८६.३६ अंकले घटेको बजार किन बढ्यो ७३.७८ अंकले ?

Advertisement

काठमाडौं । पुँजी बजारमा अस्वभाविक उतार चढाव देखिन थालेको छ । मंगलबार दुई पटक नेगेटिभ सर्किट लागेर ८६.३८ अंक अर्थात ६.०२ प्रतिशतले घट्दै बिचमै कारोबार बन्द भएको थियो ।

तर बुधबार फेरी बजार ७३.७८ अंक अर्थात ५.४७ प्रतिशतले बढेको छ । मंगलबार एक अर्ब ७ करोड मूल्य बराबरको सेयर किनबेच भएको थियो । तर बुधबार भने २ अर्ब २२ करोड मूल्य बराबरको सेयर किनेबेच भयो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सिइओ चन्द्र सिंह साउँदले कोरोनाको त्रासले मंगलबार बजार घटेको र बुधबार फेरी कोरानोको त्रासमा विश्वास हटेपछि बजार बढेको बताए । साउँदले अनलाइन कारोबार प्रणालीका कारण पनि बजारमा छिटो छिटो उतारचढाव आईरहेको बताए ।
यो हप्ता औषतले ४५ प्रतिशत सेयर किनबेच अनलाइन प्रणालीबाट भैरहेको पनि उनले बताए ।

‘घरमै बसेर सेयर किन्न बेच्न सजिलो भएको छ । किन्न र बेच्न अब समय लाग्दैन, लगानीकर्ताले किन्न बेच्न चाहने वित्तिकै त्यो सम्भव भएको छ, यसले उतार चढावमा भूमिका खेल्छ’, नेप्सेका सिइओ साउँदले भने । उनले मंगलबार दुई पटक नेगेटिभ सर्किट ब्रेक लाग्नुपर्ने अवस्था नरहेको र बुधबार फेरी यसरी बजार बढ्नुले आफुलाई पनि अचम्ममा पारेको पनि बताए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले प्रश्न गर्दै भने–‘हिजो किन घट्यो ? आज किन बढ्यो ? हिजो सेयर बेच्नेले आज सेयर महंगोमा किने । यसको अर्थ हाम्रो बजार अझै पनि अपरिपक्क छ भन्ने नै हो ।’

उनले मंगलबार दोहारो सर्किट ब्रेक लाग्नुपर्ने र बुधबार फेरी भारी मात्रामा उकालो लाग्नुपर्ने कुनै कारण नदेखिएकाले बजारमा मनोविज्ञानले मात्रै काम गरिरहेको पनि बताए ।

‘बजार घट्दा बेच्ने बढ्दा किन्ने चलन अझै हटेन् । हल्लाका भरमा सेयर बजार चलिरहेको छ । यो अपरिपक्क सोँच नहटेसम्म सेयर बजारको दिगो विकास हुन्न ।’, रौनियारले भने । नियामकहरुले पनि बजारको विश्वसनियता बढाउन भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । नियामकले पनि लगानीकर्ता निरुत्साहित हुँदा आफ्नो धारणा राख्नुपर्ने उनको भनाई छ ।

सेयर लगानीकर्ता सघंका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले पनि बजारमा अनावश्यक उतारचढाव देखिएको बताए । ‘हिजो बजार बिना कारण घट्यो, आज बढेको छ, यसमा अर्थतन्त्रका बाह्य र भित्री सूचक र कम्पनीहरुको वासलातको कुनै भूमिका छैन’, फुल्लेलले भने ।
स्टक ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले पनि भरत रानाभाटले सेयर बजारमा कोरोनाको त्रासले काम गरेको बताए । ‘हिजो कोरोना भनेर हल्ला भयो, आज कोरोनाले अनावश्यक घट्योकी भन्ने सोचेर फेरी लगानीकर्ता झुम्मिए । अनि बजार बढ्यो ।’, अध्यक्ष रानाभाटले भने ।

उनले अनलाइन कारोबार प्रणालीका कारण सेयर बजार बढ्ने र घट्ने क्रम छिटो छिटो सम्भव भएको पनि बताए । ‘अनलाइनले खरिद बिक्रिलाई सहज बनाईदिएको छ, अनलाइन कारोबारले उचारचढाव बढायो ।’, रानाभाटले भने ।

Advertisement

Advertisement

Advertisement