका १० शहरलाई हामीले सेलेक्ट गरेका छौं । त्यहीअनुसार प्रचासरप्रसारको लागि फोकश गरेका छौं ।’

नेपाल भ्रमण वर्षको प्रचारप्रसारको लागि अन्तर्राष्ट्रिय मिडियालाई पनि उपयोग गर्ने भट्टराईको भनाई छ । नेपाल भ्रमण वर्षमा संस्कृति तथा प्रकृति दुवैको प्रर्वद्धन हुने र सोहीअनुसार आफूहरुले काम गरिरहेको उनले स्पष्ट पारे ।

भट्टराईले भने, ‘भ्रमण वर्षलाई लक्षित गरेर नेपाल सरकारले आकर्षक छुट दिने तयारी गरेको छ । हिमाललाई चढ्नको लागि पनि सुविधा दिने स्किम बनाउँदैछौं । माथिल्लो हिमाली भेगमा जानको लागि पैसा लाग्दथ्यो, त्यसमा पनि छुट दिने तयारी गरेका छौं । भिसा लगाउने कुरामा केही छुट हुन्छ ।’

भट्टराईले पर्यटन पूर्वाधारको लागि पनि सरकारले विशेष महत्व दिएर काम गरिरहेको दावी गरे । उनले भने, ‘पर्यटन प्रर्वद्धनअन्तर्गत हाम्रो मन्त्रालयले गर्ने काम भनेको नै विमानस्थलको निर्माण र विस्तार, सेवासुविधा विस्तार गर्ने पर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सेवालाई प्रोत्साहन गर्ने हो, यी काम हामीले अहिले द्रुत गतिमा गरिरहेका छौं । अब केही महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९० प्रतिशत निर्माण काम सम्पन्न भइसकेको छ। अब यो अन्तिम तयारीमा छ ।’

मन्त्री भट्टराईले आफू पनि उक्त विमानस्थलको कार्यप्रगति हेर्नको लागि नियमित अनुगमनमा गइरहेको जनाए । उक्त विमानस्थलबाट हवाई सेवा सञ्चालनको लागि (उडानयोग्य) बनाउनको लागि अध्यागमन, भन्सार, एयरलाईन्सका कार्यालय राख्ने, सुरक्षाको प्रवन्ध गर्नेलगायतका केही महत्वपूर्ण काममात्रै बाँकी रहेको सुनाए । उनले आगामी सन् २०२० को मार्चबाट सेवा सुरु गर्ने आफूहरुको लक्ष्य यथावत रहेको पनि स्पष्ट पारे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालको पर्यटन प्रर्वद्धन हुने भट्टराईको विश्वास छ । उनले भने, ‘यो विमानस्थल सञ्चालनमा आएपछि नेपालको अर्थतन्त्र धेरै मजबुद हुन्छ । यो सञ्चालनमा आएपछि पश्चिम नेपालमा पर्यटकीय सुविधा थपिनेछ । यहाँका जनताले ठूलो सुविधा पाउनेछन् । लुम्बिनीको प्रर्वद्धन हुनेछ । हामी बृहत्तर लुम्बिनीय गुरुयोजनाअनुसार काम गरिरहेका छौं ।’

त्यस्तै, उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि ५० प्रतिशतभन्दा बढि सम्पन्न भइसकेको बताए । भट्टराईले भने, ‘यो आगामी सन् २०२१ को जुनमा सकिनुपर्छ । हाम्रो लक्ष्यअनुसार त यही हो, तर अहिले प्राप्त रिपोर्टअनुसार यो लक्ष्यभन्दा ६ महिनाअघि नै सम्पन्न हुनेछ ।’

उनले काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरण र विस्तारको काम पनि भइरहेको सुनाए । भट्टराईले भने, ‘काठमाडौंको एयरपोर्टमा जहाज होल्ड हुने समस्या छ । यो समस्याप्रति म संवेदनशील छु । अपरेशन टिमसँग धेरैपटक बैठक तथा छलफल गरेको छु । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको पुनर्निर्माणको काम सम्पन्न भएको छ । अहिले यो अन्तर्राष्ट्रियस्तरको भएको छ । अब ट्याक्सी वेको पनि पुनर्निर्माणको काम सम्पन्न हुँदैछ ।’

