आयल निगमले ग्यास बोटलिङ तथा रिफिलिङ प्लान्ट निर्माण गर्ने, ब्राण्ड 'एनओसी'

Advertisement

काठमाडौं । नेपाल आयल निगमले आगामी असारदेखि ग्यास बोटलिङ तथा रिफिलिङ प्लान्ट निर्माण सुरु गर्ने भएको छ। निगम पुस २६ गते ५०औं वर्षमा प्रवेश गर्दै छ। निगमले सोही दिन ग्यासको ब्रान्डिङ लोगोसमेत सार्वजनिक गर्ने कार्यक्रम छ। निगमले एनओसी ब्रान्डमा खाना पकाउने आफ्नै ग्यास उत्पादन गर्न लागेको हो।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले झापा र जनकपुरमा ग्यासको बोटलिङ तथा रिफिलिङ प्लान्ट र भण्डार गृहको निर्माण असारदेखि सुरु गर्न लागिएको जानकारी दिए। ग्यास बोटलिङ तथा रिफिलिङ प्लान्ट र भण्डार गृहको निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को प्रक्रिया निगमले सुरु गरिसकेको छ।

ती दुवै भौतिक पूर्वाधारको काम असारदेखि सुरु गरेर सोही वर्षदेखि नै उत्पादनको काम थाल्ने प्रबन्ध निर्देशक पौडेलले बताए। निगमका नायव प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार खुला अर्थतन्त्रमा निगम पनि बजारमा ग्यासको सिलिन्डर उत्पादन गरी प्रतिस्र्पधा गर्ने तयारी गरेको छ।

उत्पादन, मार्केटिङ र बजारीकरण गर्ने योजनाअन्तर्गत निगमले झापा र जनकपुरमा ग्यासको बोटलिङ प्लान्ट, ग्यास भण्डार गृह र निजी क्षेत्रलाई ग्यास बिक्री गर्न बुलेटको लोड अनलोड गर्ने टर्मिनल सुविधासमेत उपलब्ध गराउन लागेको छ। ‘खुला अर्थतन्त्रको नीतिअनुसार जो पनि व्यापार गरी प्रतिस्र्पधा गर्न सक्छ’, भट्टराईले भने, ‘खाना पकाउने ग्यासको उत्पादन, ब्रान्डिङ र बजारीकरणमा सरकारी स्वामित्वको एनओसी ब्रान्डमा हामी पनि सिलिन्डर लिएर छिट्टै उपस्थित हुँदै छौं।’

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement