रुग्ण उदयपुर सिमेन्टलाई नाफामा पुर्याउने सुरेन्द्र आयल निगम यसरी सुधार्दैछन्

Advertisement

काठमाडौं । स्थापना कालदेखि निरन्तर घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगलाई चार वर्षमै ४८ करोड रुपियाँ ऋण तिरेर १२ करोड नाफा नाफा गरिदिन सफल व्यक्तिको नाम हो सुरेन्द्रकुमार पौडेल । उनै पौडेल यतिबेला बद्नामी कमाएको सरकारी संस्थान नेपाल आयल निगमको प्रबन्ध निर्देशकको जिम्मेवारी लिएर निगमलाई सुधार्ने अभियानमा लागेका छन् । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल उदयपुरलाई उकासेसँगै चर्चामा आएका थिए ।

आयल निगमका कार्यकारी निर्देशक पौडेल यतिबेला यस संस्थानमाथि बिगतमा लागेका काला धब्बाहरु पखाल्ने भगिरथ प्रयत्नमा तल्लिन छन् । उदयपुरदेखि आयल निगमसम्म आईपुग्दा उनको आत्मविश्वास अझै बढेको छ । पौडेल भन्छन्, ‘स्थापना कालदेखि कुनै पनि समय नाफामा थिएन उदयपुर सिमेन्ट । तर, मैले चार वर्षे कार्यकालमा ४८ करोड घाटाको उद्योगलाई १२ करोड नाफामा पुर्याएँ । गरे सम्भव छ भन्ने लागेपछि म निगमको नेतृत्व लिन अघि बढेको हुँ, यहाँ पनि नयाँ रेकर्ड बनाउने प्रयासमा छु ।’

विसं २०४७ साल ताका तथ्यांक विभागमा सरकारी जागिर खाएका पौडेललाई त्यो जागिरले रोक्न सकेन । उनी विभाग छाडेर चार्टर्ड एकाउन्टेन्ट्सी (सीए) पढ्न भारत गए । सीए पास गरेपछि निजी फर्ममा आवद्ध भएका उनी सन् २००१ देखि ००७ सम्म तिलगंगा आँखा अस्पतालमा लेखा र प्रशासनको जिम्मेवारी सम्हाल्न पुगे । त्यसलाई पनि छाडेर पुनः फर्ममै फर्किएका पौडेलले जब उदयपुर सिमेन्टको कमाण्ड सम्हाले, तब उनको पहिचान बदलियो ।

नाफा-घाटा र सेवा
पेट्रोलियम पदार्थको कारोबारमा सरकारी स्वामित्वको आयल निगमको एकाधिकार छ । तर मोनोपोली मार्केट भनेर निगमलाई जथाभावी गर्ने छुट नभएको पौडेल बताउँछन् । निगमको नाफा घाटा सिधै सरकारसँग जोडिने भएकाले निगमले नाफा नकमाएको उनको भनाई छ । पौडेल भन्छन्, ‘हामीले नाफा गरेकै छैनौं । अलिकति पैसा जम्मा भएको छ, त्यो भनेको निगमका लागि आवश्यक थप पूर्वाधार बनाउन हो । निगमले जम्मा गरेको पैसा कर्मचारीलाई बोनस र सरकारलाई लाभांश बाँड्न होइन् । निगमका लागि थप पूर्वाधार बनाउनका लागि खर्च गर्ने हो । त्यसलाई नाफा भन्न मिल्दैन ।’ आवश्यक पूर्वाधार निर्माणका लागि निगमले आफ्नो कुल व्यापारको २ देखि ३ प्रतिशतको झिनो मार्जिन राखेको उनी बताउँछन् ।

निगमको आइपीओ कहिले ?
नेपाल आयल निगम साधारण सेयर (आइपीओ) निष्काशन गर्ने योजना छ । उनी आफ्नो बाँकी २ वर्षे कार्यकालमा आईपीओ जारी गर्ने महत्वपूर्ण प्रक्रिया बढाईसक्ने बताउँछन् । ‘आइपीओ जारी गर्नुअघि एनएफआरएस लागू गर्नेदेखि सम्पति दायित्व मूल्यांकन पनि गर्नुपर्छ । ट्यांकीबाट तेल ल्याउने नभएर ट्यांकरलाई ट्यांकीबाट खन्याएर तेल दिने अवस्थासम्म पुर्याएर आईपीओको प्रक्रिया अघि बढाउँछौं’, पौडेलले योजना सुनाए ।