भट्टराईले विमानस्थलमा जहाज होल्ड हुने समस्या हुनुको मुख्य कारण भनेको जहाज पार्किङ पनि पर्याप्त नभएको बताए । उनले भने, ‘अब विमानस्थलमा पार्किङ लट थपिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार ल्याउनेगरि म काम गरिरहेको छु ।’

भट्टराईकाअनुसार त्रिभुवन विमानस्थलले वार्षिक ७२ लाख यात्रुलाई सेवा दिईरहेको बताए । उनले भने, ‘यो संख्या भनेको हाम्रो एयरपोर्टले अप्टिमम क्षमतामा आफ्नो सेवा दिईरहेको छ ।’
भट्टराईले वैकल्पिक विमानस्थलहरु सञ्चालनमा आएपछि काठमाडौं एयरपोर्टमा लोड कम हुने बताए । उनले भने, ‘बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्विकल्प हो । दुई दिनअघि मात्रै पनि म त्यहाँ पुगेर छलफल गरेको छु । निजगण विमानस्थल बनाउनेबारे गलत प्रचार गरियो । यस्तो गलत प्रचार गर्नु भनेको नेपालमा विकास गर्न नदिने षड्यन्त्र भैरहेको छ । यसको लागि नेपाली साथीहरु शिकार हुनुभयो । मलाई दुःख लागेको छ ।’

केरुङ–काठमाडौं–लुम्बिनी रेल ल्याउने काम हुन लागेको भट्टराईले सुनाए । उनले भने, ‘हामी प्राकृतिक सम्पदालाई नियतबश क्षति पुगाउने पक्षमा छैनौं । तर, विकल्प दिएर हामी विकास गर्छौं । एउटा रुख काट्दा २५ वटा रोप्नुपर्छ । निजगढमा कति रुख काट्नुपर्ने हो भन्ने विषयमा हामी यही महिनाभित्र तथ्यांक दिन्छौं । २५ लाख रुख काट्ने काम जिन्दगीमा कहिल्यै पनि हुँदैन् । आधीको आधी पनि काट्दैनौं । बरु, आधीको आधीको पनि आधी पनि चाहीँ काटिन्छ ।’

मन्त्री भट्टराईले जनतालाई भड्काउने काम नगर्नपनि चेतावनी दिएका छन् । उनले भने, ‘हामी कम क्षतिमा काम गर्छौं ।’ प्रधानमन्त्री केपी ओलीले पनि आफूलाई निजगढ विमानस्थलको बारेमा पटक–पटक सोध्ने गरेको सुनाउँदै भट्टराईले भने, ‘प्रधानमन्त्रीज्यूले सोध्नुभएको छ, मैले पनि अन्तरमन्त्रालय समन्वय गरेर छलफल गरिरहेको छु, लगानी बोर्डसँग पनि छलफल गरिरहेको छु । द्रुत गतिमा काम हुन्छ । वर्षमा २० लाखमात्रै होईन, एक करोड पर्यटक आउने बनाउँछौं । गौतमबुद्ध र निजगढ विमानस्थल र नेपालका ५० भन्दा बढि आन्तरिक विमानस्थलहरु हुनेछन्, अब नेपालमा पर्यटनको विकास हुन्छ ।’

भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्याउने काम गर्ने बताए । उनले भने, ‘वन मन्त्रालयसँग यसबारेमा समन्वय गरिरहेका छौं । यो महिनाभित्र जग्गाको काम सम्पन्न गरिनेछ । साईट क्लिरियन्स र सडक बनाउने काम गर्छ । विमानस्थल निर्माणको लागि ईपीपी मोडलमा जाने कुरा भएको छ, यसको लागि स्विट्जरल्याण्डको जुरिच एयरपोर्टको आशय छनौट भएको छ । यसको फाईनान्सियल स्टाटस हाम्रो लगानी बोर्डले हेर्दैछ ।’

भट्टराईले यसको लागि साईट क्लियरियन्स र बस्ती स्थानान्तरणको लागि मन्त्रालयसँग पर्याप्त बजेट रहेको पनि सुनाए । उनले अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी ओलीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार आँफैं बनाउने निर्णय पनि जीवीत रहेको बताए ।