निगम कस्ले सुधार्ने ?
पौडेलका अनुसार मान्छे भनेको जोखिम बोक्ने प्राणी हो । उनी आफूलाई सधै जोखिम उठाउन तयार हुने व्यक्ति ठान्छन् । पौडेल भन्छन्, ‘जोखिम नउठाउँदासम्म सफलता पाइन्न, नियम, कानुन बनाएर विधिसम्वत ढंगले काम गर्दै जाँदा समस्या आउँदैन ।’

एउटा हिन्दी गीतको श्लोक ‘लोक तो कुछ कहेंगे, लोगका तो काम ही कुछ केहेना’ सुनाउँदै पौडेलले अरुले के भन्छ ? भन्दा पनि आफूले गर्नुपर्ने कम छोड्न नहुने बताउँछन् । उनी थप्छन्, ‘आयल निगम भन्ने वित्तिकै खराब संस्था र त्यहाँ काम गर्ने सबै खराबै हुन्छन् भन्ने मान्छेहरुको बुझाई पनि हुनसक्छ । हामी काम गर्ने मान्छेहरुले त्यस्तो बुझाईको पछि लाग्ने होइन, त्यसलाई बदल्न आफूले राम्रो काम गर्ने हो । नियम पुर्याएर संस्था र देशको हितमा काम गर्ने हो, त्यतिबेला कोही कसैले गाली नै गरेछन्, कुरै काटेछन् भने पनि केही हुन्न ।’

निगम सुधारका लागि कसै न कसैले जोखिम त उठाउनै पर्ने थियो भन्दै पौडेलले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिलिटर ६ रुपियाँसम्मले वृद्धि हुँदा पनि आफूले नेपालमा त्यसको अनुभूति गर्न नदिएको बताउँछन् ।

बुलेट काण्डबारे
जो सुकैले व्यवसाय गर्नुभन्दा पहिले प्राविधिक र आर्थिकरुपले अध्ययन गर्नुपर्ने पौडेल बताउँछन् । उनी भन्छन् ‘जसले बुलेटमा लगानी गर्नु भएको छ, उहाँहरुले के के अध्ययन गर्नु भयो ? कागज मागेर हेर्नुपर्छ । व्यवसाय गर्नुअघि व्यवसायले कहाँ पुर्याउँछ ? भन्ने नसोची हावाका तालमा लगानी गरेपछि यस्तै हुन्छ ।’ बुलेटमा लगानी गरेर फसेको सम्वन्धित् व्यवसायीले गुनासो गर्दै आएका छन् । सरकारले बुलेटमा किन्न दिनेबारे नीतिगत निर्णय गरे पनि कसैलाई ‘बुलेट किन्नुस्’ भनेर अनुमति नदिएको पौडेलले सुनाए । ‘व्यवसाय टुंगोमा पुग्छ की पुग्दैन ? भनेर त व्यवसायीले नै ख्याल गर्ने हो । बुलेट खरिद प्रक्रियामा निगमले कुनै गडबडी गरेको छ भने मुद्दा हाले हुन्छ’, उनले भने ।

यद्यपी स्वदेशी लगानीकर्ताको लगानी नडुबोस् भन्ने आशयले बुलेट प्रकरणबारे भारतसँग उच्चस्तरमा छलफल पनि अघि बढिरहेको पौडेलले जानकारी दिए । त्यसबाहेक झापा र सर्लाहीमा एलपीजीको स्टोरेज बनिरहेकाले त्यहाँबाट आन्तरिक बजारका लागि ग्यास ढुवानी गर्न ती बुलेटहरु उपयोग हुने उनले विकल्प सुनाए । पौडेल भन्छन्, ‘झापा र सर्लाहीको ग्यास डिपोबाट नेपाली बुलेटहरुले नै ढुवानी गर्ने हुन, केही निजी बुलेट हुनेछन् केही निगम आफैले ल्याउने छ ।’



भण्डारण गृह निर्माणबारे
नेपाल आयल निगमसँग ७० हजार टनको स्टोर क्षमता छ । यही आर्थिक वर्षमा थप ३५ हजार टन क्षमताको भण्डारण गृह निर्माणसम्बन्धी ठेक्का सम्झौता गर्ने तयारी भइरहेको छ । पोखरामा १० हजार टन क्षमताको डिजेल, अमलेखगञ्जमा १२ हजार टन क्षमताको डिजेल र पेट्रोल र भैरहवा विमानस्थलमा १० हजार टन क्षमताको हवाई इन्धन तथा पोखरामै तीन हजार टनको हवाई इन्धन भण्डारण गृह निर्माणको काम अघि बढेको छ ।

चिनियाँ इन्धनको सपनाः घाटाको व्यापार
नेपाल आयल निगम सेवामूलकसँगसँगै नाफाको व्यवसाय गर्ने संस्था पनि हो । निगमले गर्ने लगानी नाफा र नोक्सानकै आधारमा हुन्छ । हिजो निगम नोक्सानमा हुँदा यसलाई निजीकरण गर्नुपर्छ भन्न थालिएको थियो । पौडेलले थपे, ‘चीनबाट इन्धन ल्याउने भनेको नोक्सानको व्यवसाय हो । यसमा हामीलाई सरकारले फरक ढंगले हेरिदिनुपर्छ । सरकारले पाइपलाइनबाट इन्धन ल्याउने वा ट्यांकरबाट ल्याउने ? नाफा घाटा के हुने ? भन्नेबारे यकिन गरिदिने हो भने हामी अघि बढ्न तयार छौं ।’

गो ग्रीन र पाइपलाइन विस्तारबारे
मान्छे भोलि मर्छ भन्ने थाहा पाउँदा पाउँदै पनि आज किन संघर्ष गर्छ ? मरिन्छ भनेर घरमा सुत्ने हो त ? त्यसो होइन । आजका लागि जे महत्वपूर्ण छ त्यही गर्नुपर्ने पौडेलको दृष्टिकोण छ । बिजुली आउँछ भनेर आजै ग्यास ल्याउन छाडियो भने जनताको घरमा भात नपाक्ने उनी बताउँछन् । त्यसकारण निगमले आजको व्यवसायीक सम्भाव्यताका आधारमा व्यापार गर्नुपर्ने पौडेल बताउँछन् । उनका अनुसार विद्युतीय सवारी साधनका नाममा आज भइरहेको हल्ला भनेको ‘नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले’ जस्तो हो ।



सन् २०४० सम्म निगमलाई ढुक्क
सन् २०३० सम्म नेपाल आयल निगमको व्यवसायको विस्तारमा कुनै रोकावट नआउने कार्यकारी निर्देशक पौडेल बताउँछन् । सो अवधीसम्म डिजेल ७ र पेट्रोलको ५ प्रतिशतले बजार बढिरहने उनले दावी छ । त्यसपछि पेट्रोलको वृद्धिदर स्थिर रहने र डिजेलको वृद्धिदर भने अझै जारी रहने पौडेलको विश्लेषण छ । उनी भन्छन्, ‘सन २०४० सम्मका लागि हाम्रो बिजनेश सुरक्षित छ । अहिले भन्ने गरिएको विद्युतीय सवारी साधनले शहर भित्रको यातायातलाई मात्रै धान्छ । बिराटनगरबाट काठमाडौं, धनगढीबाट काठमाडौं विद्युतीय बसमा आउन सकिन्न । डिजेलका बस, ट्रक र अन्य ढुवानीका साधन विस्थापित हुँदैनन् ।’

ढुवानी व्यवसाय
निगमले डिजेल र पेट्रोलको ढुवानी भाडा मात्रै बार्षिक १५ अर्ब रुपियाँ व्यहोर्छ । साढे चार अर्ब खर्चेर ग्यासको ढुवानी गर्छ । पाइपलाइनमा जम्मा ३० अर्ब खर्च गरियो भने पाँच सात बर्षमा लगानी उठिसक्ने र त्यसपछि निरन्तर नाफा हुने पौडेल बताउँछन् ।