भट्टराईले आफूहरुले काम गर्दा अरुलाई ठूला कुरा लागेको पनि सुनाए । उनले भने, ‘७५ किलोमिटरको पेट्रोलियम पाईपलाईनको काम सम्पन्न भएर सञ्चालनमा आईसकेको छ । काठमाडौं–तराई द्रुतमार्ग बन्दैछ । भेरी डाईभर्सन सम्पन्न गर्नको लागि प्रधानमन्त्रीज्यूले निर्देशन दिईसक्नुभएको छ । नेपाल अहिले झिलीमिली भएको छ, तर साथीहरु यसलाई मान्नुहुन्न । परिणाम आउनेगरि काम गर्न हिजो मात्रै प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।’

थानकोट सुरुङमार्गको पनि शिल्यान्यास भइसकेको भट्टराईले बताए । पछिल्लो समय नेपालबाट अष्ट्रेलियाको सिधा हवाई सेवा सुरु गरिएको, युएई, चीन र भारतसँग थप शहरमा हवाई सेवा विस्तार गर्न लागिएको पनि उनले सुनाए । नेपाल वायु सेवा निगम र हिमालयन एयरलाईन्सले पनि थप सेवा विस्तार गर्न लागेको भट्टराईले सुनाए ।

मन्त्री भट्टराईले काठमाडौंको एयरपोर्टमा अध्यागमन सुधार गर्ने र यसलाई अनलाईन प्रणालीमा लगिन लागेको पनि बताए । उनले भने, ‘अबको १५–२० दिनमा अध्यागमन स्मार्ट बन्छ । कतिपयले २ घण्टा उभिँदा पनि लगेज पाइएन भनेर आरोपको लागि आरोप लगाएका छन् । तर, म दाबाका साथ भन्छु काठमाडौंको एयरपोर्टमा ३० देखि ४५ मिनेटमा सबै लगेज क्लियर हुन्छ ।’

मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमको गौरवशाली इतिहास रहेको उल्लेख गर्दै पछिल्लो समय निगम कमजोर बन्दै गएको टिप्पणी गरे । उनले भने, ‘यो व्यवसाय गर्ने र नाफा कमाउने संस्था हो, यसलाई मागी खाने भाँडो बनाउनुहुँदैन् । यसले नाफा कमाउनुपर्छ । अरु एयरलाईन्स नाफामा छन् । तर, निगम मात्रै किन घाटामा छ ? म आएपछि मैले यसको व्यवस्थापन टिमलाई सुधारको योजना ल्याउन निर्देशन दिएको छु । सधैं अनुदान दिएर चल्दैन् । आफैं नाफा कमाउनुपर्छ ।’

मन्त्री भट्टराईले नेपाल वायु सेवा निगम अहिले ४० अर्बको ऋणमा रहेको र यसले वार्षिक चार अर्ब व्याज तिर्दै आएको बताए । उनले भने, ‘वार्षिक एक अर्ब त यसले जहाज ओभर ग्राउण्ड भएरले घाटा लागेको छ । मैले यी सबै कुराको अन्त्य हुनुपर्छ भनेर कडा निर्देशन दिएको छु ।’ निगमको बोर्डका सदस्यहरुलाई १० वर्षसम्म निःशुल्क हवाई टिकट दिने व्यवस्था गरिएको पाईएकोमा आफूले उक्त सुविधा हटाउनको लागि पनि निर्देशन दिएको उनले सुनाए ।

नेपाल वायु सेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा चलाउने तयारी भइरहेको पनि उनले सुनाए । भट्टराईले भने, ‘हामीलाई कार्यदलको पनि यही सुझाव छ । यसलाई ऋण प्रवाह गर्ने सञ्चय कोष र नागरिक लगानी बोर्ड बसेर सहमति भएको छ ।’

निगमलाई सुधार गर्नको लागि आफू लागिपरेको उनको भनाई छ । भट्टराईले भने, ‘दुर्गममा उडान थप्नुपर्छ । जहाँ अरु विमान कम्पनी जान चाहँदैनन् । त्यहाँ नेपाल एयरलाईन्स जानुपर्छ । अरु कम्पनीले नाफा कमाएको ठाउँमा नेपाल एयरलाईन्सले किन घाटा खाएको छ ? हामी यसको छानबिन गर्छौं ।’

Advertisement

Advertisement

Advertisement