रिफाइनरीमा ध्यान छैन
आयल निगमले ५ देखि ७ वर्षमा लगानी उठिसक्ने परियोजनामा मात्रै लगानी गरिरहेको छ । तेल र ग्यासको पाइपलाइनमा गरिएको लगानीले त्यसैगरि प्रतिफल दिने पौडेल बताउँछन् । तर, इन्धनको कच्चा पदार्थ ल्याएर नेपालमै प्रशोधन गर्ने रिफाइनरी उद्योगमा खर्बौ लगानी गर्नुपर्छ । त्यो लगानी उठाउन पनि धेरै समय लाग्छ । त्यसकारण निगमले यतिबेला रिफाइनरीमा लगानी गर्ने कुनै योजना नबनाएको उनी बताउँछन् । पौडेल भन्छन्, ‘रिफाइनरीमा लगानी गर्ने योजना छैन्, त्यो धेरै ढिला भइसकेको छ ।’

निगमको क्षमता
केही दिन तेल आउँदैन भन्ने हल्ला चल्यो भने उपभोक्ता ग्यालिन बोकेर पम्पमा धाउँछन् । सबै उपभोक्ताले ग्यासका सिलिण्डर स्टक राख्छन् । तर सामान्य अवस्थालाई हेर्ने हो भने १० दिनको माग धान्न सक्ने क्षमता निगमसँग रहेको छ । निगमले अघि बढाएको क्षमता विस्तार अभियान सफल हुँदा थप ४ दिनको माग धान्ने क्षमता बढ्ने पौडेलले जानकारी दिए ।

यो वर्ष निगमले डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यास गरि ३० लाख किलो लिटर इन्धन आयात गर्ने योजना बनाएको छ । त्यसमा लागि भ्याटसहित दुई खर्ब ४० अर्बको कारोबार हुने उनी बताउँछन् ।



जनशक्ति र पूर्वाधार
निगममा हाल पाँच सय जना कर्मचारी कार्यरत छन् । देशभर १४ वटा कार्यालय छन् । निगमले प्रविधिको उपयोगलाई बढी ध्यान दिन थालेको उनी बताउँछन् । पोखरा र भैरहवा विमानस्थल यही कर्मचारीले धान्ने र निजगढ बनाउँदा केही कर्मचारी थप्ने पौडेलको योजना छ ।

भैरहवामा निगमकै पम्प
भैरहवामा निगमले आफ्नो पहिलो पम्प सञ्चालन गरिसकेको छ । त्यहाँको ३० प्रतिशत बजार निगमले ओगटिसकेको कार्यकारी निर्देशक पौडेल बताउँछन् । निगमले अब नेपालगञ्जमा तत्कालै अर्को पम्प खोल्ने तयारी पनि अन्तिम चरणमा पुर्याइसकेको छ ।

परिवर्तन कसरी ?
पौडेलले उदयपुर सिमेन्टमा मेसिन मर्मत र कर्मचारीलाई मोटिभेट गरेर सफलता हासिल गरे । कम्पनीले आठ सय टन क्षमतामा कुनै दिन उत्पादन गरेको रहेनछ । उनले पूराना मेसिन बनाएँ, कर्मचारीको मनोबल उकासेँ । अनि दैनिक ९३० टनसम्म उत्पादन गरे । पौडेल तल्लो तहका कर्मचारीबाट सूचना लिएर सुधारको योजना बनाउँछन् । उनी भन्छन्, ‘हिजो सार्वजनिक संस्थान किन फेल भए ? भन्ने अध्ययन गरिएको छैन । त्यस्तो अध्ययन नगरि संस्थान चलाउँदा आज सार्वजनिक संस्थानहरुमा अपेक्षाकृत सुधार भइरहेको छैन । म चाँही तल्लो तहका कर्मचारीबाट सूचना लिएर सुधारको योजना बनाउँछु ।’

मानिसको जीवन, परिवार, समाज अस्थायी भएपछि जागिर चाहीं स्थायी कसरी हुनसक्छ ? भन्ने पौडेलको तर्क छ । उनी भन्छन्, ‘स्थायी जागिरले भष्मासुर जन्माउँछ । अहिलेको संसार भनेको आउटसोर्सिङको हो । त्यसकारण पनि संस्थानहरुले राम्रो प्रगति गर्न सकेनन् ।’

Advertisement

Advertisement

Advertisement